काठमाडौँ, फागुन १७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतबारदेखि सकिँदै छ ।
निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा स्वास्थ्य स्वयंसेविकामार्फत फागुन ३ गतेदेखि घरदैलो मतदाता शिक्षा अभियान सञ्चालन गरेको थियो ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदाता शिक्षा अभियान प्रभावकारी रहेको बताउनुभयो । आवश्यकताअनुसार स्वयंसेविकाहरूले स्थानीय मातृभाषामै मतदाता शिक्षा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
“मतदाता शिक्षा र सूचना सम्प्रेषणलाई चुस्त–दुरुस्त बनाउन हामीले सूचना सम्प्रेषण समन्वय केन्द्र स्थापना गरेका छौँ । सूचना सदाचार केन्द्र, प्रेस अफिस र मतदाता शिक्षा शाखाले आवश्यक सामग्री निर्माण तथा सूचना सम्प्रेषण गर्ने काम गरिरहेका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘फागुन ३ गतेदेखि १७ गतेसम्म स्वयंसेविका महिलाले घरदैलोमा पुगेर मतदाता शिक्षा दिनुभएको छ । स्थानीय मातृभाषामै शिक्षा दिइएकाले मतदाता शिक्षाको पहुँच घरघरमा पुगेको छ । यसकारण अभियान प्रभावकारी भएकोमा आयोग विश्वस्त छ ।”
आयोगले मतदाता शिक्षाको प्रभावकारिता अनुगमन गर्न ७५३ वटै स्थानीय तहमा अनुगमनकर्तासमेत खटाएको थियो ।