नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट पठाइएको भनिएका यस्ता इमेल धोकापूर्ण (होक्स) इमेल भएकाले यस प्रकृतिका इमेलको विश्वासमा नपर्न तथा कुनै प्रतिक्रिया नदिन प्रहरीले सचेतसमेत गराउँदै आएको छ ।
सूचना प्रविधिको विकाससँगै साइबर अपराधका घटना तीव्र भएका छन् । यसको एक स्वरूप अर्थात् अनलाइन ठगीको नयाँ रूप ‘डिजिटल अरेस्ट’ नेपालमा देखिन थालेको छ । यस्ता ठगीकर्ताले ‘डिजिटल अरेस्ट’ को नाममा लाखौँ रुपियाँ ठगी गरिरहेका छन् ।
भारतमा केही समययता मौलाएको अनलाइन ठगी ‘डिजिटल अरेस्ट’ नेपालमा पनि फाट्टफुट्ट देखिएको छ । प्रहरीका उच्च अधिकारीको नाम दुरुपयोग गर्दै सर्वसाधारणलाई धम्क्याई फोन गर्ने, इमेल पठाउने, म्यासेजलगायतका आपराधिक कार्य गर्ने गिरोह नेपालमा समेत भेटिको छ ।
यस्तै,ybercrimepolice.gov7@w8rlygyhi.hier-im-netz.de,cybercrimepolice.gov41@w8rlygyhi.hier-im-netz.de,cybercrimepolice.gov33@w8rlygyhi.hier-imnetz.de लगायतका विभिन्न इमेल ठेगानाबाट चेतावनीयुक्त इमेलहरू प्राप्त भएको भनी जनगुनासो प्राप्त हुन आएको हुँदा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । नेपाल प्रहरीका अनुसार यस्ता इमेल पूर्ण रूपमा ठगीका लागि बनाइएका हुन्छन् । यस कारण शङ्कास्पद इमेल आएमा कसैलाई पनि विश्वास नगर्न र कुनै प्रतिक्रिया नदिन प्रहरीले सुझाव दिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट पठाइएको भनिएका यस्ता इमेल धोकापूर्ण (होक्स) इमेल भएकाले यस प्रकृतिका इमेलको विश्वासमा नपर्न तथा कुनै प्रतिक्रिया नदिन प्रहरीले सचेतसमेत गराउँदै आएको छ ।
भारतमा यस्तो घटना व्यापक बनेपछि सन् २०२४ अक्टोबरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘मन कि बात’ कार्यक्रमबाट ‘डिजिटल अरेस्ट’ नाममा अनलाइन ठगीबारे भारतीयलाई सचेत गराएका थिए । उनले भनेका थिए, “भारतीय कानुनमा ‘डिजिटल अरेस्ट’ भन्ने कुरा प्रावधान छैन । कुनै पनि सरकारी निकायले फोन वा भिडियो कलमार्फत व्यक्तिगत जानकारी माग्दैन ।”
‘डिजिटल अरेस्ट’ के हो ?
‘डिजिटल अरेस्ट’ पूर्ण रूपमा अनलाइन ठगीको नयाँ स्वरूप हो । ठगले आफूलाई प्रहरी अधिकारी, अनुसन्धान अधिकृत वा सरकारी निकायका प्रतिनिधि भनेर चिनाउँछन् । उनीहरू निशानामा परेका व्यक्तिको विस्तृत जानकारी सङ्कलन गरी सम्बन्धित विषयमा विश्वसनीय देखिने गरी कुरा गर्छन् । उनीहरूले म्यासेन्जर, ह्वाट्सएप वा स्काइप जस्ता प्लेटफर्ममार्फत भिडियो कल गरेर वास्तविक सरकारी अधिकारी जस्तै देखिने प्रयाससमेत गरेर झुक्याउँछन् ।
यी ठगले विभिन्न बहाना बनाएर पीडितलाई डर देखाउने प्रयास गर्छन् । उनीहरूले निशानामा परेका व्यक्तिलाई ‘डिजिटल अरेस्ट’ मा परेकोमा विश्वस्त पार्न अनेक तरिका अपनाउँछन् । यस्ता ठगले सामाजिक सञ्जाल दुरुपयोग, फोन नम्बर दुरुपयोग, नक्कली कागजात बनाउने, अश्लील वेबसाइट हेरेको, लागुऔषधमा संलग्न भएको जस्ता आरोप लगाउन सक्छन् ।
यी ठग आफूलाई साँच्चिकै सरकारी अधिकारीका रूपमा प्रस्तुत गर्छन् । निशानामा परेका व्यक्तिले आफूलाई लगाएको आरोप होइन भन्नै नसक्ने गरी कुराकानी गर्छन् । यदि उनीहरूले भनेको जस्तो गर्न पीडितले मानेन भने अदालत, पुलिस, प्रहरी चौकी, न्यायाधीश सबै भर्चुअल रूपमा खडा गरी पीडितलाई साँच्चै आफू आधिकारिक निकायको ‘डिजिटल अरेस्ट’ मा परेको सोच्न बाध्य पारिन्छ ।
यस्तो अवस्थामा पीडितले आफू ठगिँदै छु भन्ने सुइँको समेत पाउँदैन । यस प्रकारको ठगीमा साक्षर होस् वा निरक्षर व्यक्ति होस् उनीहरू अनलाइनबाटै ‘डिजिटल अरेस्ट’ हुन थालेछ भन्ने विश्वासमा परेर अह्रायबमोजिम सबै काम गर्न थाल्छन् । ठगहरूले पीडितलाई भावनात्मक र मानसिक रूपमा दबाब र तनाव दिएर तयार पार्छन् । यति गरिसकेपछि ठगले पीडितको मोबाइल, इमेल, मोबाइल बैङ्किङ तथा अनलाइन बैङ्किङलगायतमा पहुँच पुर्याएर पीडितको सबै अनलाइन अकाउन्ट आफ्नो कब्जामा पार्छन् । त्यसपछि उनीहरूले सबै रकम विभिन्न खातामा ट्रान्सफर गर्छन् ।
नेपाल प्रहरीका अनुसार नेपालमा पछिल्लो समय विभिन्न इमेल ठेगानाबाट चेतावनीयुक्त इमेल आउने गरेको गुनासो बढेको छ । नेपालमा यस्तो ठगीको ठूलो घटना भएको छैन तर पनि यस्ता घटना फाट्टफुट्ट देखिन थालेका छन् । उदाहरणका लागि गत माघ २२ गते नेपाल प्रहरीले ‘डिजिटल अरेस्ट’ को धन्धा चलाउन खोजेको आरोपमा दुई जनालाई पक्राउ गरेको थियो ।
त्यसरी पक्राउ पर्नेहरू थिए, सुनसरीका मनिषकुमार मेहता र इन्द्रजित यादव । प्रहरी उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गरी नक्कली इमेल बनाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरू पक्राउ परेका थिए ।
उनीहरू प्रहरीको नाममा ‘डिजिटल अरेस्ट’ को डर देखाएर मानिसहरूबाट रकम असुल्ने कार्यमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसैगरी विभिन्न डिजिटल वालेटको आधिकारिक कर्मचारी भएको दाबी गर्दै ठगी मुद्दामा फरार रहेका एक व्यक्तिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको माधवनारायण गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने २१ वर्षीय शुभम साह रहेका छन् ।
कसरी जोगिने ?
अनलाइन माध्यम प्रयोग गरी ठगी गर्नेहरूले अनलाइन प्लेटफर्म आफू अनुकूल प्रयोग गर्ने गरेका छन् । तपाईंले यस्ता कल, म्यासेज वा इमेल पाउनु भयो भने तत्काल सम्बन्धित निकायबाट आएको हो वा होइन त्यसको आधिकारिता पत्ता लगाउने कोसिस गर्नु पर्छ । नचिनेको नम्बरबाट आएका फोनकल तुरुन्तै उठाउनु हुँदैन । शङ्कास्पद कल, इमेल वा सन्देशलाई सकभर बेवास्ता गर्नु पर्छ ।
झुक्किएर फोनकल उठाइहालेमा अपरिचितसँग लामो कुराकानी गर्नु हुँदैन । जति धेरै समय कुराकानी गर्नुहुन्छ ठगले तपाईंलाई आफ्नो जालमा सजिलै फसाउने सम्भावना बढ्छ । ठग सम्पर्क आएमा उनीहरूको धम्कीबाट डराउनु हुँदैन र हतार कुनै निर्णय लिनबाट बच्नु पर्छ । बरु चलाखी देखाएर उनीहरूविरुद्ध प्रमाण जम्मा गर्नु पर्छ ।
सबैले बुझ्नुपर्ने कुरा के छ भने विश्वमा कुनै पनि देशको कानुनमा ‘डिजिटल अरेस्ट’ भन्ने कानुनी व्यवस्था छैन । यो नितान्त अनलाइन ठगीको नयाँ स्वरूप मात्रै हो । अर्को कुरा नेपालमा कुनै पनि सरकारी कार्यालय तथा अनुसन्धान गर्ने निकायले कुनै व्यक्तिलाई पक्राउ गर्न सामाजिक सञ्जाल, इमेल, ह्वाट्सएप वा स्काइप जस्ता प्लेटफर्मबाट पक्राउ पुर्जी जारी गर्दैन र ‘डिजिटल अरेस्ट’ पनि गर्दैन ।
कुनै व्यक्ति दोषी देखिएमा पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिई प्रहरी वा अनुसन्धान गर्ने निकाय प्रत्यक्ष रूपमा उपस्थित हुनु पर्छ । त्यसैले अनलाइनबाट ठगीको नयाँ रूप ‘डिजिटल अरेस्ट’ बाट बच्न सचेत बनौँ र अरूलाई पनि जानकारी दिऔँ ।
–युवामञ्च