• १४ वैशाख २०८१, शुक्रबार

'हुक्का : एन एब्सर्ड ड्रिम'लाई उत्कृष्ट प्रतिक्रिया

blog

काठमाडौं, जेठ १२ गते । नेपाली चलचित्र 'हुक्का: एन एब्सर्ड ड्रिम' को काठमाडौंमा प्रेस सो सम्पन्न भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमाजमा चलचित्रको प्रेस सो गरिएको हो । 

शोमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ लगायत चलचित्रकर्मीहरू तथा पत्रकारहरूको उपस्थिति थियो । 

चलचित्रबारे प्रतिक्रिया दिँदै सहभागीले नेपाली समाजका घटनालाई चलचित्रको रूपमा सही ढङ्गमा प्रस्तुत गरिएको बताउनुभयो । हरेक गाउँघरमा भएको हुक्का को कथा एक सुन्दर तवरले व्यक्त गरेको उहाँहरूको प्रतिक्रिया थियो ।

चलचित्रका निर्देशक शम्भु थापाले हाम्रो नेपाली समाजमा देखिएका घटनाहरूलाई जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामी सिक्ने क्रममा छौँ, आगामी दिनमा दर्शकहरूले दिनुभएका सुधार गर्नुपर्ने विषयमा निखारिएर आउनेछौँ ।" 

चलचित्र 'हुक्का'ले दर्शकहरूलाई 'बोर' महसुस नगराउने कलाकार अशु न्यौपानेले बताउनुभयो । यस चलचित्रले सबै क्षेत्रलाई समेटेको हुँदा दर्शकहरूलाई थप मनोरञ्जन हुनेमा ढुक्क रहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । यो चलचित्र कलाकार न्यौपानेको डेब्यु चलचित्र हो । 



यस्तै, कलाकार तेज गिरीले चलचित्रलाई सामाजिक नाटकको रूपमा विश्लेषण गर्नुहुँदै 'हुक्का' निर्माण टिमसँग काम गर्न पाउँदा कला क्षेत्रका नयाँ आयामहरू सिक्ने मौका मिलेको बताउनुभयो । आगामी दिनमा पनि 'हुक्का' टिमसँग काम गर्ने प्रतिबद्धता जनाउनुहुँदै उहाँले चलचित्र क्षेत्रमा 'हुक्का' टिमले राम्रो छवि बनाउनसक्ने र आफूले यो टिमसँग सिक्ने र काम गर्ने प्रेरणाकासाथ अघि बढ्ने बताउनुभयो । 

शोमा उपस्थित कलाकार दिनेश डिसीले पनि चलचित्रका प्रमुख पात्र प्रमीला खनालको अभिनय अब्बल रहेको बताउनुहुँदै चलचित्रले हरेक दर्शकको मन छुने विश्वास व्यक्त गर्नुभयो । "फिल्म रियालिस्टिक छ, आम दर्शकले प्रष्ट रूपमा बुझ्ने कथामा चलचित्र तयार भएको छ", कलाकार डिसीले भन्नुभयो । 


यस्तै, अभिनेत्री प्रमिलाले चलचित्रले लोकल चामलको स्वाद दिने बताउनुभएको थियो । चलचित्रको कथा विशेषगरि गाउँघरमा प्रयोग गरिने 'हुक्का' सँग जोडिएको छ । पुर्खाको सम्पत्तिको आडमा मानिसमा उत्पन्न हुने घमण्डलाई त्यागेर आजको दिनमा आफूले मिहिनेत गर्नुपर्ने, नेपाली समाजमा महिलाप्रति गरिने दयनिय व्यवहार, नेपाली समाजमा एकल महिलाप्रति गरिने व्यवहार, धन सम्पत्ति कमाउनकै लागि छोटो र सजिलो बाटो अपनाउने पात्रकाे कथा लगायत नेपाली समाजमा महिलाले गर्नसक्ने प्रगतिको कथा प्रस्तुत गरिएको छ । 

सन्तोषकुमार आत्रेयको कथा रहेको फिल्ममा सन्तोष र भगवान पौडेलको पटकथा छ । रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुनुहुन्छ ।

चलचित्र आजबाट देशभरि प्रदर्शनमा आएको छ ।