• ५ वैशाख २०८१, बुधबार

लोकतन्त्रको सौन्दर्य

blog

वैशाख १० सम्पन्न तीनवटा संसदीय क्षेत्रको प्रतिनिधि सभा उपनिर्वाचन परिणामलाई जसले जसरी अथ्र्याए पनि जनता सर्वशक्तिमान भएको पुनः पुष्टि भएको छ । निर्वाचन परिणामले पुराना र स्थापित राजनीतिक दललाई गतिलो पाठ पनि सिकाएको छ । साथै, लोकतन्त्रमा जनता नै जनार्दन हुन् भन्ने मान्यतालाई विश्वासमा रूपान्तरण गरिदिएको छ । पुरानो लगानीको ब्याज खाने दिन अब नेपाली राजनीतिबाट बिदावारी हुने सङ्केत उपनिर्वाचन परिणामले देखाएको छ । खासगरी तनहुँ – १ र चितवन–२ को मत परिणामले राजनीतिको नयाँ परिभाषा र परिवेशलाई जबर्जस्त स्थापित गर्न खोजेको छ । तनहुँ – १ नम्बर क्षेत्र भनेको नेपाली कांग्रेसको किल्ला नै मानिन्थ्यो । विगत लामो समयदेखि यो क्षेत्रबाट नेपाली कांग्रेसले जित निकाल्दै आएको हो । पछिल्लो पटक नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल यहीँबाट निर्वाचित हुनुभएको हो । उहाँ राष्ट्रपतिमा निर्वाचित भइसकेपछि खाली भएको उक्त क्षेत्रमा कांग्रेसले प्रभावशाली एवं पुराना नेता गोविन्द भट्टराईलाई उम्मेदवार बनायो । भट्टराई आफैँमा योग्य शालीन र इमानदार नेता हुनुहुन्छ । जनताले उहाँभन्दा अब्बल मान्यो डा. स्वर्णिम वाग्लेलाई । जनताले दिएको मतलाई सबैले सम्मान गर्नुपर्छ, आफू अनुकूल व्याख्या विश्लेषण गर्ने हक कसैको होइन । 

नेपाली कांग्रेस मास बेस पार्टी हो । कम्युनिस्टजस्तो सङ्गठित सदस्यता लिनेभन्दा असङ्गठित मतदाताको सङ्ख्या अधिक छ । त्यो मत केवल डेमोक्र्याट भन्ने पगरीमा अड्किने गरेको छ । अर्को भरपर्दो विकल्प पाए, जता पनि स्वीङ हुन सक्छ । अहिले भएको त्यही हो । त्यो मत जोगाउन कांग्रेस विफल भयो । पछिल्लो एक दशकमा कांग्रेसले पनि क्रियाशील सदस्यता बढाउने नीति अख्तियार गरेको छ । सोहीअनुरूप सङ्गठित सदस्यको सङ्ख्या वृद्धि भए पनि आममतदाताको विश्वास र भरोसाचाहिँ खस्किएको तथ्याङ्कले देखाउँछ । यसअघिको १३औँ महाधिवेशनमा क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार रहेकोमा १४औँ महाधिवेशनसम्म आइपुग्दा झन्डै दोब्बर अर्थात्, आठ लाख ५३ हजार पुग्यो । आमनिर्वाचनमा भने मतदाता सङ्ख्या ओरालो लागेको तथ्याङ्कले बताउँछ । ०७४ को आमनिर्वाचनमा नेपाली कांग्रेसले समानुपातिकतर्फ ३१ लाख २९ हजार मत पाएकोमा ०७८ मा आइपुग्दा २७ लाख १५ हजार मात्रै खुम्चिनु प-यो । जब कि क्रियाशील सदस्यता भने दोब्बरले वृद्धि भएको अवस्था छ ।

तनहुँ र चितवनको उपनिर्वाचनमा कांग्रेसले प्रत्यक्षमा समेत मतदाताको विश्वास गुमाएको देखिन्छ । पौडेलले पाएको २५ हजार मत पनि भट्टराईले जोगाउन सक्नुभएन । त्यस्तै चितवनमा यसअघि उमेश श्रेष्ठले पाएको मत जितनारायण श्रेष्ठले सम्हाल्न सक्नु भएन । बरु रवि लामिछाने र डा. वाग्लेले कांग्रेस र एमालेको मतसमेत उल्लेख्य पाएको देखिन्छ । यसको कारण हो–रास्वपाप्रतिको भरोसाभन्दा ठूला पार्टीका नेताको नकारात्मक छवि । डा. वाग्लेको विगत र उहाँप्रतिको आकर्षणले पनि केही हदसम्म काम गरेको हो । कांग्रेस पृष्ठभूमिबाटै राजनीतिमा उदाउनु भएका डा. वाग्लेले कांग्रेसका मात्र नभई आमजनताको भरोसा र विश्वास जित्ने प्रयास गर्नुभएको छ । जनता अब परिणाम खोज्ने अवस्थामा पुगिसकेको उत्कृष्ट सन्देश पनि हो यो । हिजोका दिन डेमोक्र्याटको बिल्ला केवल कांग्रेसले भिरेको हो । त्यसैले जतिसुकै गुनासो र असन्तुष्टि भए पनि धेरै नेता कार्यकर्ता पार्टी परित्याग गरी कम्युनिस्ट बन्न रुचि देखाएनन् । अब डा. वाग्लेजस्ता व्यक्तित्वको प्रवेशले त्यस्ता मनोभावना बोक्नेलाई विकल्प दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ढोका खोलेको अर्थमा समेत लिन सकिन्छ । लोकतान्त्रिक विकल्पका रूपमा रास्वपाले छहारी दिने प्रयास गर्न सक्छ । 

अब परम्परागत सोच र ढाँचामा चलेका पुराना राजनीतिक दलका लागि ठूलो चुनौती आइलाग्न सक्छ । उपनिर्वाचनबाट प्राप्त मत परिणामले नेपाली कांग्रेसलगायत ठूला र स्थापित राजनीतिक दललाई सच्चिने मौका दिएको छ । डा. स्वर्णिम पार्टीबाट अलग्गिँदा ठूलै क्षति पुग्न सक्ने आकलन कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले गरिसक्नु भएको छ । यथासमयमा पार्टी नेतृत्वले मतदाताको मनोवृत्ति बुझ्ने प्रयास गरेन भने अकल्पनीय क्षति पुग्न सक्छ । पार्टीभित्र परम्परावादी सोच र शैलीभन्दा मतदाताकै रुचि र चाहनाको कदर गर्न सकिएन भने असान्दर्भिक हुन सक्ने खतरा बढ्दो छ । डा. स्वर्णिमजस्ता व्यक्तित्वलाई अवसरवादीको बिल्ला भिराउनेभन्दा कुनै न कुनै जिम्मेवारीमा इन्गेज गर्न सकेको भए युवा र बुद्धिजीवीको विश्वास र भरोसा कमजोर हुने थिएन । त्यसैले ठूला राजनीतिक दल अब रूपान्तरणका लागि तयार हुनै पर्ने दबाब सिर्जना भएको छ । नेता कार्यकर्ताले उर्दी लगाएकै भरमा कसैले मत दिँदैन । त्यसैले पहिला मन जित्ने गरी काम गर्न सके मात्रै मत पाइने छ ।

लोकतन्त्रको विकल्प भनेको उन्नत लोकतन्त्र मात्रै हो । राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई तिरस्कार लोकतन्त्रको सौन्दर्य हो । त्यसको झल्को कुनै न कुनै रूपमा प्रकट भइरहेकै छ । देशका तीनवटा संसदीय निर्वाचन क्षेत्रमा सम्पन्न उपनिर्वाचनको कारण र परिवेशबारे कसैले कतै चर्चा गरेन । बरु शक्ति परीक्षणको अस्त्रका रूपमा लिन खोजियो । त्यसरी मात्रै विश्लेषण गर्ने हो भने अनेक तर्क÷वितर्क गर्न सकिएला । राम्रोचाहिँ के होला भने अहिले जनताले दिएको मत परिणाम व्यक्ति वा पार्टी विशेषभन्दा लोकतन्त्र बलियो र सुदृढीकरणका निम्ति परिणाममुखी मान्नुपर्छ । लोकतन्त्रमा मात्रै नागरिकले आफ्नो वास्तविक चाहना प्रकट गर्न पाउँछ, त्यसका लागि ब्यालेट बक्स सशक्त माध्यम हो । यसले लोकतन्त्रलाई उन्नत र समृद्ध बनाउन बल पुगेको अर्थमा लिइनु पर्छ । त्यही अभ्यासभित्रको एउटा पाटो मात्र हो परिणाम ।

कांग्रेसको परम्परागत गढमा वाग्लेको जितलाई आआफ्नै ढङ्गले व्याख्या विश्लेषण गर्ने गरिएको छ । यो क्षेत्र भनेको लोकतन्त्रवादीको वर्चस्व रहेको क्षेत्र हो । डा. वाग्ले पनि लोकतन्त्रवादी नै हुनुहुन्छ । लोकतन्त्रमा जनता जनार्दन हुन्छन् । जनताको फैसलाको कदर र सम्मान गरिन्छ । अहिले प्राप्त मत परिणामलाई जसले जसरी प्रस्तुत गरे पनि नितान्त स्वाभाविक हो । डा. वाग्लेलाई जनताले लोकतन्त्रवादी भनेरै निर्वाचित गरेका छन्, न कि साम्यवादी पक्षधर । अब भने जनताले विषय विज्ञ वा योग्य उम्मेदवारको खोजी गर्न थालेको छनक दिएको छ यो परिणामले । लोकतन्त्रका लागि लडेको जेल नेल भोगेको मात्रै योग्यताले अब जनताको मन र मत जित्न सहज छैन भन्ने सन्देश पनि मत परिणामबाट मिलेको छ । आजका मतदाता स्मार्ट छन् । कसैले थोपरेकै आधारमा विश्वास गर्ने अवस्था छैन । युवा पुस्ताले समेत राजनीतिमा चासो देखाउन थालेको छ । यो नेपाली लोकतन्त्रको सुखद र सुन्दर पक्ष हो । राजनीतिमा युवा जमातले रुचि र आकर्षण देखाउँदा मात्रै परिवर्तन सम्भव छ । बिस्तारै नेपाली राजनीतिक क्षितिजमा त्यसको सङ्केत मिल्न थालेको छ । 

चितवन क्षेत्र नम्बर २ मा पनि रास्वपाको प्रभाव बढेको देखियो । रवि लामिछाने अदालतको कठघरामा दोषी ठहरे पनि जनअदालतमा दोस्रो पटकसमेत अब्बल ठहरिनु भएको छ । जनताले दिएको आदेशका अगाडि सबै निस्तेज हुन्छ । त्यसैले रविको जितलाई पनि लोकतन्त्रकै जितको अर्थमा लिइनु पर्छ । यसअघि पनि रवि यही क्षेत्रबाट निर्वाचित भइसक्नु भएको हो । अहिले जनताले फेरि उहाँलाई आफ्नो प्रतिनिधिका रूपमा देख्न चाहेका छन् । त्यसको सम्मान गर्नेतिर सबैले ध्यान दिनु आवश्यक छ । यस्तै बारा–२ मा जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित हुनुभएको छ । यो क्षेत्रमा यसअघि पनि सोही पार्टीका रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको हो । यादव उप राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि मात्रै सो स्थानमा उपेन्द्रले मौका पाउनु भएको हो । तीनवटै क्षेत्रमा भएको उपनिर्वाचनबाट रास्वपालाई एक सिट फाइदा र कांग्रेसलाई एक सिट क्षति भए पनि त्यसले संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणमा नकारात्मक प्रभाव पर्ने देखिँदैन । सरकारको पोजिसन तल माथि हुने अवस्था छैन । बरु लोकतन्त्रकै सबलीकरणमा भने यसले योगदान दिएको छ । 

लेखक गोरखापत्रका प्रधानसम्पादक हुनुहुन्छ ।