• २६ फागुन २०८१, सोमबार

जमाना जेन बिटाको

blog

लस्ट जेनेरेसन, दी ग्रेट जेनेरेसन, दी साइलेन्ट जेनेरेसन, बेबी बुमर्स, जेनेरेसन एक्स, मिलेनियल्स, जेनेरेसन जी, जेनेरेसन अल्फा, बिटा जेनेरेसन जस्ता शब्दावली अहिले चलनचल्तीमा रहेका छन् । 

झट्ट सुन्दा यी शब्दावली प्राविधिक र ‘कोड’ भाषा जस्तो लाग्छन् । पछिल्लो समय मानव समाजलाई समय, प्रविधि र सांस्कृतिक प्रभावका आधारमा विभाजित गरी विभिन्न पुस्ताको नामकरण गरिएको छ । यी पुस्ताले आफ्नो जन्मकाल, सामाजिक वातावरण र विशेष गरी प्रविधिको प्रभावका आधारमा पहिचान पाएका छन् । प्रत्येक पुस्ता आफ्नो समयका प्रविधि, सामाजिक रूपान्तरण र आर्थिक स्थितिबाट प्रभावित हुँदै अघि बढेको देखिन्छ । यी पुस्ता आगामी दिनमा प्रविधिप्रति अझै धेरै निर्भर हुने छन् । यिनीहरूलाई नयाँ चुनौती समाधान गर्ने जिम्मेवारी पनि थपिने छ ।

सन् १८८३ देखि १९०० सम्मको मानव पुस्तालाई ‘लस्ट जनेरेसन’ भनिन्छ । यो पुस्ताले प्रथम विश्वयुद्ध र रोअरिङ ट्वेन्टिजको समयमा युवावस्थामा प्रवेश गरेको थियो । यस्तै सन् १९०१ देखि १९२७ सम्म जन्मिएका पुस्तालाई ‘दी ग्रेट जेनेरेसन’ भनिन्छ । पहिलो विश्वयुद्ध, महामन्दी र दोस्रो विश्वयुद्धको साक्षी बनेको यो पुस्ताले प्रविधिका हिसाबले टेलिफोन, टेलिग्राम, छापा सञ्चार माध्यमका साथै नयाँ प्रविधिमा रेडियो उपभोग गर्न पायो । यो पुस्ता अन्य पुस्ताको तुलनामा निकै परिश्रमी र अनुशासित थियो । 

सन् १९२८ देखि १९४५ सम्म जन्मिएको पुस्ता ‘साइलेन्ट जेनेरेसन’ हुन् । दोस्रो विश्वयुद्धको सामना गरेको यो पुस्ताले युद्धपछि स्थिरतामा ध्यान दियो । सन् १९३९ मा सुरु भएर १९४५ मा द्वितीय विश्वयुद्ध समाप्त भयो । यस कालखण्डमा उपलब्ध नयाँ प्रविधि पनि द्वितीय विश्वयुद्धका कारण ध्वस्त भए । द्वितीय विश्वयुद्ध रोकिएपछि विश्वको समग्र क्षेत्रमा नयाँ तौरतरिका सुरु भयो । प्रविधिको विकासबाट हेर्ने हो भने यस समयमा रेडियो, टेलिभिजन, टेलिफोन र टेलिग्राम उपलब्ध थिए । यो पुस्ता परम्परागत मूल्य मान्यता, स्थिरता र बचतप्रति  समर्पित पुस्ता मानिन्छ ।

सन् १९४६ देखि १९६४ सम्म जन्मिएको पुस्तालाई ‘बेबी बुमर्स’ भनिन्छ । दोस्रो विश्वयुद्धपछि उच्च मानव जन्मदर भएकाले यो नाम दिइएको हो । यो पुस्ताले सामाजिक परिवर्तन र आर्थिक वृद्धिको समय देखे । साथै यस पुस्तालाई आर्थिक समृद्धि, सामाजिक आन्दोलन र उपभोगतावादी जीवनशैली भएको मानिन्छ । 

सन् १९६५ देखि १९८० सम्म जन्मिएका पुस्ता ‘जेनेरेसन एक्स’ हुन् । यिनीहरू विशेष गरी नयाँ प्रविधिको प्रारम्भिक प्रयोगकर्ताका रूपमा चिनिन्छन् । विशेष गरी पर्सनल कम्प्युटर र इन्टरनेटको सुरुवात र टिभीको वर्चस्वका बेला यिनीहरूको जन्म भएको थियो । सामाजिक परिवर्तन, आर्थिक वृद्धि, स्वतन्त्रता, उद्यमशीलता र कार्य–जीवन सन्तुलनमा विश्वास गर्ने पुस्ताका रूपमा यो चिनिन्छ । 

सन् १९८१ देखि १९९६ सम्म जन्मिएका पुस्तालाई ‘मिलेनियल्स’ भनिन्छ । सन् २००० लाई मिलेनियम अर्थात् सहस्राब्दी भनिएकाले त्यसैको नजिक जन्मिएका यी पुस्तालाई मिलेनियल्स भनिएको हो । यो पुस्ताले डिजिटल युगको सुरुवात देखेको, सोसल मिडिया, स्मार्टफोन र अनलाइन प्लेटफर्मको उपलब्धता देखेको छ । साथै यो पुस्ताले प्रविधिप्रति झुकाव राख्नुका साथै पर्यावरण र सामाजिक न्याय जस्ता मुद्दामा चासो लिन्छ ।  

सन् १९९७ देखि २०१२ सम्मको समयको पुस्तालाई ‘जेनेरेसन जी अर्थात् जेन जी’ भनिन्छ । सूचना प्रविधि र सामाजिक सञ्जालसँगै हुर्किएको यो पुस्ताले जन्मेदेखि इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जालको पहुँच पाएको छ । यो पुस्ताले व्यक्तिगत अभिव्यक्तिलाई प्राथमिकता दिनुका साथै विविधतामा विश्वास गर्छ ।

 सन् २०१३ देखि २०२४ सम्म जन्मिनेहरू ‘जेनेरेसन अल्फा अर्थात् जेन–अल्फा’ मा पर्छन् । यिनले प्रविधिको प्रयोगमा निकै दखल राख्छन् । स्मार्टफोन र सामाजिक सञ्जाल उनीहरूको दैनिक जीवनको हिस्साका रूपमा रहेको छ । यो पनि इन्टरनेट, सामाजिक सञ्जाल र मोबाइल प्रविधिसँगै हुर्किएको पुस्ता हो । सन् २०२५ जनवरी १ देखि सन् २०३९ को अन्तिमसम्म जन्मिने नयाँ पुस्ताको नाम ‘बिटा जेनेरेसन’ अर्थात् ‘जेन–बिटा’ मानिएको छ । 

सामाजिक अध्येता तथा जनसाङ्ख्यिक विश्लेषक मार्क म्याक्रिन्डलले यो पुस्तालाई जेन–बिटा नाम दिएका हुन् । 

जेन–अल्फा पुस्ता पूर्ण रूपमा डिजिटल युगमा जन्मेको हो । यो पुस्ताले स्मार्ट प्रविधि र एआईको उदय भएको देख्न पाएको छ । स्मार्टफोन, ट्याब्लेट र इन्टरनेट उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनेको छ । यो पुस्ताका बालबालिकाले प्रविधि चाँडै अपनाउने र नयाँ उपकरण तथा छिट्टै सिक्ने क्षमता राख्छन् । यिनीहरूलाई प्राथमिक शिक्षादेखि नै डिजिटल प्लेटफर्म, भर्चुअल कक्षा र एआई उपकरणको पहुँच छ । साथै यो पुस्ता जलवायु परिवर्तन र वातावरणीय मुद्दाप्रति सजग रहेको अपेक्षा गरिन्छ । 

इन्टरनेटको कारणले यो पुस्ता संसारभरका संस्कृतिसँग सजिलै जोडिन्छ । जसले गर्दा उनीहरू वैश्विक नागरिकका रूपमा विकसित हुन्छन् ।

यो पुस्ताका चुनौती पनि छन् । यस पुस्ताका बालबालिकामा अत्यधिक प्रविधिको प्रयोगले शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ । साथै डिजिटल सम्बन्धले वास्तविक सामाजिक अन्तर्क्रियालाई प्रतिस्थापन गर्न सक्ने सम्भावना देखिन्छ । जेन–अल्फाले भविष्यको समाज र अर्थतन्त्रमा कस्तो भूमिका खेल्ने छ भन्ने कुरा आगामी वर्षमा अझ प्रस्ट हुने छ ।

यस्तै ‘बिटा जेनेरेसन अर्थात् जेन–बिटा’ को प्रमुख विशेषता भनेको यो भविष्यका प्रविधि, कृत्रिम बौद्धिकता र सामाजिक परिवर्तनको आधारमा निर्भर हुने छ । यो पुस्ता कृत्रिम बौद्धिकतासँग सहअस्तित्व कायम गर्दै स्वचालित प्रणालीको थप विकसित संसारमा हुर्कने छ । यस अवधिमा मेटाभर्स र भर्चुअल संसारमा सामाजिक अन्तर्क्रिया, शिक्षा र व्यवसायका नयाँ आयाम विकसित हुने छन् । 

जलवायु परिवर्तनको समाधान खोज्न र वातावरणसँग मैत्री जीवनशैली अपनाउन अझ गहिरो ध्यान दिन सक्ने पुस्ताका रूपमा जेन–बिटा हुन सक्छ । वैश्विक समुदाय निर्माणको परिकल्पना अन्तर्गत भौतिक सीमा झन् कमजोर हुने सम्भावना छ । यसले गर्दा जेन–बिटाले अझ बढी अन्तर्राष्ट्रिय र बहुसांस्कृतिक दृष्टिकोण राख्न सक्छ । 

यसअघिका पुस्ता लस्ट जेनेरेसन, दी ग्रेट जेनेरेसन, दी साइलेन्ट जेनेरेसन, बेबी बुमर्स, जेनेरेसन एक्स, मिलेनियल्स, जेनेरेसन जी, जेनेरेसन अल्फा हुँदै जेन–अल्फाको विकासक्रम जेन–बिटाको सुरुवातसँगै रोकिएको छ । 

–युवामञ्च      

Author
अजय शर्मा

उहाँ गोरखापत्रको उपसम्पादक हुनुहुन्छ  ।