• १० साउन २०८२, शनिबार

विश्वसनीयताको कसीमा ‘गोरखापत्र’

blog

किन त युगसाक्षी ? 

एक सय चौबिस वर्षअघि प्रकाशन आरम्भ भएको गोरखापत्र समाचारपत्र मात्र नभई नेपालको एउटा ‘ल्यान्डमार्क’ पनि हो । देशको आर्थिक, सामाजिक, सांस्कृतिक र भूराजनीतिक परिवेशको जीवन्त साक्षी हो । राणा शासनदेखि गणतन्त्र युगसम्मको सतिसाल हो गोरखापत्र । सामान्य पाठकका लागि गोरखापत्र एउटा अखबार मात्रै होला तर नेपालको समग्र राजनीतिक, आर्थिक एवं सांस्कृतिक परिवेश नियाल्ने हो भने यो देशको मुहार झल्कने ऐना पनि हो । नेपालको राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको जिउँदो इतिहास हो । नेपालको इतिहासमा गोरखापत्रले कस्तो भूमिका निर्वाह गर्‍यो; त्यो सबैको चासो र रुचिको विषय नहोला । खास गरी नयाँ पुस्ताले त यसबारे जानकारी नै नराखेको हुन सक्छ । 

इतिहास त इतिहास नै हो, शताब्दी पार गरी द्विशताब्दीको चौथाइ वर्ष पार हुन लागिसक्दासमेत गोरखापत्रबारे नयाँ पुस्तालाई जानकारी दिनुपर्ने सन्दर्भ आफैँमा अनौठो हुन सक्छ । हो, त्यसैले कहिलेकाहीँ आफ्नो इतिहास आफैँ लेखिन्छ । अहिले त्यो घडी आएको छ । त्यसैले त गोरखापत्रले सबै पक्ष समेट्ने गरी स्मारिका प्रकाशन गरेको हो । आफ्नाबारे जानकारीमूलक दस्ताबेज तयार गर्दा वर्तमान मात्रै होइन, भावी पुस्ताले पनि जीवन्त इतिहासबारे जान्ने र बुझ्ने अवसर पाउनेछन् भन्ने हाम्रो निष्कर्ष हो । 

अहिलेको संस्थान व्यवस्थापनमा पहिलेदेखि नै यो हुटहुटी थियो । खास गरी कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र महाप्रबन्धक लालबहादुर ऐरीको विशेष जोडबलले यो अभियान आज आएर सार्थक बनेको छ । भावी पुस्ताका लागि समेत जानकारीमूलक सन्देश दिन एउटा स्मारिका तयार गरौँ भन्ने सोचलाई मूर्तरूप दिन सम्पादकीय विभागले समेत विशेष उत्साह जगायो । पत्रकारिता क्षेत्रमै लामो अनुभव हासिल गरेका अध्यक्ष सुवेदी र महाप्रबन्धक ऐरीले नै रुचि देखाएपछि संस्थान सम्पादकीय विभाग पुलकित हुनु स्वाभाविक हो । त्यही आधारमा प्रस्तुत स्मारिकाको खाका तयार गरिएको थियो । संस्थान नेतृत्वको अवधारणालाई साकार पार्न र आकार दिन साझा प्रयत्न गरियो, फलतः यो उपलब्धि हात लागेको छ । अहिले हामीसँग एउटा विशेष सामग्री तयार भएको छ, जो भावी पुस्ताका लागि शोधको फराकिलो आधार हुन सक्छ । 

आज कतिपयले गोरखापत्र केवल एउटा पत्रिका, त्यो पनि सरकारी स्वामित्वमा प्रकाशित मिडियाका रूपमा बुझ्छन् । स्वाभाविक हो, गोरखापत्र देशको सबैभन्दा बुढो अखबार हो । सामान्य रूपमा गोरखापत्रको परिचय यत्ति नै हुन सक्छ तर गोरखापत्र फगत एउटा अखबार मात्र होइन, यो त नेपालको साङ्गोपाङ्ग इतिहासको जीवन्त साक्षी पनि हो । आजभन्दा १२५ वर्षअघि राणा शासनका बखत प्रकाशित गोरखापत्रले नेपालका हरेक खाले उतारचढावलाई आफ्नो कायामा ढलोट गरेको छ । नेपालको हरेक आरोहअवरोहको दस्ताबेज गोरखापत्रका पानामा कुँदिएका छन् । त्यसैले यो नेपाल र नेपालीको साझा पहिचान अनि ‘ल्यान्डमार्क’ बनेको छ । 

दक्षिण एसियाली मुलुककै पुरानोमध्येको एउटा अखबार हो गोरखापत्र । नेपाली पत्रकारिता जगत्को त मुख्य पाठशाला नै हो भन्दा फरक पर्दैन । आज पनि पत्रिका भनेकै गोरखापत्र हो भन्ने पुस्ता जीवितै छ । नयाँ पुस्ताका लागि यो पत्रिका मात्र हो भन्ने जुन भाष्य निर्माण गर्न खोजिएको छ, त्यसलाई सच्याउन वा बदल्न पनि गोरखापत्रको योगदानका विषयमा दस्ताबेजीकरण जरुरी थियो । आफ्नाबारे आफैँ बखान गर्नु सामान्यतः राम्रो मानिन्न तर कतिपय विषय भने भन्नैपर्ने हुन्छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक अनि सांस्कृतिक उन्नयनका लागि गोरखापत्रले खेलेको भूमिकालाई कम आँक्न मिल्दैन । त्यो यथार्थको दस्ताबेजीकरण आवश्यक हुन्छ । नयाँ पुस्तालाई यसबारे यथेष्ट जानकारी दिन पनि दस्ताबेजीकरण आवश्यक ठानिएको हो । त्यही अभिप्रायले गोरखापत्रले १२४ वर्ष पुगेको सुअवसरमा आफ्नो पहिचान र परिचय लिपिबद्ध गर्न विशेष स्मारिका प्रकाशन गरेको हो । 


पहिलो प्रेस कानुन सनद 

गोरखापत्रले आफ्नाबारे किन लेख्नु पर्‍यो भन्ने मानिसले भन्न सक्छन् । यद्यपि गोरखापत्र र यसका प्रकाशनको योगदान र भूमिकाबारे अरूले नलेखेका होइनन् । धेरै वटा शोध नै तयार छन् । ती सामग्री सर्वसाधारणको पहुँचबाहिर छन् । सबैका लागि सहज र सर्वसुलभ होस् भनेरै गोरखापत्र संस्थान आफैँले एउटा विशेष सामग्रीको सँगालोका रूपमा यो पुस्तिका प्रकाशन गरेको हो । यसले गोरखापत्र र सहप्रकाशनको इतिवृत्तान्त कहेको छ । तत्कालीन श्री ३ देवशमशेर राणाले १९५८ साल वैशाख २४ गते साहसिक र क्रान्तिकारी कदम चाल्दै ‘गोर्खापत्र’ छाप्ने आँट गरे । के प्रयोजनका लागि पत्रिका छाप्ने भनेर सनदमार्फत प्रस्ट पारिएको पनि थियो । ‘गोर्खापत्र’ प्रकाशन गर्नुअघि १९५८ वैशाख ११ गते सनद जारी गरिएको थियो । त्यसमा आफ्नो प्रशस्ति नछाप्नेलगायतका धेरै विषय थिए । यसलाई नेपाली पत्रकारिता क्षेत्रको पहिलो प्रेस कानुन वा पत्रकार आचारसंहिता मानिन्छ । 

आधिकारिक र विश्वसनीय 

निरङ्कुश राणातन्त्रका बेला जनतालाई सूचना दिन ‘गोर्खापत्र’ प्रकाशन हुनु आफैँमा क्रान्तिकारी कदम थियो । अहिले पनि नेपालको सबैभन्दा विश्वसनीय र आधिकारिक पत्रिकाको पगरी गोरखापत्रले नै गुथिरहेको छ । अन्यत्र जेसुकै प्रकाशित भए पनि त्यो समाचार गोरखापत्रमा नआएसम्म न त्यसलाई आधिकारिक मानिन्छ न त विश्वासयोग्य नै । त्यो समाचार गोरखापत्रले छाप्यो त ? पाठकले अहिले पनि यो प्रश्न गर्छन् । यो नै गोरखापत्रको पुँजी हो । 

यही सन्दर्भमा एउटा घटनाक्रम जोड्नु यहाँनेर सान्दर्भिक होला । २०६७ वैशाख ७ गते एउटा ‘ब्रोडसिट’ अखबारमा सनसनीपूर्ण समाचार आयो, जुन नेपाली पत्रकारिता इतिहासमा अनुजा बानियाँ काण्ड भनेर चिनिन्छ । अखबारहरूमा ९१ लाख रुपियाँलगायत बहुमूल्य सामग्री भेट्टाएर फिर्ता गरेको फेक न्युज आयो । घटना थियो धरानको । समाचार लेख्ने रिपोर्टर पनि सज्जन थिए । उनको समाचार उच्च महत्वका साथ प्रकाशित भयो । लगत्तै अरू मिडियामा पनि धमाधम आए । त्यसबखत पङ्क्तिकार जिल्ला स्ट्रिन्जर ब्युरोको प्रमुख थियो । प्रधान सम्पादकले सबै मिडियाले दिइसक्दा पनि गोरखापत्रले प्रकाशन गर्न नसकेको भन्दै तातो लगाउँथे तर समाचार पुष्टि गर्ने कुनै आधिकारिक स्रोत थिएन । 

यसैबिच तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले अनुजालाई फोन गरेर स्याबासी दिनुभयो । बिबिसीलगायत राष्ट्रिय/अन्तर्राष्ट्रिय सम्मानित मिडियाले उच्च प्राथमिकतासाथ समाचार सम्प्रेषण गरे । गोरखापत्रले गरेन । केही दिन बित्यो, पछि सबैले चाल पाए, त्यो त फेक न्युज पो रहेछ । गोरखापत्रले पनि अरूकै सिको गरेको भए समाचार छाप्न सक्थ्यो तर छापेन किनभने पुष्टि गर्ने कुनै स्रोत थिएन । उक्त समाचार ब्रेक गर्ने पत्रकारले पछि आफू चुकेको भन्दै पाठकसँग क्षमायाचना नै गरे । 

सबैको पहुँच भएको अखबार 

आज प्रविधिले प्रिन्ट मिडियाको पहुँच र उपस्थिति खुम्च्याइदिएको छ । यो अवस्था संसारभरि नै उस्तै छ । नेपाल पनि यसबाट अछुतो रहने कुरा भएन । गोरखापत्र भने अहिले पनि देशका हरेक कुनाकाप्चामा उपलब्ध छ । भनेको समयमा नपुग्ने समस्या होला, ढिलै भए पनि सर्वत्र यसको पहुँच छ । धेरै पत्रिका छाप्दा आर्थिक रूपमा घाटा हुन्छ । सामाजिक उत्तरदायित्व पूरा गर्न पनि गोरखापत्रले देशका सबै ठाउँमा आफ्नो उपस्थिति देखाइरहेको छ । विचार निर्माणमा समेत गोरखापत्र सधैँ अब्बल र अग्रगामी छ । नेपालबारे यथार्थ र वास्तविक सूचना प्राप्त गर्न अहिले पनि विश्व समुदायले गोरखापत्र र यसका सहप्रकाशनप्रति नै भर पर्ने अवस्था छ । यही यथार्थको दस्ताबेजीकरणका लागि यो प्रयास गरिएको हो । प्रारम्भदेखि नै गोरखापत्रले राष्ट्रिय एकता र जनजागरणका निम्ति नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । भाषिक एकता, विविधताको सम्मान र सबै नेपालीलाई एकाकार गर्ने जिम्मेवारी र दायित्वबोध गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो । 

आचारसंहिताको अगुवा 

पत्रकार आचारसंहिता लागु गर्ने पहिलो प्रकाशनगृह हो गोरखापत्र । ‘गोर्खापत्र’ प्रकाशनअघि जारी भएको सनदमा ‘गोर्खापत्र’ किन र के प्रयोजनका लागि प्रकाशित गर्ने भन्ने विषय उल्लेख छ । सनदमा के के सामग्री प्रकाशन गर्ने/नगर्ने भन्ने विषय बुँदागत रूपमै प्रस्ट्याइएको छ । सायद यो नै नेपाली पत्रकारिता क्षेत्रको पहिलो पत्रकार आचारसंहिता होला । पेसाकर्मीले आफ्नो पेसाको मर्यादा कायम राख्नु नै आचारसंहिताको पालना हो । राज्यको चौथो अङ्ग मानिने पत्रकारिता आफैँ जिम्मेवार बनेन भने विकृति र विसङ्गतिका चाङ लाग्छन् नै । अरूका गल्ती कमजोरी औँल्याउने मात्रै होइन, आफूले पनि गल्ती नगर्ने ल्याकत राख्न सके पत्रकारिता मर्यादित र जिम्मेवार हुने हो । 

अमेरिकामा पहिलो पटक सन् १९२३ मा आस्ने (अमेरिकन सोसाइटी अफ न्युजपेपर्स इडिटर्स) ले सातबुँदे ‘क्यानोन अफ जर्नालिजम’ जारी गर्‍यो । त्यसलाई विश्वकै पहिलो व्यवस्थित पत्रकार आचारसंहिता मान्दै गर्दा नेपालमा सन् १९०१ मा नै सनद जारी भएको विषय हामीले उठाउन सकेनौँ । गोरखापत्रले नेपाल मात्र नभई विश्व रङ्गमञ्चमा समेत प्रभावशाली उपस्थिति देखाएको छ, पत्रकार आचारसंहिता जारी गर्ने सन्दर्भमा । यद्यपि यो विषयले धेरै चर्चा भने पाउन सकिरहेको छैन । तैपनि गोरखापत्रले निर्वाह गरेको मुख्य भूमिकालाई बुँदागत रूपमा चर्चा गर्नु उचित र सान्दर्भिक नै होला । 

ऐतिहासिक महत्व : नेपालमा पहिलो समाचारपत्रको पहिचानसहित आएको यो अखबारले ऐतिहासिक महत्व बोकेको छ । इतिहासका हरेक आरोहअवरोहको जिउँदोजाग्दो इतिहासका रूपमा रहेको गोरखापत्र राणाकालदेखि अहिलेको लोकतान्त्रिक गणतन्त्रसम्म गतिशील छ । 

सरकारको भरपर्दो साथी : गोरखापत्रलाई कतिपयले सरकारको मुखपत्र भन्छन् तर यो जनताको मुखपत्र हो किनभने यसले जनता र सरकारबिच सेतुको भूमिका खेल्दै आएको छ । सरकारले गरेका कामको सकारात्मक पक्ष जनसमक्ष पुर्‍याउने र जनताका पीरमर्का सरकारलाई सुनाउने दायित्व र भूमिकामा गोरखापत्र समर्पित छ । सही सूचना दिने काम गोरखापत्रले गर्दै आएको छ । घृणा, आक्रोश र आवेश फैलाउने कामबाट गोरखापत्र सधैँ मुक्त छ । त्यसैले गोरखापत्रलाई सरकारको भरपर्दो साथी भनिएको हो । 

सांस्कृतिक र शैक्षिक चेत : गोरखापत्रले देशको सांस्कृतिक विविधता र शैक्षिक उन्नयनमा अग्रणी नेतृत्व गर्दै आएको सबैलाई ज्ञात भएकै विषय हो । नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्धन र संवर्धनका लागि गोरखापत्र सजग र संवेदनशील छ । आर्थिक रूपमा घाटा सहेरै पनि यसले देशमा बोलिने झन्डै चार दर्जन भाषामा सामग्री प्रकाशन गर्दै आएको छ । राणाकालदेखि नै नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि गोरखापत्रले लगाएको गुन कसैले बिर्सन सक्दैन । नेपाली जनतालाई साक्षर बनाउनसमेत गोरखापत्रले भूमिका निर्वाह गरेको छ । देशका मूर्धन्य साहित्य सर्जकको भरपर्दो चौतारीका रूपमा गोरखापत्रले स्थापनाकालदेखि नै गर्विलो स्थान प्राप्त गरेको छ । राजनीतिक चेत र आर्थिक समृद्धिको बलियो आधारशिला पनि यही माध्यमले खडा गरेको छ । यो नेपाल र नेपालीका लागि साँच्चै नै गर्व गर्नलायक विषय हो । 


जनमत तयार गरी एजेन्डा सेटिङ : पछिल्ला वर्षमा गोरखापत्र नागरिककेन्द्रित छ । यसले उठाउने मुद्दा जनताको विषयमा बढी सरोकार राख्ने खालका छन् । महत्वपूर्ण विषयमा जनमत तयार गर्ने र एजेन्डा सेटिङमा गोरखापत्र अब्बल साबित भएको छ । विभिन्न मञ्चमा गोरखापत्रले उठाएका मुद्दा र विषयले पारेको प्रभावबारे चर्चा हुने गरेको छ । गोरखापत्रमा प्रकाशित समाचार, लेखरचना तथा सम्पादकीय जनसरोकारमा निहित रहेको प्रतिक्रिया पाठकले नै दिने गरेका छन् । त्यसैले गोरखापत्र सबैको खोजिने अखबारमा परेको छ । यसका ‘डिजिटल प्लाटफर्म’ मा सर्वसाधारणको प्रवेश पनि लोभलाग्दो छ । गोरखापत्रले उठाएका विषयले राष्ट्रिय मुद्दाको रूप लिएका उदाहरण प्रशस्त पाइन्छन् । 

सङ्ग्रहणीय प्रकाशन : गोरखापत्रका हरेक अङ्क विशेष छन् । अनुसन्धानकर्ता, विषयविज्ञ हुन् वा विद्यार्थी/परीक्षार्थी; सबैको प्रिय प्रकाशन बनेको छ गोरखापत्र । चाहे विविध भाषाका विषय हुन् वा लोक सेवाका परीक्षार्थी; सबैले गोरखापत्रलाई शिरमा राखेर अध्ययन गर्ने गरेका छन् । ठुला पुस्तकालयदेखि सामान्य सङ्ग्रहालयमा समेत गोरखापत्रले आफ्नो उपस्थिति सुरक्षित बनाएको छ । जहाँसम्म यसको ‘डिजिटल अर्काइभिङ’ को सन्दर्भ छ, अहिले १२४ वर्षकै लगभग सबै अङ्क तयार भएका छन् । यसका लागि धेरै मेहनत गरिएको छ । केही समयपछि गोरखापत्रका पुराना अङ्क सर्वसाधारणको पहुँचमा पु¥याउने तयारी व्यवस्थापनले गरेको छ । यसले गोरखापत्रको पहुँच र प्रभाव विस्तार हुने विश्वास गरिएको छ । 

प्रभावकारी ‘डिजिटल प्लाटफर्म’

गोरखापत्रले आफूलाई युग सुहाउँदो बनाउँदै छ । आजको जमाना प्रिन्टभन्दा डिजिटल बढी प्रभावकारी मानिन्छ । त्यसैले त गोरखापत्रले स्मार्ट गोरखापत्रको अवधारणालाई केन्द्रमा राखेको छ । गोरखापत्रको डिजिटल उपस्थिति अझै उत्साहप्रद छ । मल्टिमिडियाको प्रयोगमार्फत तयार सामग्री उपयोगी र प्रभावशाली बनेका छन् । दैनिक करिब साढे आठ लाखले गोरखापत्र ‘डिजिटल प्लाटफर्म’ को प्रयोग गरेको पाइन्छ । यो सबै ‘अर्गानिक’ हो । ‘बुस्टिङ’ गर्ने प्रवृत्ति र सोचबाट गोरखापत्र मुक्त छ । इन्टरनेट युगको सुरुवातसँगै गोरखापत्रले आफ्नो ई पेपर र वेबसाइटमार्फत समाचार सम्प्रेषण गर्दै छ । सामाजिक सञ्जालले पनि गोरखापत्रको पहुँच विस्तारमा सघाउ पु¥याइरहेको छ । 

मोबाइल एप्स, इमेल न्युजलेटर, मल्टिमिडिया कन्टेन्ट (भिडियो पोडकास्ट) र डाटा पत्रकारितासँगको सामीप्यताले गोरखापत्र युवापुस्ताबिच लोकप्रिय बन्दै छ । 

अन्त्यमा, गोरखापत्रले आफ्नो पहिलो शताब्दीमा हासिल गरेको उपलब्धि प्रशंसनीय छ । द्विशताब्दीमा अझै प्रगति गर्ने विश्वास गरिएको छ । १२४ बर्से गौरवशाली इतिहासको धरोहरलाई ‘मल्टिप्लाटफर्म मिडिया’ मार्फत छापा र डिजिटल दुवैमा आफूलाई उम्दा साबित गर्नु छ । आगामी दिनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ र ‘भर्चुअल रियालिटी’ जस्ता पक्षलाई सँगसँगै लिएर परम्परागत र नवीनताको सन्तुलन कायम गर्नुपर्ने चुनौती छ । यो कसैको एक्लो प्रयासबाट सम्भव हुने विषय होइन, यसका लागि सामूहिक प्रतिबद्धता र एकताको खाँचो छ । 

प्रस्तुत आलेख ‘विश्वसनीयताको कसीमा ‘गोरखापत्र’ ’ गोरखापत्र प्रकाशनको १२५ वर्ष प्रवेश अर्थात् शताब्दी रजतका अवसरमा २०८२ वैशाख २४ गते विमोचित ‘युगसाक्षी’ मा प्रकाशित भएको हो । यस आलेखको सर्वाधिकार गोरखापत्र संस्थानमा छ ।

Author
शिवकुमार भट्टराई

उहाँ गोरखापत्र दैनिकको पूर्व नि. प्रधानसम्पादक हुनुहुन्छ ।