• २९ चैत २०८२, आइतबार

बाँकेमा ६ महिनामा २७० फरार प्रतिवादी पक्राउ, तीन करोड ३५ लाख जरिवाना असुली

blog

जिल्ला प्रहरी कार्यालय बाँके । तस्बिर: सिराज खान

सिराज खान

नेपालगन्ज, चैत २९ गते । जिल्ला प्रहरी कार्यालय बाँकेले चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा २७० जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गत ६ महिनाको अवधीमा अदालतले विभिन्न मुद्दामा सजाय र जरिवानाको फैसला सुनाएपनि हालसम्म फरार रहेका २७० जना फरार प्रतिवादीलाई प्रहरीले बाँकेमा पक्राउ गरेको छ ।

पक्राउ परेका फरार प्रतिवादीहरूबाट तीन करोड ३५ लाख ३४ हजार ४९८ रुपियाँ जरिवाना समेत असुल गरिएको उहाँले बताउनुभयो । पक्राउ परेकाहरूमाथि १२५ वर्ष १ महिना ९ दिन कैद सजाय तोकिएको पाइएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही अवधिमा बाँके जिल्लामा कुल एक हजार १३२ वटा मुद्दा दर्ता हुँदा ९३९ जना अभियुक्तलाई पनि पक्राउ गरेर कानुनी कारवाही गरिएको सो कार्यालयले जनाएको छ । सोही प्रकारले लागु औषध नियन्त्रण अभियान अन्तर्गत गत ६ महिनामा प्रहरीले जिल्लामा २१२ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बरामद लागु औषधतर्फ एक किलो ५०० ग्राम ३२२ मिलिग्राम ब्राउन सुगर, पाँच किलो ६६ ग्राम ८९० मिलिग्राम गाँजा, ५०० मिलिलिटर कोरेक्स, दुई हजार ७०९ ट्याब्लेट नाइट्रोजेपाम र ४ हजार १७२ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ।

लागु औषधसहित पक्राउ पर्नेमा १९१ पुरुष, नौ महिला र १२ भारतीय नागरिक रहेका छन् । यसैगरी गत ६ महिनामा ३८८ जना हराएको निवेदन परेकोमा ३४३ जनालाई फेला पारेर आफन्तको जिम्मा लगाइएको र बाँकीको खोजतलास जारी रहेको प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।

सोही प्रकारले ट्राफिक कारबाहीतर्फ गत ६ महिनामा जिल्लाभर १५ हजार ६६७ वटा सवारी साधनलाई कारबाही गर्दै एक करोड २७ लाख १९ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

 त्यस्तै अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका क्रममा ५२ वटा सवारी साधन नियन्त्रणमा लिँदै छ लाख २५ हजार ५०० रुपियाँ राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।