प्रविधिको दुनियाँ यसै पनि सीमाविहीन मानिन्छ । विश्वको कुनै एउटा मुलुकमा विकसित प्रविधि अर्को मुलुकमा सहजै पुग्न सक्ने विशेषताका कारण पनि यसले वस्तुको प्रवाहमा जस्तो सीमाको अवरोध बेहोर्नु पर्दैन । त्यसैमाथि इन्टरनेटको विश्वव्यापी पहुँचले प्रविधिको दुनियाँमा विकसित जुनसुकै उपलब्धिलाई तत्क्षण नै प्रयोगयोग्य बनाइदिएको छ ।
प्रविधिको यही लचकतायुक्त विशेषताकै कारण गुगल, माइक्रोसफ्ट, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता कन्टेन्ट प्लेटफर्मदेखि लाखौँ सफ्टवेयरले विश्वयात्रा गरिरहेका छन् । मुलुक अनुकुल सहजै प्रयोग गर्न सकिने प्रविधिप्रदत्त यस्ता सुविधाले मानवको जीवनशैलीमै अकल्पनीय परिवर्तन ल्याइदिएको हामी स्वयम् नै उदाहरण छौँ ।
तर प्रविधिको दुनियाँमा जति पनि कम्पनी हाबी छन्, त्यसमा विकसित मुलुककै उत्पादन अग्रणी स्थानमा छन् । उत्तर अमेरिका र युरोपका कम्पनीले एक हिसाबले विश्व प्रविधिलाई आफूकेन्द्रित गरेका छन् । एसियामा चीन र भारत पनि विश्व प्रतिस्पर्धाको दौडमा टाउको उठाइरहेका छन् । अनि नेपाल नि ?
सूचना प्रविधिमा युवापुस्ताको बढ्दो आकर्षणका कारण प्रविधिको उपलब्धिसँग नेपाल परिचित छ तर नेपाली आफैँले निर्माण गरेका सूचना प्रविधिसम्बन्धी सेवा विश्व बजारमा फैलिएको उदाहरण भने कम नै छन् । त्यही कम उदाहरणमध्येको एउटा नाम हो ‘जेनेस सोलुसन’ ।
जेनेस बहुप्रकृतिका सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनी हो । खास गरी सूचना प्रविधिसम्बन्धी सेवा खोजिरहेका संस्थाका लागि यसले करिब सबै प्रकृतिका सुविधा प्रदान गर्छ । सूचना प्रविधिसम्बन्धी सेवामा जेनेसले प्राप्त गरेको अनुभवले पनि विश्वका नयाँ बजारमा यसले आफूलाई सहजै प्रवेश गराएको छ ।
जेनेस सोलुसन्सका संस्थापक अञ्जनी फुयाँल प्रयोगकर्ताको खर्च घटाउने र प्रभावकारिता बढाउने मान्यता अनुसार सेवा प्रवाह गर्दा विश्वका धेरै ठाउँमा कम्पनीको उपस्थिति बढाउन सहयोग पुगेको बताउनुहुन्छ । “भोलिका लागि जुन प्रविधि चाहिन्छ, त्यसमा हामीले त्यसमा काम गर्ने हो,” उहाँ भन्नुहुन्छ, “यसरी काम गर्दा व्यक्ति, प्रक्रिया र प्रविधिलाई केन्द्रमा राख्छौँ ।”
जेनेसको विश्वयात्रा आफैँमा भने रोचक छ । किसान परिवारमा हुर्किएका यसका संस्थापक फुयाँलका लागि प्रविधि कम्पनी स्थापना गरेर त्यसलाई विभिन्न देशमा फैलाएको सफलता अहिले अचम्म लाग्छ । काठमाडौँको मूलपानीमा खेतीकिसानी गर्दै हुर्किनुभएका फुयाँलको उद्यमशीलताको पालुवा चाहिँ परिवारले पछि सुरु गरेको किराना पसलबाट हुर्कियो । १३ वर्षको उमेरदेखि पसलमा परिवारलाई सघाइरहेका फुयाँलले आफ्नो स्नातकसम्मको अध्ययनका क्रममा व्यापार र पढाइलाई समानान्तर निरन्तरता दिनुभयो ।
पढाइमा अब्बल फुयाँलले सन् २००८ मा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन्स इन्जिनियरिङमा स्नातक पूरा गरेर अलि फरक काम गर्ने सोचसाथ विज्ञापन एजेन्सी थम्पसन नेपालमा काम सुरु गर्नुभयो । कम्प्युटरमा तीव्र रुचिसमेत भएका कारण त्यहीबिचमा उहाँले माइक्रोसफ्टका ‘सर्ट कोर्स’ अध्ययन गर्दै अरूलाई पनि पढाउन सुरु गर्नुभयो । यो अनुभवले उहाँलाई माइक्रोसफ्टका कोर्सको ‘सर्टिफाइड ट्रेनर’ बनायो । कम्प्युटरप्रतिको आफ्नो रुचिलाई पूरा गर्न उहाँले सन् २०१० मा कम्प्युटर एन्ड नेटवर्किङ सेक्युरिटी अध्ययन गर्न बेलायत यात्रा तय गर्नुभयो ।
त्यो समय बेलायत आफैँ परिवर्तनको अर्को धारमा थियो । परम्परागत प्रणालीलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने अभियानमा बेलायत जोडतोडले लागेको थियो । स्नातकोत्तरमा फुयाँलले छनोट गर्नुभएको विषयले बेलायतको त्यो अभियानसँग मेल खायो । त्यसबिचमा स्कटल्यान्डको एउटा ल्याबमा छोटो समय काम गरेर बेलायत फर्किएर उहाँले माइक्रोसफ्ट सिक्ने क्रमलाई पुनः निरन्तरता दिनुभयो । विभिन्न कम्पनीमा सल्लाहकारका रूपमा काम गर्दै गरेको समय उहाँले बेलायतमा रहेको अमेरिकी क्यापिटल वन बैँकमा काम गर्ने अवसर प्राप्त गर्नुभयो । बैँक आफैँमा डिजिटल रूपान्तरणका लागि क्लाउडमा जाने रणनीतिमा थियो । उहाँका लागि त्यो सिक्ने महत्वपूर्ण अवसर बन्यो ।
त्यहाँ काम गर्दैगर्दा उहाँले बेलायत बस्ने स्थायी अनुमतिप्राप्त गर्नुभयो, जसका कारण कुनै कम्पनीमा जोडिएर काम गर्नुपर्ने बाध्यता उहाँलाई भएन । त्यही सुविधालाई उहाँले आफैँ केही नयाँ काम गर्ने सोचमा बदल्नुभयो । उहाँको त्यही सोचको उपज बन्यो जेनेस सोलुसन्स ।
जेनेस नामकरण गर्नुपूर्व उहाँले फुयाँल लिमिटेड नाममा कम्पनी स्थापना गर्नुभयो, जसको पहिलो कार्यालय पोखराको चिप्लेढुङ्गामा थियो । आफूले पढाएका विद्यार्थीसमेत भएकाले पोखराबाट सफ्टवेयर आउट सोर्सिङका लागि फुयाँल लिमिटेडले चिप्लेढुङ्गालाई आफ्नो केन्द्र बनायो । स्थानीय कम्पनी भएकाले सन् २०१८ मा उहाँले त्यसलाई अझ ठुलो बनाएर अघि बढाउने उद्देश्यसहित बेलायतमा टेक्नोफेरी कम्पनी सञ्चालनमा ल्याउनुभयो । छरिएका कम्पनीलाई एउटा ब्रान्ड दिएर सुरुवात गर्न उहाँले यी सबैको नाम जेनेस सोलुसन्स राख्नुभयो । फ्रेन्च शब्द जेनेसले नयाँ युगको सुरुवात भन्ने अर्थ दिने र त्यसले आफ्नो प्रयासलाई सम्बोधन गर्ने भएकाले त्यस्तो नाम छनोट गरिएको फुयाँल बताउनुहुन्छ ।
नेपालमा जेनेस सफ्टवेयर सुरुमा घरेलुमा दर्ता थियो । पछि शतप्रतिशत विदेशी लगानी भित्र्याएर नेपालमा जेनेस सोलुसन्स कम्पनी लिमिटेडका नाममा सञ्चालनमा आयो । यद्यपि जेनेसको मुख्य केन्द्र जेनेस सोलुसन लिमिटेडका नाममा बेलायतबाट सञ्चालित छ ।
नेपालमा जेनेसले अक्सिजन वनसँग मिलेर १० लाख अमेरिकी डलरको स्वपुँजी भित्र्याएको छ । अहिले नेपाल कार्यालयमा मात्रै ८० जना कर्मचारी काम गर्ने फुयाँल बताउनुहुन्छ । उहाँका लागि नेपाल मात्र अन्तिम गन्तव्य भने थिएन । प्रविधिका विकसित बजारमा प्रवेश गर्ने उहाँको योजनाले जेनेस सोलुसन अहिलेसम्म १० वटा देशमा फैलिएको छ । बङ्गलादेशमा भौतिक कार्यालय नै सञ्चालनमा ल्याएर विश्वयात्रा सुरु गरेको जेनेसले भारत, पाकिस्तान, फिनल्यान्ड, अस्टे«लिया, नाइजेरिया, स्पेन, आयरल्यान्ड र संयुक्त राज्य अमेरिकामा सूचना प्रविधिसम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।
संस्थापक फुयाँल जेनेसले उपलब्ध गराउने सेवा धेरै पैसा कमाइदिने र बचत गराइदिने किसिमका हुने बताउनुहुन्छ । उहाँका अनुसार जेनेसले अहिले ५० भन्दा बढी बहुराष्ट्रिय कम्पनीका सेवा उपलब्ध गराइरहेको छ । क्लाउडमा उच्च गुणस्तरीय सेवा दिइरहेको उहाँको दाबी छ । कोभिडकालमा नेपालमा जुमलाई आधिकारिक रूपमा उपलब्ध गराउने काम पनि जेनेसले नै गरेको उहाँको भनाइ छ । “मेरो अनुभवका आधारमा अमेजन क्लाउडका एम्बेस्डरमा म पनि सामेल छु,” उहाँले भन्नुभयो, “यसबाहेक माइक्रोसफ्टलगायत विभिन्न किसिमका क्लाउड सेवामा बर्सौंको अनुभवले जेनेसले उपलब्ध गराउने सेवा प्रतिस्पर्धी छ ।” नेपालमै पनि अन्तर्राष्ट्रियस्तरमा सूचना प्रविधि सेवा प्रदान गरिरहेका कम्पनीलाई सेवा उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।
विश्व चर्चित कम्पनीको क्लाउड सेवा उपलब्ध गराउनेबाहेक जेनेसले अहिले कुनै पनि कम्पनीका लागि आवश्यक विविध सूचना प्रविधि सेवा उपलब्ध गराइरहेको छ । एकीकृत मेलिङ प्लेटफर्म, इमेल, सफ्टवेयर निर्माणमा पनि जेनेसले आफूलाई विश्व बजारमा प्रमाणित गरेको छ ।