गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २९ गते । ‘पहिचान पुरस्कार कोष’ ले साहित्यकार प्राज्ञ वैराज्ञी काइँला र गेलु रातोसलाई सम्मानित गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपतिसमेत रहेका काइँलालाई शनिबार पाँच लाख रुपियाँसहित ‘पहिचान विशेष सम्मान’ तथा ५० हजार रुपियाँ राशिसहित रातोसलाई ‘पहिचान युवा सम्मान’ प्रदान गरिएको हो ।
नेपाली साहित्यमा छुट्टै पहिचान बनाएका ‘आयामेली आन्दोलन’ का प्रमुख सर्जकमध्ये एक प्राज्ञ काइँलाका साहित्य र संस्कृतिसँग सम्बन्धित दर्जनौँ कृति प्रकाशित छन् । रातोसले कविता, गीत तथा नाट्य विधामा कलम चलाउँदै आउनुभएको छ । नेपाली समाजमा रहेका विविध समुदायको पहिचान र अपनत्वबारे कलम चलाउने स्रष्टालाई विगत १० वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आइएको कोषका अध्यक्ष नरेश काङमाङ राईले बताउनुभयो ।
सम्मान हस्तान्तरण कार्यक्रममा काइँलाका सिर्जनाबारे बृहत्तर व्याख्या गर्दै साहित्यकार खगेन्द्र सङ्ग्रौलाले पहिचान पुरस्कार कोषको महत्वबारे प्रकाश पार्नुभएको थियो । “विगतदेखि नै पूर्वमा राई, लिम्बूले आफ्नो पहिचानको आन्दोलनमा हार्न मानेका छैनन्,” सङ्ग्रौलाले भन्नुभयो, “आफ्ना पुर्खाको सत्वलाई निरन्तर अघि बढाउन उनीहरूले अनवरत सङ्घर्ष गरिरहेका छन् । पहिचान पुरस्कारले यस्तै आन्दोलनलाई निरन्तरता दिनु पर्छ/दिइरहेको छ ।”
सम्मानित काइँलाले आफूले पहिचानका सन्दर्भमा खास काम गर्न नसकेको उल्लेख गर्दै नेपाली भाषामा लेखिएका सिर्जना लिम्बू भाषामा अनुवाद गरिएको बताउनुभयो । कार्यक्रममा अघिल्लो वर्ष सम्मानित राजु स्याङ्तानलाई पनि पाँच लाख रुपियाँ नगदसहितको पुरस्कार हस्तान्तरण गरिएको थियो । अघिल्लो वर्ष नै पुरस्कृत गरिएकोे पुरस्कार हस्तान्तरण गर्ने दिन स्याङ्तान बिरामी परेका कारण लिन पाउनुभएको थिएन ।