• १० मंसिर २०८१, सोमबार

छिङ्घाईबाट नियाल्दा

blog

संसारकै ठुलो जनसङ्ख्या र भीमकाय भूगोलमा फैलिएको चीनमा विविधता छ । त्यही देशको एउटा प्रान्त छिङ्घाई आफैँमा विशाल छ । यहाँको भूगोल भने अलि भिन्न छ । पश्चिम चीनको तिब्बती प्लेटोमा पर्ने यहाँको भूगोल नेपालको मनाङ र मुस्ताङसँग मिल्दोजुल्दो छ । 

जनगणतन्त्र चीन स्थापनाको हीरक जयन्ती अर्थात् ७५ औँ वर्षगाँठ भर्खरै सम्पन्न भएको छ । १ अक्टोबर १९४९ मा माओत्से तुङ नेतृत्वमा चीनले सांस्कृतिक क्रान्ति पूरा गरेको थियो । त्यसपछि स्थापित आधुनिक चीनले कठिन चुनौती र विशाल अवसर सँगसँगै प्राप्त गर्‍यो । आज विश्व मानचित्रमा सर्वशक्तिमान राष्ट्रको सूचीमा रहेको अमेरिकालाई हायलकायल गर्ने अवस्थामा उक्लिएको चीनको सफलताको कथा त्यसै कथिएका होइनन् । सांस्कृतिक क्रान्तिको बलमा उदाएको नयाँ चीनलाई सन् १९७८ पछि देङ साउओ पिङले आर्थिक प्रगतिको नयाँ उचाइमा पुर्‍याए । चीनसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापित भएको पनि आउँदो वर्ष ७० वर्ष पुग्दै छ । 

चीनले आफूलाई पछौटे राष्ट्रबाट आजको समृद्धशाली स्थितिमा पुर्‍याउन ठुलै सङ्घर्ष गरेको छ । चीनबाट सिक्ने कुरा नेपालका लागि धेरै छन् । नेपाल र चीन हिमाल र नदीले जोडिएका असल छिमेकी हुन् । लामो कूटनीतिक सम्बन्ध मात्र होइन, भृकुटी र स्रङचङ गम्पोदेखिको इतिहासको विरासत हामीसँग छ । चीनको आकासिँदो आर्थिक प्रगतिसँगै सञ्चालनमा आएको बिआरआई परियोजना अहिले विकासशील मुलुकका लागि अवसरका रूपमा स्थापित हुँदै छ । सन् २०१७ देखि नै नेपाल पनि बिआरआई छातामा ओत लाग्न थालिसकेको छ । 

संसारकै ठुलो जनसङ्ख्या र भीमकाय भूगोलमा फैलिएको चीनमा विविधता छ । त्यही देशको एउटा प्रान्त छिङ्घाई आफैँमा विशाल छ । यहाँको भूगोल भने अलि भिन्न छ । पश्चिम चीनको तिब्बती प्लेटोमा पर्ने यहाँको भूगोल नेपालको मनाङ र मुस्ताङसँग मिल्दोजुल्दो छ । गत महिना १० जना नेपाली लेखक र पत्रकारले त्यहाँको अवलोकन गर्ने अवसर पाए । सो प्रान्तमा सम्पदाको खानी नै रहेछ । अग्ला हिमाल र उँचो भूभागले ढाकिएको उक्त तिब्बती पठारमा भएको प्रगतिले विश्वलाई नै अचम्मित पारेको छ । यहाँको झन्डै ८० प्रतिशत भूभाग समुद्री सतहभन्दा तीन हजार मिटर उचाइमा रहेको छ । चार हजार मिटरभन्दा माथिको भूगोलमा समेत मानव बस्ती रहेको छ ।


चीनको सङ्घीय सरकारले यो प्रान्तमा बसोबास गर्ने करिब ६० लाख मानिसलाई धार्मिक, सांस्कृतिक र आर्थिक रूपले समेत एकाकार गर्ने प्रयत्न गरिरहेको छ । चीनमा झन्डै ९२ प्रतिशत हान समुदायको बसोबास छ । बाँकी ५५ जाति अल्पसङ्ख्यक छन् । छिङ्घाई प्रान्त मुख्यतः तिब्बती हुई, तु, सलार र मङ्गोलियनको साझा फूलबारीका रूपमा रहेको छ । पर्यावरणीय सन्तुलन, आर्थिक प्रगति र सांस्कृतिक सम्पदाको अनुपम छटाका रूपमा रहेको छिङ्घाईमा सामाजिक एकताको बेजोड नमुना देख्न पाइन्छ । धर्मनिरपेक्षतालाई समेत चीनले उच्च सम्मान गरेको छ । यो प्रदेशमा तिब्बतियन बौद्ध मठ र गुम्बा, हान समुदायको बौद्ध विहार, हान मुसलमान समुदाय अन्तर्गत सलार अनि ताओ धर्मावलम्बी मिलेर बसेको पाइन्छ । अल्पसङ्ख्यकप्रति बेइजिङ अनुदार छ भन्ने पश्चिमा मिडियाले खडा गरेको भाष्य सही नभएको अनुभूति गरियो । 

याङ्गसी, ह्वाङ हो (यल्लो) र लान्चाङजस्ता ठूला नदीको उद्गम पनि यही भूगोल भएकाले छिङ्घाईलाई पानीको छत भन्ने गरिन्छ । जीव तथा जलवायु सन्तुलन र संरक्षणका क्षेत्रमा भएका काम विचित्रको छ । १३ हजार वर्गकिलोमिटर क्षेत्रमा त नुनको खानी मात्रै छ । विश्वकै ठुलो हिमलात ‘छिङ्घाई ताल’ यहीँ पर्छ । जलविद्युत्, सौर्य ऊर्जा र वायु ऊर्जाको उत्पादन विश्वकै लागि उदाहरणीय छन् । कृषि, पशुपालन र परम्परागत सामग्री उत्पादनमा अग्रणी रहेको यो प्रान्तलाई बहुजाति र बहुसंस्कृतिको अनुपम सङ्गम मानिन्छ । पङ्क्तिकारले सन् २०१३ मा चीनको बेइजिङ, साङ्घाईलगायतका सहर भ्रमणको अवसर पाएको थियो । त्यसबखत चिनियाँ प्रगतिको भौतिक स्वरूप अवलोकन गरिए पनि भौगोलिक, सांस्कृतिक र सामाजिक पक्षलाई नजिकबाट नियाल्ने अवसर पाइएको थिएन । छिङ्घाई प्रान्तको १० दिने भ्रमणले चिनियाँ विकासको जग र मोडलबारे जान्ने, बुझ्ने र अनुभव गर्ने अवसर पाइयो । 

सिनिङ सहर

छिङ्घाई प्रान्तको राजधानी हो– सिनिङ सहर । समुद्री सतहभन्दा करिब दुई हजार तीन सय मिटरको उचाइमा रहेको यो सहरको इतिहास २१ सय वर्ष पुरानो छ । सिनिङ सहर आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यभित्र पर्छ । झन्डै २५ लाख मानिस यो सहरमा बसोबास गर्छन् । यहाँ मुख्यतः गहुँ, जौ, मास, गेडागुडी, आलु, सूर्यमुखी र बकुल्ला जातका अन्न उत्पादन हुने गर्छ । साथै आल्मुनियम र सौर्य ऊर्जा उत्पादनमा समेत यसको ठुलो योगदान छ । सधैँ चिसो हुने यो सहरलाई धेरैले ‘कुल सिटी’ भन्ने गर्छन् । यहाँका बासिन्दामा काम गर्ने जाँगर छ । प्रविधिले धेरै पक्षलाई जोडेको छ । 

ट्रिना सोलार 

सौर्य ऊर्जा उत्पादनमा विश्वमै प्रख्यात मानिने ट्रिना कम्पनीले यहाँको भूगोलको राम्रो उपयोग गरेको छ । सौर्य ऊर्जा उत्पादन र भण्डारणमा यो कम्पनीको ठुलो योगदान छ । शून्य कार्बन उत्पादनको लक्ष्यसाथ क्रियाशील यो कम्पनी सन् १९९७ मा स्थापना भएको हो । झन्डै ३० हजार मानिसलाई रोजगारी दिने यो कम्पनीले छिमेकी देश थाइल्यान्ड र भियतनाममा पनि उत्पादन थालेको छ । विश्वका १७० मुलुकमा यसको उत्पादन र वितरणको सञ्जाल फैलिएको छ । निजी क्षेत्रबाट लगानी गरिएको यो चीनकै मुख्य ऊर्जा उत्पादकमा पर्छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम यसको उत्पादन लोकप्रिय रहेको दाबी गरिएको छ । 


सेन्ग्युआन कार्पेट

परम्परागत गलैँचा उत्पादनको क्षेत्रमा सेन्ग्युआन अलग ब्रान्ड हो । चीनका विभिन्न सहर तथा युरोपेली बजारमा यसको माग अत्यधिक छ । छिङ्घाई प्रान्तका भेडाका गुणस्तरीय ऊनबाट तयार गरिने गलैँचा लोभलाग्दा छन् । सन् २००७ मा निजी क्षेत्रबाट स्थापित यो कारखानाले ठुलो प्रगति गरेको छ । यहाँ तिब्बतियन परम्परागत गलैँचा हातबाटै तयार गरिन्छ । एउटा गलैँचा तयार गर्न महिनौँ लाग्ने बताइएको छ । चीनका ठुला तारे होटल र सरकारी भवनमा यसकै उत्पादन प्रयोगमा आउने गरेको छ । केही महिनाअघि मात्रै चिनियाँ कम्युनिस्ट पार्टीको सम्पन्न महाधिवेशन हलमा समेत यहीँको गलैँचा प्रयोग गरिएको थियो । धेरैजसो उत्पादन युरोप, अमेरिका निर्यात हुने गरेको छ । हजारौँ कामदारले यहाँ रोजगारी पाएका छन् । 

भाषा संरक्षणको पहल

चीनमा विभिन्न ५५ जातजातिबिच घनिष्ठ सम्बन्ध छ । राष्ट्रपति सि जिन पिङले सबै जनजाति र भाषाभाषीलाई एकताको सूत्रमा बाँध्न विशेष पहल गर्नुभएको स्थानीयको भनाइ छ । त्यही प्रयोजनका लागि छिङ्घाईमा विभिन्न भाषामा बनेका सिनेमा र टेलिभिजन कार्यक्रिमलाई स्थानीय भाषामा डबिङ गरी प्रसारण गर्ने उद्देश्यले सन् १९८० मा एउटा केन्द्र स्थापना गरिएको छ । अल्पसङ्ख्यक भाषामा यस्ता कार्यक्रम र सिनेमा डब गरिन्छ । जसले सबैलाई भाषिक र सांस्कृतिक एकतामा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । यहाँ धेरैजसो तिब्बती भाषामा सिनेमा र टेलिसिरियल डब गर्ने गरिन्छ । चीनका विभिन्न भाषाभाषीबिच एकआपसको सम्बन्ध सुमधुर बनाउन यो केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । 

होङ्जे गुम्बा

सिनिङ सहरनजिकै चेन्झोङ जिल्लामा होङ्जे गुम्बा छ । तिब्बतियन लामाहरूको आस्थाको केन्द्रका रूपमा रहेको यो गुम्बा आजभन्दा ९४१ वर्षपहिले बनेको हो । मिङ वंशकालमा यसको निर्माण भएको मानिन्छ । पञ्चेन लामा पाँचौँदेखि १० औँसम्मले यहीँबाट ज्ञान बाँडेको बताइएको छ । नेपाली शैलीमा निर्मित यो गुम्बामा राष्ट्रपति सि जिङ पिङले पटक पटक भ्रमण गर्नुभएको छ । यो गुम्बाले चीनमा तिब्बती संस्कृति र धर्मलाई उच्च सम्मान प्रदान गरेको प्रतीत हुन्छ । सबै धर्ममा आस्था राख्नेले यसको अवलोकन गर्ने गरेका छन् । 

सिनिङ डनग्गुआन मस्जिद

सिनिङ सहरमा मुसलमानको पनि उल्लेख्य बस्ती छ । यो भेगमा धेरैजसो मुस्लिमको बसोबास छ । झन्डै १२ लाख मुसलमान धर्म मान्ने यो सहरमा बस्छन् । स्थानीयको भनाइमा यो झन्डै एक हजार वर्षअघि सङ वंशले स्थापना गरेको मस्जिद हो । यहाँ प्रयोग भएका शैली पश्चिमा, चिनियाँ र आधुनिकताको सम्मिश्रण रहेको छ । पुरानो मस्जिद आगलागीमा ध्वस्त भएपछि सन् १९०९ मा पुनर्निर्माण गरिएको छ । मस्जिदको छानामा प्रयोग भएको गजुर बौद्ध धर्मसँग मिल्दोजुल्दो देखिन्छ । यहाँ धार्मिक सहिष्णुताका अनुपम उदाहरण देख्न पाइन्छ । 

सांस्कृतिक सङ्ग्रहालय

५० हजार वर्गमिटरमा फैलिएको विशाल सङ्ग्रहालय आकर्षक छ । यहाँ तिब्बती जडीबुटी र प्राचीन चिकित्सा पद्धतिको अद्भुत जानकारी पाइन्छ । चार हजार वर्षअघिको चिकित्सा पद्धतिको बृहत् ज्ञान सङ्ग्रह गरिएको यो ठाउँको आफ्नै महत्व छ । १३ सय वर्षअघि नै मानव खप्परको शल्यक्रिया गर्ने पद्धतिबारेको ज्ञान भण्डार यहाँ पाइन्छ । आधुनिक चिकित्सा विज्ञानको जननी यही नै हो कि भन्ने झझल्को पाउन सकिन्छ । विश्वकै सबैभन्दा लामो थाङ्का यहाँ बनाइएको छ । ६१८ मिटर लामो यो थाङ्कामा विश्वका विभिन्न धर्म, संस्कृति र परम्परालाई आकर्षक शैलीमा जोडिएको छ । नेपालसँग गाँसिएका विभिन्न जानकारी यहाँ रहेको पाइन्छ । सन् १९७२ देखि बनाउन थालिएको यो थाङ्का पूरा गर्न चार सय कलाकारलाई चार वर्ष लाग्यो । चीनका ५६ वटै जातजाति र भाषाभाषीलाई कलाकारले उतारेका छन् । यहाँ १२ वटा प्रदर्शनी हल छन् । यो थाङ्का विश्व गिनिजबुकको कीर्तिमानी राख्नसमेत सफल रहेको दाबी गरिएको छ । 


छिङ्घाई ताल 

छिङ्घाई तालकै नामबाट यो प्रदेशको नामाकरण भएको मानिन्छ । प्रदेश राजधानी सिनिङभन्दा १५१ किलोमिटर टाढा अवस्थित यो ताल आफैँमा अद्भुत छ । चीनकै सबैभन्दा ठूलो नुनिलो तालका रूपमा यसलाई चिनिन्छ । यो ताल पूर्व–पश्चिम १०९ किलोमिटर फैलिएको छ भने ६५ किलोमिटर उत्तर–दक्षिण दिशामा लमतन्न छ । यो तालको औसत क्षेत्रफल चार हजार ५८३ वर्गकिलोमिटर छ । पहिला यो ताललाई सिहाई भन्ने गरिन्थ्यो । ताललाई पर्यावरणीय संरक्षणका लागि वरदानै मानिएको छ । यस भेगको मरुभूमीकरण रोक्न यो तालले मद्दत गरेको छ । तिब्बती प्लेटोको जैविक विविधता जोगाउने मुख्य स्रोतै यही ताल हो । 

भूकम्प स्मारक हल

छिङ्घाई प्रान्तको सबैभन्दा उच्च मानव बस्ती हो– युसु । यो गाउँमा सन् २०१० मा ७.१ रेक्टर स्केलको भुइँचालो गयो । तिब्बतीको बसोबास रहेको यस ठाउँमा गएको भूकम्पले झन्डै तीन हजारको ज्यान लियो भने त्यति नै सङ्ख्यामा घाइते बनायो । तिब्बती संस्कृतिको अनुपम स्वाद रहेको यो ठाउँ आफैँमा आकर्षक छ । भुइँचालोले तहसनहस पारेको क्षेत्र पुनर्निर्माण गर्न धेरै समय लागेन । पुनर्निर्माणमा युसुवासी आफैँ जुटे । अहिले आधुनिक घर बनेका छन् । त्यसैको स्मरणमा एउटा स्मारक हल बनाइएको छ । हाई अल्टिच्युड एरियामा भुइँचालो जाँदा कसरी उद्धार गरियो र कस्तो अवस्था थियो भन्ने स्मरणका लागि उक्त स्मारक हल निर्माण गरिएको हो । कुल पाँच हजार ७७६ वर्गमिटर क्षेत्रमा फैलिएको यस हलमा करिब पाँच सय वर्गमिटर भने प्रदर्शनी हलका रूपमा प्रयोग गरिएको छ । यहाँ अक्षर, अङ्क, चित्र, तस्बिर र भिडियो प्रयोग गरिएको छ । 

नेपालमा पनि सन् २०१५ मा महाभूकम्प गएको थियो । झन्डै १० हजारको ज्यान गयो । हामीले भने त्यसलाई स्मरण गर्ने कुनै सामग्री तयार गर्न नसकेको विषय पनि त्यहाँ चर्चा भएको थियो । यति मात्र होइन युसु सानो गाउँ, जो विदेशीका लागि कुनै पनि दृष्टिले रोजगारी मिल्ने ठाउँ होइन जस्तो लाग्थ्यो । त्यहाँसमेत केही नेपाली कामदारले आकर्षक तलब पाइरहेका छन् । एक जना तिब्बतियन व्यापारी लोसानिगा भन्ने व्यक्तिले उनीहरूलाई नेपालबाट ल्याएर काममा लगाएका रहेछन् । हाल छ जना नेपाली कालीगढका रूपमा कार्यरत छन् । 

चिनियाँ सरकारले नागरिकलाई सुखी बनाउन गरेका काम साँच्चै लोभलाग्दा छन् । उच्च हिमाली भूमिमा समेत किसानलाई खेती गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ । त्यसैमध्येको एउटा गाउँ हो– गोमेरी । गोमेरीवासीको गरिबी निवारणका लागि सरकारले आधुनिक कृषि प्रणाली विकास गरेका छन् । किसानलाई जमिन र प्रविधि उपलब्ध गराएको छ । जसले गर्दा यहाँ फलफूल र तरकारीको राम्रो उत्पादन हुने गर्छ । किसानको उत्पादन सरकारले खरिद गरी स्थानीय र विदेशमा समेत निर्यात गर्ने गर्छ । यहाँको उत्पादनले युरोपेली बजारमा लोकप्रियता पाएको छ । स्थानीय उत्पादन प्रयोग गरी हातैबाट फरक स्वादको रामेन (नुडल) तयार गरिन्छ । उच्च भेगमा उत्पादित जौको पिठो र ओखरको तेलमा स्थानीय मरमसला प्रयोग गरी यस्तो रामेन तयार हुन्छ । अन्यत्रभन्दा फरक स्वादको हुने भएकाले यहाँको रामेन देशैभरि लोकप्रिय छ । अहिले यहाँ उत्पादित रामेन देशका विभिन्न सहरमा सात हजार आउटलेटमार्फत बिक्री वितरण हुने गर्छ । जसले गर्दा स्थानीयको जीवनस्तरै फेरिएको छ । गरिबी निवारणमा यो कोसेढुङ्गो साबित भएको छ । यस्ता धेरै पक्षले नेपाली लेखक र पत्रकारलाई आकर्षित गरेको छ । हामीले पनि चिनियाँ विकास मोडल अनुसरण गर्‍यौँ भने समृद्धिको यात्रामा लम्कन सकिने छ ।