• २९ चैत २०८२, आइतबार

होमस्टे सञ्चालकलाई निःशुल्क कुक तालिम

blog

मौलिक भेषभुषामा सजिएर स्थानीय स्तर उत्पादित वस्तुको परिकार बनाउँदै प्रशिक्षार्थी । तस्बिर साहारा लिम्बू

साहारा लिम्बू

फुङलिङ, चैत २९ गते । गुम्बा डाँडा सामुदायिक होमस्टेका सञ्चालकलाई एक महिने निःशुल्क कुक तालिम दिइएको छ ।

होमस्टेमा आबद्ध २४ जना सञ्चालकलाई निःशुल्क एक महिने कुक तालिम दिइएको हो ।सामुदायिक होमस्टेको व्यवस्थापनमा पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोगबाट एक्सपर्ट टेक्निकल कलेज सुनसरीले ३० दिने कुक तालिम दिएको तालिम समापन भएको छ ।

 फुङलिङ नगरपालिका-६ मा रहेको होमस्टेका सञ्चालकलाई स्वादिष्ट खाना तथा खाजाका परिकार तयार गर्न मात्र नभई पाहुनाको स्वागत–बिदाइ, व्यवस्थापन साथै सरसफाइका विषयमा समेत अध्यापन गराइएको प्रशिक्षक प्रवेश राजधामीले बताउनुभयो ।

होमस्टेका अध्यक्ष मणिराज गुरुङका अनुसार सञ्चालकलाई दैनिक ६ घण्टा तालिम प्रदान गरिएको थियो । स्थानीय स्तरमा उत्पादन हुने वस्तुहरूलाई स्वादिष्ट बनाई होमस्टेप्रति नागरिकको आकर्षण बढाउने योजनासहित कुक तालिम प्रदान गरिएको बताइएको छ । 

फुङलिङ बजारदेखि करिब ४ किलोमिटरको दूरीमा रहेको होमस्टेमा आन्तरिक तथा बाहय पर्यटक अड्याउन दिइएको तालिमले वडावासीको आर्थिक आम्दानीमा थप टेवा पुग्ने सोही वडाका वडाध्यक्ष मदन गुरुङले विश्वास व्यक्त गर्नुभयो ।

प्रशिक्षार्थीलाई तालिम अवधि भरि सिकेको सीपलाई कार्यान्वयन गर्न आग्रह गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको छ ।