• ३० कात्तिक २०८२, आइतबार

मन्थरा

blog

मन्थरा रामायणकी एक नारी पात्र हुन् । वाल्मीकि रामायणको अयोध्या काण्डको नवौँ सर्गमा मन्थराका बारेमा चर्चा छ । यिनी कैकेयीका काकाकी छोरी थिइन् भनिन्छ । कैकेयी केकय देशका राना अश्वपति र उनकी पत्नी शुभलक्षणाकी छोरी थिइन् । मन्थरा गन्धर्व कन्या थिइन् । मन्थराको बाल्यकालको नाम रेखा थियो रे । यिनी बाल्यकामा ठुला ठुला आँखा भएकी बालिका थिइन् रे । मन्थरा भन्ने नाम यिनी ठुली भएपछि राखिएको रहेछ ।  यिनको पिताको नाम बृशदश्व थियो । उनी केकय देशका सम्राट् ऋश्वपतिका भाइ थिए । मन्थरा भरतकी आमा कैकेयीकी बाल्यकालदेखिकी साथी रहिछन् । कैकेयी र मन्थरा सानैदेखि खुबै मिल्ने साथी भएकाले एकअर्काबाट छुट्टिएर बिरलै बस्थे । 

कैकेयीको उमेर पुगेपछि दशरथको विवाह कैकेयीसँग भयो । विवाहपछि कैकेयीसँगै दशरथको राज्यमा आइन् । यिनी दशरथका अरू तीन वटा रानीभन्दा ज्यादा राम्री थिइन् । कैकेयीको विवाहपछि पनि मन्थरा पनि दशरथ राजाको राज्यमा आइन् । दशरथ राजाले कैकेयीलाई विवाह गरेर ल्याउँदा ससुरालीबाट नै मन्थरालाई काम सघाउन पठाइएको रहेछ । उनी त्यहाँ कैकेयीको सेविकाका रूपमा रहेकी थिइन् । यिनी रानी कैकेयीको प्रिय थिइन् । मान्छे त्यस्ती भए पनि यिनी निकै चलाख रहिछन् । बेला बेलामा कैकेयीलाई आवश्यक सल्लाह यिनले नै दिने गरेकी रहिछन् । राजा दशरथसँग एक पटक कैकेयीले रामलाई वन पठाउने र भरतलाई राज्य दिने वर मागेकी थिइन् । त्यस्तो वर माग्ने काम यिनकै सल्लाहमा भएको रहेछ । त्यसैले मन्थरा रामलाई भन्दा भरतलाई धेरै माया गर्दिरहिछन् । रामलाई १४ वर्ष वनबास र भरतलाई राज्य माग्न लगाएकीले यिनलाई एउटा नराम्रो चरित्रका रूपमा हेर्ने गरिन्छ । 

मन्थराको स्वभाव खराब त थियो । रामायणका अनुसार उनी शारीरिक रूपमा पनि कुरूप थिइन् । त्यो कुरूपताका बारेमा पनि एउटा प्रसङ्ग आउँछ । बाल्यकालमा नै मन्थरालाई एउटा जटिल रोग लागेछ । त्यो रोग लाग्दा पूरै शरीर पसिनाले भिज्दोरहेछ । तिर्खा लाग्दो रहेछ । तिर्खा लागेर छटपटी भएपछि यिनले सर्बत खाइछन् । त्यो सर्बत खाएको केही समयमै यिनका शरीरका अङ्ग नचल्ने भएछन् । लामो समयको उपचारपछि शरीर अरू अङ्ग त ठिक भएछन् तर पिठिउँमा भने मासुको एउटा डल्लो रहिरहेछ । यिनको पिठिउँ केही कुप्रिएछ । त्यसपछि यिनी शारीरिक रूपमा कुरूप भइछिन् । शारीरिक कुरूपताले गर्दा जीवनभर उनको विवाह भएनछ । यिनी कैकेयीकी दासीकी रूपमा दशरथको दरबारमा बसेकी रहिछन् ।

कैकेयीकी प्रिय पात्र भएकी हुनाले यिनी भरतलाई विशेष माया गर्दथिन् तर रामलाई भने धेरै नै ईष्र्या गर्दथिन् । यिनको सम्बन्ध रामसँग राम्रो भएको पाइँदैन । मन्थरा पूर्वजन्ममा दुन्दुभिनाको कन्याको रूपमा रहेकी थिइन् । 

कैकेयीको दरबारमा रहँदा यिनको विवाह गर्ने उमेर भइसकेको थियो । शारीरिक कुरूपताका कारण यिनको विवाह हुन सकेन भनिन्छ । मन्थरालाई धर्मको पालना गर्ने कुरामा कत्ति पनि ध्यान थिएन । यिनको मृत्युका बारेमा पनि अचम्मको प्रसङ्ग आउँछ । राक्षसबाट डराएर यताउता गरिरहेका देवताहरू भगवान् विष्णुको छेउ पुगे । त्यही बेला भगवान् विष्णुले देवराज इन्द्रलाई मन्थरामाथि आक्रमण गर्न लगाए । इन्द्रको बज्रको प्रहार मन्थराले खप्न सक्ने कुरै भएन । उनी पृथ्वीमा पछारिन् पुगिन् । त्यसपछि उनको मृत्यु भयो ।  

   मुना