अग्लो र कसिलो शरीर । बलिष्ठ पाखुरा । मिलेको जिउ र आकर्षक चेहरा । एक समय यस्तो मान्यता थियो, चलचित्रका नायकनायिका भनेपछि । त्यही मान्यतामा स्थापित भएका नायकहरू हुन्– ‘माइतीघर’ का सिपी लोहनी, ‘सिन्दूर’ का विश्व बस्नेत, ‘जीवन रेखा’ का शिव श्रेष्ठ र ‘जुनी’ का भुवन केसी । राजेश हमाल, आर्यन सिग्देल, निखिल उप्रेती, विराज भट्टलगायत नायकहरू यही मान्यताको निरन्तरता हुन् ।
नायिकाका रूपमा माला सिन्हा, मिनाक्षी आनन्द, करिश्मा मानधर, गौरी मल्ल हुँदै यात्रा अघि बढ्यो । अहिले त्यो अवस्था छैन । कुनैबेला राजेश हमालको गर्जन चलचित्र सफलताको सूची मानिन्थ्यो । अहिले चलचित्रमा यथार्थ खोजिन थालेको छ । कथामा मौलिकता खोजिन थालेको छ । नायकनायिका हेरेर होइन कथा, चरित्रचित्रणका आधारमा दर्शक हलसम्म पुग्ने गरेको पाइन्छ । यसैको परिणामस्वरूप पूर्णबहादुरको ‘सारङ्गी’, ‘पशुपति प्रसाद’, ‘जारी’, ‘उनको स्वेटर’ जस्ता चलचित्रले दर्शकको मन जित्न थालेको छ ।
विसं २०८२ मा करिब ५० वटाको हाराहारीमा चलचित्र बजारमा आए । तीमध्ये सर्वाधिक आर्जन गरेका १०÷१२ वटा चलचित्र भने ‘परान’, ‘आ बाट आमा’, ‘जेरी अन टप’, ‘माग्ने राजा’, ‘उनको स्वेटर’, ‘जारी २’, हरि बहादुरको ‘जुत्ता’, ‘माइतीघर’, ‘पीताम्बर’, ‘मोहर’, ‘बलिदान’, ‘मनबिनाको धन’ पर्न आउँछ ।
यो सूचीलाई हेर्ने हो भने नायकको परम्परागत मान्यताभित्र परेका नायकहरू अनमोल केसी र पल शाह मात्रै हुन् । अनमोल केसीको यो वर्ष सफल भएको भनिएको ‘जेरी अन टप’ मा पनि हिरोको दर्जामा नपरेका माग्ने बुढा केदार घिमिरेको विशेष उपस्थिति रहेको छ । झन् केदार घिमिरेको प्रमुख भूमिका रहेको माग्ने राजाको त कुरै अर्को छ । यो चलचित्रमा खेल्न उहाँले पारिश्रमिकका रूपमा पचास लाख रुपियाँ थापेको भन्ने कुरा यो पूरै साल चर्चाको विषय बन्यो । कुनैबेला राजेश हमाल सर्वाधिक पारिश्रमिक थाप्ने कलाकार हुनुहुन्थ्यो । अहिले धेरै पारिश्रमिक थाप्ने कलाकारमा विपिन कार्की, खगेन्द्र लामिछाने, दयाहाङ राई देखिन्छन् । जितु नेपाल पनि परम्परागत नायकको मान्यतामा पर्दैनन् तर उहाँको माग पनि नेपाली चलचित्रमा लोभलाग्दो छ । अहिले आफैँ नायक र निर्माता बनेर ‘आई एम जितु’ चलचित्र बनाइरहनुभएको छ ।
यो वर्ष सफल घोषित चलचित्र ‘मनबिनाको धन’ पनि कुनै परम्परागत परिभाषित नायक अनुहार भएको चलचित्र हैन । नेपाली चलचित्रमा एक सशक्त अभिनेता मानिने दयाहाङ राईलाई लिएपछि चलचित्र चल्छ भन्ने मान्यता केही निर्मातामा थियो तर यो वर्ष दयाहाङ अभिनीत ‘गाउँ आएको बाटो’, ‘नीर फूल’, ‘मनसरा’ ले दर्शकको मन जित्न चाहिँ सकेन । दयाहाङ राईको प्रमुख भूमिका रहेको ‘कार्साङ’ चलचित्रमा जितु नेपालको महìवपर्ण उपस्थिति उल्लेखनीय थियो । केदार घिमिरे जस्तै जितु नेपाल पनि अहिले केही चलचित्रमा प्रमुख भूमिकामा उपस्थिति हुनुहुन्छ ।
नायकको परम्परागत मान्यता विस्तारै भत्किँदै गएको छ । आकर्षक छविका राजेश हमालको यो वर्ष ‘नरसिंह अवतार’ र ‘प्रवासी जीवन’ ले कुनै छाप छाड्न सकेन । उहाँकै पाइला पछ्याउँदै अघि बढिरहनुभएका नायक प्रदीप खड्काको एक्टर र ‘पीताम्बर’ ले दर्शकको मन खासै जित्न सकेको देखिएन ।
त्यसो त नायक पल शाह अभिनीत चलचित्र ‘रावायण’ ले दर्शकको मन जित्न नसकेपछि फ्लप हिरोसम्म भन्न भ्याए दर्शकले तर समय सधैँ एकनास कहाँ हुन्छ र ? समय बदलिँदो रहेछ, साल बदलिए जस्तै । अफाप भनिएका पल शाहको दिन बदलिएर सफल पल शाहमा परिणत भएको दृष्टान्त नेपाली चलचित्र बजारमा छ । २०८२ सालमा परम्परागत मान्यताका नायकका रूपमा लिइने पलका दुई चलचित्र प्रदर्शनमा आए– ‘आ बाट आमा’ र ‘मोहर’ ।
‘मोहर’ दर्शकको मन जित्न सफल हुँदा यो एउटा संजोग मात्र हो भन्नेहरू पनि छन । पछि ‘आ बाट आमा’ पनि दर्शकको मन जित्न सफल भयो । यो चलचित्रले १३÷१४ करोडको हाराहारीमा आर्जन गरेर देखायो । आर्जनको हिसाबले ‘आ बाट आमा’ दोस्रो नम्बरमा पर्न सफल भयो । पहिलो नम्बरमा ‘परान’ रह्यो । यसले १५÷१६ करोडको हाराहारी आर्जन गरेको बताइन्छ ।
चलचित्रका विविध प्रचलित विधामा एक्सन, कमेडी, ड्रामा, हरर आदि पर्छन् । यसमाथि पनि चलचित्रको महासागर मानिने भारतमा एक्सन विधाका चलचित्रले विकराल बजार लिएको देखिन्छ ।
गत सालको धुरन्धर र यो यसको सिक्वेल ‘धुरन्धर २’ लगायत दक्षिण भारतको पुष्पा ‘सिक्वेल’, ‘केजिएफ सिक्वेल’ यसका ज्वलन्त उदाहरण हुन् । नेपालमा पनि गत वर्ष विराज भट्टको ‘१२ गाउँ’ को सफलताले एक्सनप्रति नेपालका दर्शक पनि मोहित हुने गरेका छन् भन्ने देखाउँछ तर एक्सन विधाकै चलचित्र ‘बलिदान’, ‘पीताम्बर’, ‘आउटल दफा २१९’ र ‘अगस्त्य’ जस्ता अब्बल दर्जाका चलचित्रहरू व्यावसायिक रूपमा धराशायी बने । यस सन्दर्भमा नायक विराज भट्ट भन्नुहुन्छ, “चलचित्रमा एक्सन बलियो हुँदैमा मात्र पुग्दैन । कथा पनि बलियो चाहिन्छ । प्रस्तुति पनि आकर्षक हुनु पर्छ । सबै कुरा मिलेको हुनु पर्छ ।”
एक्सन विधाका जति पनि चलचित्रले दर्शकको मन जित्यो भनिएको छ, ती चलचित्रहरूले सबै पक्षमा ध्यान दिएको धारणा नायक भट्टको छ । उहाँ एक्सन चलचित्र ‘राम नाम सत्य’ बनाइरहनुभएको छ ।
अग्रज चलचित्रकर्मी नीर शाहका अनुसार दर्शकलाई कुनबेला कस्तो चलचित्रले मन जित्छ भनेर कसैले किटान गरेर भन्न सकिन्न तर सूक्ष्म ढङ्गले मेहनत गरेको चलचित्र हो भने व्यावसायिक रूपमा धेरै आर्जन गर्न नसके पनि एउटा राम्रो चलचित्र भनेर कालान्तरसम्म छाप छोड्न सफल हुन्छ ।
‘वासुदेव’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’, ‘सेतो बाघ’ बनाउनुभएका निर्देशक नीर शाह अहिले विजय मल्लको ‘कालजयी कृति’, ‘कोही किन बर्बाद होस्’ मा आधारित ‘कमला मिस’ चलचित्र बनाइरहनुभएको छ ।
एक अभिनेताका रूपमा ख्याति कमाएका नीर शाह एक कुशल निर्देशक पनि हुनुहुन्छ । उहाँले विसं २०२४ सालमा प्रदर्शित ‘परिवर्तन’ देखि २०८२ मा प्रदर्शित ‘परान’ सम्म सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएको छ । ‘परान’ मा शाहको अभिनय जीवनको एक प्रमुख एवं उल्लेखनीय रूपमा लिन सकिन्छ । तथापि उहाँ आफूलाई ‘प्रेमपिण्ड’ पछि ‘भीष्म प्रतिज्ञा’ र ‘परान’ नै मन परेको कुरा स्विकार्नुहुन्छ ।
‘परान’ मा प्रस्तुत कथा चलचित्रका लागि कुनै नौलो विषय थिएन । यसभन्दा अघि धेरै चलचित्रमा बिदेसिएका सन्तानको कथा आइसकेको विषय हो । यो चलचित्रको सफलताले महेश त्रिपाठीलाई अभिनेताका रूपमा र अञ्जना बराइलीलाई अभिनेतृका रूपमा स्थापित गराइदियो । यसभन्दा अघि पूर्णबहादुरको ‘सारङ्गी’ र पुजार सार्की खेल्दासम्म अञ्जना बराइली र फेरि ‘रेसम फिलिली’ लगायत चलचित्रसम्मको यात्रा गर्दा स्थिति त्यस्तो थिएन ।
नायिकाहरूमा आकर्षक अनुहार र जिउडालको मान्यता तोड्दै मिरुना मगर, जसिता गुरुङ, पशुपति राई देखिए । आना शर्माले ‘रमिताको पिरती’ र आँचल शर्माले ‘दुःखी आत्मा’ मा आफ्नो आकर्षक र सौन्दर्यले भरिपूर्ण छविलाई त्यागेर कथानुरूप ढाल्ने प्रयत्न गरेको पाइन्छ । अब स्वस्तिमा खड्काले पनि आगामी चलचित्र ‘लाली बजार’ मा यस्तै गर्ने प्रयत्न गरिरहेको पाइन्छ ।
बाटो, शिवांश र एक्लो जस्ता प्राविधिक रूपमा राम्रो भनिएका चलचित्रहरू यो वर्ष दर्शकको मन जित्न नसकेका चलचित्रमा परे । ‘रुवाबासी’ मा आधारित चलचित्रमा गत वर्ष पूर्णबहादुरको ‘सारङ्गी’ हेरेर फर्केका दर्शकले रुवाबासी मच्चाएको भिडियो सामाजिक सन्जालमा भाइरल भएपछि चलचित्रको व्यापार आकासिएको थियो । यो वर्ष पनि केही चलचित्रले आफ्नो चलचित्र हेरेर फर्केका दर्शकले रुवाबासी मच्चाएका भिडियो सामाजिक सञ् जाल मार्फत विकराल बनाउन खोजेका थिए तर त्यी चलचित्रको व्यापारमा कुनै सुधार भएको देखिएन । यस्ता चलचित्रमा श्री बुकुरो र बिगुल प्रमुख छन् ।
नेपाली चलचित्रको ‘ट्रेन्ड’ बदलिरहेको छ । नायकनायिकाको अनुहार बदलिएर अब कथा अनुरूपका पात्र चयन गर्ने चलन बढिरहेको छ तर सदा एउटै ट्रेन्डले काम गर्दैन । राम्रो चलचित्र बनाउन सधँै चलचित्र निर्माता चनाखो भइरहनु पर्छ ।