कास्की, चैत २८ गते । पछिल्लो समय सामाजिक सञ्जाल तथा सूचना प्रविधिको विकाससँगै पत्रिका पसलसम्म पुगेर पढ्नेको सङ्ख्या बाक्लिँदै गएको देखिन्छ । पुस्तक पसलमा पढ्ने लत बसेका अग्रजदेखि अनुजसम्म प्रशस्तै भेटिन्छन् ।
¥याडम रिडर्स सोसाइटी अफ नेपालका निवर्तमान अध्यक्ष रूपिन्द्र प्रभावीले पोखरामा साहित्यसँग खुलेका विभिन्न सङ्घ संस्थाले नियमित रूपमा काम गर्दै आएको बताउनुहुन्छ । “यहाँ विभिन्न विधागत साहित्यका सङ्घ संस्था छन् । नियमित रूपमा पुस्तक परिचर्चा, बहस, गजल वाचनलगायतका गतिविधि भइरहेका छन्,” उहाँले भन्नुभयो । यहाँ भएका लघुकथा प्रतिष्ठान, गीतकार प्रतिष्ठान, मुक्तक, गजल सङ्घ, पोखरेली युवा सांस्कृतिक परिवारलगायतले पोखरेली साहित्यलाई उजागर गर्दै आएको प्रभावीले बताउनुभयो ।
पछिल्लो पुस्तादेखि पुरानासम्म पुस्तक पढ्ने बानीको विकास भएपछि नयाँ नयाँ पुस्तक पसल पनि खुल्न थालेका छन् । पोखरेलीको पढ्ने बानीको विकासले पुस्तक व्यवसाय पनि फस्टाउन थालेको पाइन्छ । अझ क्याफेमा कफीसँगै पुस्तक पढ्नेको जमात बाक्लो देखिन्छ । पोखराका हिमालयन रिडर्स कर्नरका सञ्चालक विजय भण्डारीले पुस्तक पढ्नेको सङ्ख्या तुलनात्मक रूपमा वर्षैपिच्छे बढ्दै आएको बताउनुभयो । “पुस्तक पढ्ने पहिला जस्तो अवस्था थियो, त्यस्तै नै छ । पुस्तक किन्ने र पसलमा आएर कफी खाँदै पुस्तक पढ्ने जमात पनि छ । युवा जगत्ले बढी अङ्ग्रेजी पुस्तक पढ्ने गरेको पाइन्छ,” उहाँले भन्नुभयो । उपन्यास, कथा, चर्चित व्यक्तिका आत्मकथा समेटिएका पुस्तकको बढी खोजी हुने गरेको उहाँले बताउनुभयो ।