हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), चैत २९ गते । मुस्ताङमा आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला आर्थिक गणना कार्यालय मुस्ताङले गणनालाई प्रभावकारी बनाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया,गणक तथा सुपरीवेक्षक नियुक्ति, स्थानीयतहसँग गणना कार्यका बारेमा आवश्यक सहयोग तथा समन्वय लगायत विभिन्न कार्यहरू गरिएको छ ।
आर्थिक गणना कार्यालयका प्रमुख सुदिप पौडेलले पाँच जना गणक र एक जना सुपरीवेक्षकको छनौटसँगै तालिम सोमबार सकिएपछि कार्य क्षेत्रमा खटिने बताउनुभयो ।
आर्थिक गणना अधिकारी पौडेलले भन्नुभयो, ‘‘गणनास्थलमा खटिने बाहेक सबै तयारी पूरा भएको छ,सरोकारवाला निकायबाट पूर्ण सहयोगको प्रतिबद्धता प्राप्त भएको छ ।’’ कार्यालय प्रमुख पौडेलका अनुसार आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म हुनअनुसार जिल्लाका पाँचवटै स्थानीय तहमा आर्थिकजन्य गतिविधिमा संलग्न सबै प्रकारका व्यवसायको विस्तृत विवरण संकंलन गरिने छ ।
जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले आर्थिक गणनाले जिल्लामा आर्थिकजन्य गतिविधिको तथ्याङ्क सङ्कलन हुने भएकाले सही र पूर्ण विवरण उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।
प्रजिअ शर्माले गणक र सुपरीवेक्षकलाई जिम्मेवारीपूर्वक राष्ट्रि«य अभियानलाई सफल बनाउन अनुरोध गर्नुभएको छ । मुस्ताङमा थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकामा खटिने गणकले प्रश्नावलीबाट तथ्याङक संकलन गर्नेछन् ।
२०७५ सालमा लिइएको तथ्याङ्कमा मुस्ताङमा आर्थिक गतिविधि तथा सेवामा ७ सय ७५ दर्ता भएका फर्म तथा प्रतिष्ठानमा ४ सय ९२ दर्तावालाले सञ्चालन गरेको भाडा र सम्झौतामा ६५ देखिएको थियो।
जिल्लामा होटल, रेन्टुरेन्ट, कृषि र पर्यटनको क्षेत्रमा धेरै ब्यवसाय तथा संलग्नता रहेको छ ।