• २५ वैशाख २०८३, शुक्रबार

गीत-सङ्गीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ : राष्ट्रपति

blog

सम्मानित कलाकारका साथमा राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौँ, वैशाख २५ गते । राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार, सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ । नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह–२०८३ लाई सम्बोधन गर्दै उहाँले हामीलाई एउटै सूत्रमा बाँध्ने तत्व हाम्रो कला, साहित्य र सङ्गीत हो भन्नुभयो । 

कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्‍याउने पनि राष्ट्रपति पौडेलको भनाइ थियो । 

राष्ट्रपति पौडेलले सङ्गीतको शक्ति अपरम्पार रहेको भन्दै यो साझा भाषा, सम्पत्ति र राष्ट्रिय पहिचानको आधार पनि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो–‘‘बहुजाति, बहुभाषा, बहुसंस्कृति र अनुपम भौगोलिक विविधता रहेको हाम्रो देशमा साहित्य, कला, गीत, सङ्गीत आपसमा प्रेम, मित्रता र भ्रातृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार हो ।’’


उहाँले नेपाली सङ्गीतको विकासमा परम्परा र आधुनिकताको सन्तुलन कायम गर्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको भन्दै परम्परागत धुन, लय र शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीन प्रयोगमार्फत नयाँ सिर्जना गर्नु आजका सर्जकहरूको चुनौती र अवसर दुवै भएको बताउनुभयो । 

राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विविध पक्षलाई अभिव्यक्त गर्ने सामथ्र्थ  रहेको गीतसंगीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कञ्जुस्याइ गर्न नहुने भन्दै सभ्य र सुसंस्कृत समाजको एउटा परिचायक पनि भएको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘त्यसैले स्रष्टाको सम्मान, संस्कृतिको संरक्षण र गीतसङ्गीतको विकासका लागि सरकार र सम्बद्ध पक्षले सदैव सहयोग गर्नुपर्दछ ।’

उहाँले नेपाली लोक भाका पछ्याउँदै आधुनिक गीतसङ्गीतको सिर्जनामा नातिकाजीले पुर्‍याउनुभएको योगदान अनुकरणीय रहेको बताउदै भन्नुभयो, ‘नातिकाजीका सिर्जनाहरूमा रहेको चेतना, प्रेम, देशभक्ति र मानवीय संवेदनाका अनुभूतिले उहाँलाई नेपाली गीतसङ्गीत प्रेमीहरूको माझ सदैव अमर बनाइराखेको छ । विशेषत उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमि प्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको छ ।’’