• २९ चैत २०८२, आइतबार

बर्दिबासमा बेवारिसे शव फेला, पहिचान खुल्न बाँकी

blog

अजय शाह

गौशाला (महोत्तरी), चैत्र २९ गते । महोत्तरी जिल्लाको बर्दिबास बजार क्षेत्रमा एक अपरिचित व्यक्तिको बेवारिसे शव फेला परेको छ।

स्थानीय बासिन्दाले सडक किनारमा शव देखेपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार बिहानै नियमित आवतजावतका क्रममा स्थानीयले शङ्कास्पद अवस्थामा एक पुरुषको शव देखेपछि खबर गरेका हुन्।

सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी को टोली घटनास्थलमा पुगेर आवश्यक प्रक्रिया सुरु गरेको थियो। घटनास्थलमा पुगेको प्रहरी टोलीले शवको प्राकृतिक मुचुल्का तयार पार्नुका साथै प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ।

शव हेर्दा करिब ३०, ३५ वर्ष उमेर समूहको पुरुष जस्तो देखिएको र पहिचान खुलाउने कुनै कागजात वा प्रमाण तत्काल फेला नपरेको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको छ। मृत्युको कारण पोस्टमार्टम रिपोर्ट बाट मात्र थाहा हुने प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको र मृतकको पहिचान खुलाउन आसपासका जिल्ला तथा हराएका व्यक्तिहरूको विवरणसँग मिलान गर्ने कार्य भइरहेको जनाएको छ।

साथै, यदि कसैले हराएका आफन्तको खोजी गरिरहेको भए नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ।