• २५ वैशाख २०८३, शुक्रबार

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

blog

दुर्घटनामा परेको ट्याक्टर । तस्बिरः शंकर केसी

शंकर केसी

सल्यान, वैशाख २५ गते । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । जिल्लाको दार्मा गाउँपालिका –२ भुसखोलास्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

शुक्रबार दिउँसो करिब १ः३० बजे फारुलाचौरबाट भुसखोलातर्फ जाँदैगरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका –२ निवासी ग्वाजो कामीका १७ वर्षीय छोरा प्रदीप विक गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्यचौकी दार्मामा लगिएको थियो । स्वास्थ्यकर्मीले उहाँलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनामा सोही स्थानका १७ वर्षीय टेकबहादुर विक सामान्य घाइते हुनुभएको छ। उहाँको शरीरका विभिन्न भागमा चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै, २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ। उहाँको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय दार्मा, सल्यानबाट प्रहरी सहायक निरीक्षक बुद्धी साउँदको कमाण्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो । साथै थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक देवराज भट्टराईको कमाण्डमा पाँच जना प्रहरी खटिएको प्रहरीले जनाएको छ।