• १८ मङ्सिर २०८२, बिहिबार

अपराजित सुदूरपश्चिम क्वालिफायरमा

blog

काठमाडौँ, मङ्सिर १८ गते । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार छैटौं जित निकाल्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गरेको छ । टस हारेर सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले चितवन राइनोजलाई ४९ रनले हराएको हो । छ खेलमा अपराजित सुदूरपश्चिम १२ अंकसहित क्विालिफायर प्रवेश गरेको हो । 

 चितवनको भने प्लेअफको सम्भावना कठिन बनेको छ । ६ खेल खेल्दा चितवनले चार अंक मात्र जोडेको छ । 

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि क्रिस लिनले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ७५ रनमा रिटायर्ड हर्ट हुनुभयो । उहाँले ५६ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उहाँ प्लेयर अफ द म्याच बन्नुभयो ।


यस्तै ओपनर विनोद भण्डारीले २३ र पुनित मेहराले १३ रन बनाउनुभयो । आरिफ शेखले र कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित समान २४–२४ रन बनाउनुभयो । 

बलिङमा चितवनका सैफ जइबले दुई विकेट लिनुभयो । रन्जित कुमार र जर्ज स्क्रिमशाले एक एक विकेट लिनुभयो । 

१७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर १ बलमा १२० रन बनाउँदै अलआउट भएको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाउनुभयो । देव खनालले २८ रन जोड्दा अर्जुन साउदले १६ र कप्तान कुशल मल्लले १५ रन थप्नुभयो । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । 

चितवनलाई सस्तैमा समेट्न सुदूरपश्चिमका लागि पुनित मेहराले तीन विकेट लिनुभयो भने कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, इशान पाण्डे र अविनास बोहोराले एकएक विकेट हात पर्नुभयो ।