अस्मिता पोखरेल
धादिङबेंसी, मङ्सिर २ गते । धादिङको नीलकण्ठ नगरपालिका-१२ स्थित पशुपति मन्दिर परिसरमा आज बालाचतुर्दशी मेला लाग्दैछ । मेलाको तयारी अन्तिम चरणमा पुगेको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष मिलन भण्डारीले जानकारी दिनुभयो ।
“मन्दिर परिसरमा रङरोगन, बत्ती व्यवस्थापन, बाटो सफाइ तथा भक्तजनको सुरक्षा व्यवस्थाको अन्तिम चरणको काम भइरहेको छ,” उहाँले भन्नुभयो । आज बेलुका ५ बजे औपचारिक उद्घघाटनपछि रातभर नाचगान तथा भजन–कीर्तन हुनेछ । भोलिपल्ट बिहान सतबिज छर्ने र फूलको डोली तार्ने परम्परागत विधि पालना गरिने समितिले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको बेलुकी दीपदान गरी रातभर जाग्राम बसेपछि बालाचतुर्दशीको बिहान सतबीज छर्ने चलन रहेको छ । धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो गरी सात थरी अन्न छर्दा दिवंगत आत्माको चिरशान्ति प्राप्त हुने जनविश्वास छ । एक गेडा सतबिज छर्दा एक गेडा सुन दान गरेको बराबर पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।
रातभर बस्ने भक्तजनका लागि त्रिपाल तथा हलको व्यवस्था मिलाइएको मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनुभयो । “धेरै भक्तजनले पहिले नै आफ्नो बस्ने स्थान सुरक्षित गरिसक्नुभएको छ। अझै आवश्यक परे थप त्रिपाल राखेर सुरक्षित बस्ने व्यवस्था मिलाइनेछ,” उहाँले जानकारी दिनुभयो ।
फूलको डोली तार्ने चलन मेलाको मुख्य आकर्षण मानिन्छ । आफ्ना दिवंगत पितृको सम्झनामा डोली तार्ने भक्तजनको भीड प्रत्येक वर्ष उलेख्य हुने गरेको छ ।
नीलकण्ठ नगरपालिका–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले पशुपति मन्दिरलाई सदरमुकामको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भएको बताउनुभयो । “काठमाडाैंकाे पशुपतिनाथ पुग्न नसक्ने धेरै भक्तजन यहाँ आउने गर्छन् । वडा अध्यक्ष भण्डारीले भन्नुभयो, “नगरपालिकाले यस परम्परा र धार्मिक आस्थालाई विशेष संरक्षण र प्रवर्धन गरिरहेको छ ।” उहाँले सबै नगरवासी तथा भक्तजनलाई मेलामा सहभागी भई धर्म, संस्कार र परम्पराप्रति सम्मान प्रकट गर्न आग्रह पनि गर्नुभएको छ ।
मङ्सिर कृष्ण चतुर्दशीको दिनलाई बालाचतुर्दशी मनाइन्छ । यस दिन आफन्त गुमाएका घरपरिवारले पितृमोक्षका लागि अत्यन्त महत्वपूर्ण दिनका रूपमा लिने गरेका छन् ।