• १८ मङ्सिर २०८२, बिहिबार

प्रधानमन्त्री कार्कीद्वारा शुक्रबार सर्वपक्षीय बैठक आह्वान

blog

प्रधानमन्त्री सुशीला कार्की । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौँ, मङ्सिर १८ गते । प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उहाँले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री कार्कीले सो बैठकमा जेनजी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गर्नुभएको छ । आगामी फागुन २१ गतेको निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकावाला पक्षसँग निरन्तर छलफल गर्दैआएको छ । 

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले निर्वाचन केन्द्रित गतिविधिमा सक्रियता जनाएका छन् ।