भाइबहिनीहरू, सेयर भन्ने शब्द सुन्नुभएको छ ? मानिलिऊँ तपाईंको बुवाले कुनै चकलेट कम्पनी खोल्नुभयो । त्यो कम्पनीमा १० लाख रुपियाँ लगानी गर्नुपर्ने भयो तर तपाईंका बुवाले लगानी गर्दा पनि सात लाख रुपियाँभन्दा बढी जम्मा हुन सकेन । उहाँले आफ्नो फ्याक्ट्रीलाई ‘पब्लिक लिमिटेड कम्पनी’ भनेर दर्ता गर्नुभयो । यसको अर्थ हो यो कम्पनीमा अब जोसुकैले पनि आर्थिक लगानी गर्न सक्छन् । त्यसपछि बुवाले बाँकी तीन लाख रुपियाँलाई एक सय/एक सय रुपियाँका ससाना टुक्रामा बाँडिदिनुभयो । यी एक सय रुपियाँका टुक्रालाई नै सेयर भनिन्छ । अब एक सय रुपियाँको एउटा टुक्रालाई ‘एक कित्ता सेयर’ भनिन्छ ।
यसरी सबै मानिसले आर्थिक लगानी गर्न सक्ने गरी कम्पनीको टुक्रा बेच्न राख्ने कामलाई प्राथमिक बजार भनिन्छ । प्राथमिक बजार भनेको कम्पनीले सुरुमा पहिलो पटक आफ्नो सेयर बेच्ने ठाउँ हो । यसरी बजारबाट आममानिसले लगानी गर्न सक्ने गरी व्यवस्था गर्नुलाई सर्वसाधारणमा लगानी खुला गर्ने प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) भनिन्छ ।
यसरी कम्पनीको ससानो हिस्साका मालिक भएका केही प्रारम्भिक लगानीकर्ताले एक वर्षपछि आफ्नो सेयर बेच्ने निर्णय गरे भने के हुन्छ ? तिनीहरू प्रत्येकले बाहिर गएर नयाँ किन्ने मान्छे खोज्नुपर्ने छ, जुन गाह्रो हुन सक्छ । यसरी बेच्ने र किन्ने प्रक्रियाका लागि एउटा कुनै निश्चित बजार निर्धारण गरिएको हुन्छ, जसलाई सेयर बजार भनिन्छ । सेयर बजार भनेको एउटा विशेष ठाउँ हो जहाँ कम्पनीका सेयर किन्न र बेच्न पाइन्छ । नेपालमा यो काम ‘नेपाल स्टक एक्सचेन्ज’ भन्ने सरकारी संस्थाले गर्छ ।
सेयर लिने मानिस आफैँ गएर सिधै बेच्न वा किन्न मिल्दैन । त्यसका लागि धितोपत्र दलाल वा स्टक ब्रोकर भनिने मानिस वा कम्पनी हुन्छन् । उनीहरूले हाम्रा लागि सेयर किन्ने र बेच्ने काम गरिदिन्छन् । उनीहरूले आज कुन कम्पनीको सेयर कतिमा बेच्न सकिन्छ भनेर जानकारी राख्छन् ।
कुनै कम्पनीको सेयर धेरै मानिसले किन्न खोजे भने त्यसको मूल्य बढ्छ तर कम्पनीले राम्रो काम गरेको छैन वा घाटामा चलेको छ भन्ने भयो भने त्यो सेयर किन्न कोही पनि चाहँदैनन् । अनि त्यसको मूल्य घट्छ । यसरी सेयर किन्ने र बेच्ने ठाउँलाई दोस्रो बजार भनिन्छ । धितोपत्र दलाल अर्थात् स्टक ब्रोकरले कुन कम्पनीको आज कति मूल्यमा बेच्न सकिन्छ भन्ने तय गरेर स्टक एक्सचेन्जमा त्यसको जानकारी राख्ने गर्दछन् । सेयरको मूल्य स्थिर हुँदैन ।
जसले कम्पनीको सेयर किन्छन्, उनीहरूलाई सेयर धनी भनिन्छ । जब हामीले कुनै कम्पनीको सेयर किन्छाैँ, तब त्यो कम्पनीको सानो अंशको मालिक बन्छौँ । हाम्रो हिस्सामा कति सेयर छ, त्यसैका आधारमा हामी कतिको मालिक भयौँ भन्ने थाहा हुन्छ । सेयरधनी भएपछि हामीले कम्पनीले कमाएको नाफाको केही अंश पाउँछौँ । यसलाई लाभांश भनिन्छ ।