शङ्कर केसी
शारदा (सल्यान), मङ्सिर २ गते । सल्यानमा पछिल्लो समय विद्युतीय गाडी (इभी) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । यहाँको भौगोलिक अवस्थाले गर्दा सुरुमा सडकको समस्या हुने आँकलन गरिएपनि इभीको प्रयोग सफल देखिएको हो ।
हाल सल्यानबाट ४० बढी विद्युतीय गाडी सञ्चालन भइरहेको जिल्ला ट्राफिक कार्यालय सल्यानले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सरोज चौधरीले भन्नुभयो, “हामीलाई प्राप्त विवरण अनुसार सल्यानमा ४० वटा इभी सञ्चालनमा छन् । यसै गरी बस तथा फोर्स गाडी ८७ वटा, जीप २६ वटा तथा ७० देखि ७५ को सङ्ख्यामा अटो सञ्चालन भइरहेका छन् ।”
अझै धेरै सङ्ख्यामा इभी थपिने क्रम रहेको यातायात प्रालिहरूले जनाएका छन् । ग्रामीण तथा पहाडी क्षेत्रमा पनि इभीको सफलता देखिएको व्यवसायीहरू बताउँछन् । सल्यान रुकुम यातायात प्रालिमा मात्र २० वटा इभी आबद्ध भएर नियमित सञ्चालन भइरहेका छन् ।
प्रालिका अध्यक्ष अरविन्दकुमार राईले आफ्नो प्रालिमा इभी भित्रिएको ढाई वर्ष बढी भैसकेको बताउनुभयो । “इभी सञ्चालनमा असहजता छैन । इन्धन खर्च कम हुन्छ, यहाँका बाटोमा पनि सफलतापूर्वक चलिरहेका छन्”, उहाँले भन्नुभयो, “अझै हाम्रो समितिमा तत्काल २० देखि २५ को सङ्ख्यामा थपिने तयारी छ ।” यद्यपी नयाँ ठाउँमा चार्जिङ स्टेसन राख्नका लागि विद्युत् आपूर्ति र भोल्टेज स्थिरतामा समस्या भएको कुरा आइरहेको भन्दै राईले यसको समाधान आवश्यक रहेको बताउनुभयो ।
इभीले इन्धन खर्च कम गरेर यातायात व्यवसायीलाई राहत दिएको र यात्रुहरूलाई सस्तो र आरामदायी सेवा प्रदान गरेको यातायात प्रालिहरू बताउँछन् । प्रदूषण रहित हुँदा पर्यावरण संरक्षणमा पनि टेवा पुगेको र शान्त र आरामदायी यात्राका कारण यात्रुहरूको रोजाईमा विद्युतीय गाडी पर्ने गरेको देखिन्छ ।
जिल्लाका विभिन्न गाउँमा पनि यी गाडीहरू सञ्चालन हुनेगरेका छन् । यातायात व्यवसायीहरू इभीतर्फ आकर्षित हुँदै गएकाले छिट्टै जिल्लामा इभीको सङ्ख्या दोब्बर हुने अनुमान छ । नेपालमा महिन्द्रा इटुओ, बिवाइडी, किया निरो, एमजी जेटएस, हुन्डाई कोना, आयोनिक, टाटा नेक्सन इभी र निसान लिफ जस्ता विद्युतीय गाडीहरूको बिक्री वितरण तीव्र गतिमा भइरहेको बताइएको छ ।