• ३० कात्तिक २०८२, आइतबार

शीर्षक के हो ?

blog

एउटा गाउँमा एक किसान परिवार थियो । गाउँबाट केही टाढा किसानको खेतबारी थियो । सधैंँ किसान आफ्नो खेतबारीमा काम गर्न जाने गर्नु हुन्थ्यो । किसानसँग खेत जोत्नका लागि एक हलगोरु पनि थियो । खेतबारीनजिकै जङ्गल पनि थियो । धेरै वर्षदेखि किसानले आफ्नो खेतमा मेहनत गरेर काम गर्ने गर्नु हुन्थ्यो । आफ्नो खेतबारीमा फलाएको तरकारी गाउँनजिकैको बजारमा लगेर बेच्ने गर्नुभएको थियो । आफ्नो काम र आम्दानीबाट किसानको परिवार खुसी थियो । 

सधैँ झैँ एक दिन किसान आफ्नो हलगोरु लिएर खेतबारीमा काम गर्न जानुभयो । नजिकैको जङ्गलबाट एउटा बाघ गर्जिंदै सरासर किसाननजिक आयो । किसान डरले थर थर काम्न थाल्नुभयो । किसाननजिकै आएर बाघले भन्यो, “हेर किसान यो जङ्गलको छेउमा तिमीले खेती गरेको धेरै वर्ष भयो । तिमीलाई थाहै छ, म यस जङ्गलको राजा हुँ । यहाँको काइदा कानुन मैले भने अनुसार हुनु पर्छ । नत्र म तिम्रो ज्यान लिन पनि पछि पर्ने छैन ।”

बाघको आदेश सुनेर किसान छक्क पर्नुभयो । अनाहकमै ज्यान गुमाउनुभन्दा त यो बाघको सर्त मान्नु नै वेश हुने छ भनेर मनमनै सोच्नु भयो । “भन् न त जङ्गलको राजा । तिमीले के भन्न खोजेका हौ ? छिटो भन् ।” 

बाघ पनि गमक्क पर्दै भन्यो, “हेर किसान यतिका वर्ष तिमीले यहाँ खेतीपाती ग¥यौ । तिमीले खेती गरेबापत राजालाई कुत बुझाएका छैनौँ । अब आइन्दा यस खेतीमा आधा राजालाई र आधा तिमीले राख्न पाउँछाैँ । यो सर्त मञ्जुर भए खेती गर । नत्र यहाँबाट गइहाल ।”

किसानले ज्यानभन्दा ठुलो केही होइन भन्ने ठानेर बाघको सर्त मान्न तयार हुनुभयो । किसानको कुरा सुनेर बाघ पनि दङ्ग प¥यो । बाघले भन्यो, “यसपालि के के बालीनाली लगाउने बिचार गरेको छौ त किसान ?”

किसानले पनि बाघलाई जिल्याउने विचार गरी भन्नुभयो, “हेर राजा बाघ, मैले यसपालि आलु, पिँडालु, गाँजर र मुलाको खेती गर्ने छु ।” 

बाघले भन्यो, “उसो भए जमिनमाथिको भाग मेरो र जमिनमुनिको भाग तिम्रो हुने छ ।” किसानले एकछिन सोचे जस्तो गरेर भन्नुभयो, “हुन्छ राजा हजुर हुन्छ ।”

“खेतीपाती भित्र्याउने बेलामा आउँला । अहिलेलाई आनन्दसँग खेतीपाती गर । म दरबारतिर गएँ” भन्दै बाघ जङ्गल पस्यो । आजलाई ज्यान जोगिएकोमा सन्तोषको सास फेर्दै किसान पनि घर फर्कनुभयो । 

बाघलाई वाचा गरे अनुसार नै किसानले आलु, पिँडालु, गाँजर र मुलाको खेती गर्नुभयो । बालीनाली भित्र्याउने समय पनि आयो ।  

बाघ पनि पहिला जस्तै हुँकार गर्दै जङ्गलबाट टुप्लुक्क आइपुग्यो । किसानले आलु, पिँडालु, गाँजर, मुला आदि तरकारी उखेलेर धमाधम गोरुगाडामा हाल्नुभयो । आलु, पिँडालु, गाँजर, मुला, सागपातका डाँक्ला, हाँगाबिँगा, लहरा आदि बाघको भाग छुट्याएर थुप्रो लगाइदिनुभयो । डाँक्ला, हाँगाबिँगा आदिको थुप्रो देखेर बाघ दङ्ग प¥यो । किसानको भन्दा बाघको भागमा छुट्याएको भागको थुप्रो ठुलो थियो । 

“ल, बाघ राजा मैले मेरो भाग गोरुगडामा हालेर बजारतिर बेच्न हिँडेँ । तिमीले पनि आफ्नो भाग दरबारतिर लगेर मजाले खानू” भन्दै किसान बजारतिर लाग्नुभयो । बाघ पनि सित्तैमा पाएको खानेकुरा दरबार लगेर मजाले खाउँला भन्दै आफ्ना नोकरचाकरलाई बोक्न लगाएर दरबारको बाटो लाग्यो ।

दरबार पुगेर बाघले किसानसँग थर्काएर ल्याएको आधा भागबाट मिठो मिठो छानीछानी खाने सुर ग¥यो । मुलाको पात चपायो, उसलाई टर्रो टर्रो लाग्यो । योभन्दा त अर्को मिठो होला भन्ठानेर गाँजरको एकमुठा पात मुखमा हाल्यो । यो त झन् टर्रो पो रहेछ । यो 

लामो लामो पात त स्वादिलो होला ? भन्ठानेर पिँडालुको एक अँगालो पात चपायो । यसले त कोक्याएर बिछट्टै ग¥यो ।

बाघ रिसले चुर भयो । “म राजा जस्तोलाई त्यस किसानले झुक्याउने ? त्यसलाई तह नलगाई छाड्दिन” भन्दै किसान खोज्न बाघ दौडियो । बजारबाट सामान बेचेर फर्कदै गरेको किसानलाई बाघले बाटैमा भेट्यो । 

“के हो किसान ? मलाई झुक्याउने ? मिठो र स्वादिलो चाहिँ तिमी खाने, अनि टर्राे, कोक्याउने चाहिँ मलाई दिने ?” 

बाघको कुरा सुनेर किसानले भन्नुभयो, “हेर बाघ तिमी त जङ्गलको राजा हौ । तिमीले दिएको आदेश मैले मानेको त हुँ नि । यसमा मेरो के दोष छ र ? फेरि अर्को साल तिमी जमिनभित्रको खानू, म जमिन माथिको खाउँला ।” किसानको कुरा सुनेर बाघ खुसी भएर जङ्गलतर्फ फर्कियो ।

किसान त बाठो हुनुहुन्थ्यो । अर्को वर्ष किसानले फेरि जुक्ति निकाल्नुभयो । किसानले खेतबारीमा लौका, फर्सी, घिरौँला, करेला आदि लगाउनुभयो । बाघको सर्त अनुसार नै बालीनाली भाग लगाइयो । आआफ्नो भाग बोकेर किसान र बाघ दुवै आआफ्नो बाटो लागे । त्यसपछि बाघको हालत के भयो होला ? भाइबहिनीहरू आफैँले अनुमान लगाउनु होला ।    

   मुना   

Author

पारसमणि दाहाल