वासुलिङ बैतडी, चैत २८ गते । सडक डिभिजन कार्यालय बैतडीले सम्झौता अनुसार काम नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गर्ने २५ निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको समय सीमाभित्र निर्माण कार्य सम्पन्न नगरेको, भौतिक प्रगति अत्यन्त न्यून रहेको तथा पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि बेवास्ता गरिएको जनाएको छ ।
उक्त अवस्थालाई गम्भीर रूपमा लिँदै सम्बन्धित व्यवसायीलाई अन्तिम चेतावनी समेत दिइएको छ ।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताका सर्त अनुसार ती ठेक्काहरू किन रद्द नगर्ने भन्ने विषयमा स्पष्ट जवाफ माग गरिएको कार्यालयले जनाएको छ ।
सूचना अनुसार सम्बन्धित निर्माण व्यवसायीहरूले १५ दिनभित्र कार्यालयमा उपस्थित भई विश्वसनीय स्पष्टीकरण सहित तत्काल निर्माण कार्य सम्पन्न गर्ने ठोस कार्ययोजना पेस गर्नुपर्ने छ ।
तोकिएको समयभित्र सन्तोषजनक स्पष्टीकरण नआएमा ठेक्का सम्झौता रद्द गरिने तथा सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा राख्ने लगायतका कानुनी प्रक्रिया अघि बढाइने चेतावनी कार्यालयले दिएको छ ।