• २८ चैत २०८२, शनिबार

कम्युनिस्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ : महासचिव पोखरेल

blog

एमाले महासचिव शङ्कर पोखरेल । फाइल तस्बिर

काठमाडौँ, चैत २८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाल)का महासचिव शङ्कर पोखरेलले कम्युनिस्ट आन्दोलनलाई पुनःजागृत र पुर्नगठित गरेर अगाडि बढ्ने बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा सम्पर्क विशेष सङ्गठन कमिटीले आज आयोजना गरेको कार्यक्रममा उहाँले जनताको बहुदलीय जनवादका माध्यमबाट आजका चुनौती सामना गर्दै अगाडि बढ्ने बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,“हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ  र सङ्कल्पलाई आशामा बदल्ने छौँ । सत्ता र केन्द्रमुखी भएर जनताबिचमा पुग्न नसक्दा कम्युनिस्ट आन्दोलन पछाडि परेकाले अबको पाँच वर्ष प्रतिपक्षमा रहेर जनतासँग जोडिने छौँ ।”

उहाँले यसपटक पार्टीको पराजय भए पनि अब मुलुकको बलियो र निर्णायक शक्तिका रूपमा स्थापित गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । “विसं २०६४ को संविधानसभामा यस्तै प्रकारको पराजय भोगेका थियौँ । 

यसपटक पनि त्यस्तै अवस्था आयो, तर यो पराजयबाट निराश नभई शक्ति सञ्चय गर्दै फेरि आउने चुनावमा यो अवस्था बदल्छौँ”, महासचिव पोखरेलको भनाइ थियो । 

पार्टी सचिव पद्मा अर्यालले फेरि जनतासँग जोडेर पार्टीलाई माथि उठाइने बताउनुभयो । सम्पर्क विशेष सङ्गठन कमिटीका अध्यक्ष अशोक ठकुरीले पार्टीलाई फेरि एकीकृत गरेर लैजान विशेष भूमिका निर्वाह गरिने बताउनुभयो । रासस