• २६ वैशाख २०८३, शनिबार

सेवा प्रवाहका लागि दुई स्थानीय तह छनोट

blog

सिन्धुलीको मरिण गाउँपालिकाको कार्यालय भवन ।तस्बिर : बाबुराम देवकोटा

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, वैशाख २६ गते   । सिन्धुलीमा जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि दुई वटा स्थानीय तह छनोट भएका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये सात वटाले उक्त सेवा प्रवाहका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आशयपत्र पेस गरेकोमा पहिलो चरणमा दुधौली नगरपालिका र मरिण गाउँपालिका छनोटमा परेका छन् । 

जिल्लामा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिकाले भने आशयपत्र नपठाएको जनाएका छन् । मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले पालिकाले भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह जेठको पहिलो साताबाटै सुरु गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा सञ्चालनका लागि सुरुमा कर्मचारीलाई तालिम चाहियो । भएकै कर्मचारी र भवनबाट आवश्यक जनशक्ति र ठाउँको व्यवस्थापन गर्ने तयारी गरेका छौँ ।”

सदरमुकामस्थित भूमि प्रशासन कार्यालय (मालपोत) र नापी कार्यालयबाट हुँदै आएको जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सहज ढङ्गले नागरिकलाई प्रवाह गरिने उहाँको भनाइ छ । स्थानीय तहले उक्त सेवा सुरु गर्नेबित्तिकै जग्गा प्रशासनसम्बन्धी सेवा लिन सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने र नागरिकको समय तथा खर्च पनि बचत हुने गाउँपालिका अध्यक्ष मोक्तानले सुनाउनुभयो ।

त्यस्तै दुधौली नगरपालिकाले भने आगामी साउन १ गतेबाट सेवा सुरु गर्ने तयारी गरेको जनाएको छ । नगरप्रमुख चन्द्रकिशोर थारूका अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाह सुरु गर्न दुधौली नगरपालिकामा भवन र कर्मचारीको समस्या छैन । उहाँले भन्नुभयो, “साउन १ गतेअगाडिको समयमा सेवा प्रवाह गर्न आवश्यक तयारी पूरा गर्छौं ।”

यसअघि पनि मालपोत कार्यालयको सेवा केन्द्र खोल्न पहल भइरहेकोमा अब जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट सुरु हुने भएपछि नागरिकले घरदैलोमा नै सेवा पाउने उहाँको भनाइ छ । सङ्घीय सरकारले जग्गा प्रशासनसम्बन्धी सेवा सञ्चालन गर्न सक्ने÷नसक्ने भनी परिपत्र गरेको थियो, उहाँले भन्नुभयो, “हामीले सक्छौँ भनी कार्यपालिका बैठकबाटै निर्णय गरी आशयपत्र पठाएका थियौँ ।”

उक्त सेवा प्रवाह सुरु भएपछि दुधौली नगरपालिकाका १४ वटा वडाका बासिन्दा लाभान्वित हुने नगरप्रमुख थारूले जानकारी दिनुभयो । भूमि प्रशासन कार्यालयका अनुसार जिल्लामा सङ्घीय सरकारको परिपत्र अनुसार सेवा सञ्चालनका लागि नौ वटै स्थानीय तहलाई परिपत्र गरिएको थियो । परिपत्र अनुसार जग्गा प्रशासनसम्बन्धी सेवा प्रवाहका लागि इच्छा देखाई दुधौली नगरपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका, तीनपाटन गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाले मन्त्रालयमा आशयपत्र पठाएका थिए । देशभरिबाट पहिलो चरणमा ३५ वटा स्थानीय तह छनोट हुँदा सिन्धुलीका दुधौली र मरिण गाउँपालिका छनोटमा परेका कार्यालयले जनाएको छ ।