प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता एउटा सिक्काका अलग पाटा हुन् । कुन देशको पत्रकारिताको अवस्था कस्तो छ भन्ने जान्न त्यहाँको राजनीतिक प्रणाली बुझे पुग्छ । अर्थात्, प्रजातन्त्रिक शासन प्रणालीमा मात्रै स्वतन्त्र पत्रकारिताको परिकल्पना गर्न सकिन्छ । यो नितान्त सैद्धान्तिक पक्ष हो तर व्यवहारमा भने परिवेश फरक हुन सक्छ । नेपालमा लोकतान्त्रिक शासन प्रणालीको अभ्यास गरिँदै छ । जनताको भोट पाएका पार्टी वा नेताले सत्ता सञ्चालन गर्न पाउँछन् । संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको छ । व्यवहारमा भने नेपाली पत्रकारिता अझै स्वतन्त्र हुन सकेको छैन । यसका अनेक कारण छन्, त्यसमध्ये मुख्य कारण आर्थिक, राजनीतिक र मनोवैज्ञानिक हुन् । त्यसैले नेपाली पत्रकारिता क्षेत्रले अपेक्षित उचाइ पाउन सकिरहेको छैन तर सम्भावना नै नरहेको भने पक्कै होइन ।
नेपाली पत्रकारिता क्षेत्र मुलुकको हरेक राजनीतिक परिवर्तनको साक्षी रहेको छ । हरेक आन्दोलनलाई यसले बलियो समर्थन गरेको छ । चाहे २०३६ सालको विद्यार्थी आन्दोलन होस् वा ०४६ र ०६२/६३ को जनआन्दोलन । नेपालका पत्रकार सधैँ आन्दोलनको अग्रमोर्चामा देखिए । कतिपय अवस्थामा त राजनीतिक दलभन्दा पनि उपल्लो दर्जामा पत्रकारले नागरिकको विश्वास र भरोसा जितेका थिए । तत्कालीन राजा ज्ञानेन्द्रको कदमविरुद्ध नेपाली जनताले राजनीतिक दलभन्दा पत्रकार वा पेसागत सङ्घ संस्थालाई बढी विश्वास गरे । त्यसैको बलमा १९ दिने जनआन्दोलनले उचाइ लियो । फलतः ज्ञानेन्द्रको सत्ता धराशायी भयो अनि देशमा गणतन्त्रको बीजारोपणसमेत भयो । लोकतन्त्र स्थापनापछिको पत्रकारिता स्वतन्त्र त थियो तैपनि व्यवहारमा भने अनेकन झमेला भने बेहोरेको अवस्था रह्यो ।
वाक् तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा नेपाली प्रेस अलि बढी नै आक्रमक पनि देखिएको हो । अहिले फेरि नेपाली पत्रकारिता जगत्ले सामाजिक सञ्जालसम्बन्धी सरकारले संसद्मा प्रस्तुत गरेको विधेयकप्रति चासो देखाएको छ । राष्ट्रिय सभामा दर्ता भएको सामाजिक सञ्जाल सञ्चालन प्रयोग र नियमनसम्बन्धी विधेयकले कतै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोज्नेहरूलाई सहयोग त गर्दैन ? भन्ने चासो र चिन्ता व्याप्त छ । नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले यसबारे चिन्ता र चासो लिनु स्वाभाविक हो तर सरोकारवालासँग छलफल गर्दा समस्याको हल खोज्न नसकिने होइन ।
सामाजिक सञ्जालको प्रयोग सधैँ राम्राका लागि मात्रै भएको मान्न सकिने अवस्था छैन । नेपालमा मात्र नभई संसारभरि नै सामाजिक सञ्जालले विकृतिसमेत फैलाएको गुनासो बढ्दो छ । यसलाई नियन्त्रण र नियमन गर्न आवश्यक रहेको सरोकारवालाकै आवाज हो । त्यसैले यो विधेयकले समाजमा भ्रम र घृणा फैलाउनेहरूलाई नियन्त्रण र नियमन गर्न खोजेको अर्थमा लिँदा गलत भन्न नमिल्ला । यसैको दुरुपयोग गरी मूलधारको पत्रकारिताको घाँटीसमेत निमोट्ने प्रयास नहोला भन्न सकिन्न । खबरदारी गर्ने काम पत्रकारकै हो । त्यसैले महासङ्घले यो विधेयकबारे पर्याप्त छलफल होस् भनी राखेको माग गलत होइन । सरकारले पनि असल नियतले ल्याएको विधेयकमा छलफल र संवाद नगर्ने भन्ने पक्कै हुँदैन ।
यति बेला मूलधारको पत्रकारिता ओझेलमा परेको छ । सूचना प्रविधिले मारेको छलाङले छापा पत्रकारिता ठुलो सङ्कटमा छ । यो समस्या हाम्रो मात्र होइन, विश्वभरि नै चुलिएको छ । कतै छापा माध्यम सखापै हुने त होइन भन्ने बहस नभएका होइनन् तर समयक्रमले यो सही ठहरिएको छैन । युरोप, अमेरिका जस्ता विकसित मुलुकमा समेत छापा प्रकाशन भइरहेका छन् । यसको प्रभाव भने विगतभन्दा निस्तेज हुँदै गएको हो कि जस्तो भान परेको छ । नेपालको कुरा गर्ने हो भने चुनौतीसँगै सम्भावना पनि छ । डिजिटल मिडियासँगको प्रतिस्पर्धा, आर्थिक कठिनाइ र पाठकको रुचि पहिचान गर्न नसक्दा छापा माध्यमले सङ्कट भने बेहोरिरहेको अवस्था छ । यसको अस्तित्व र प्रासङ्गिकता भने अझै कायमै छ । सामाजिक सञ्जाल वा न्युज पोर्टलमा आएका सूचनाभन्दा पाठकका लागि अझै छापा माध्यममा प्रकाशित समाचार बढी भरपर्दा रहेका छन् । अन्यत्र जेसुकै देखेपढेको भए पनि पत्रपत्रिकामा छापिएपछि मात्र ढुक्क हुने अवस्था भने अझै विद्यमान छ ।
कतिपयले अब छापा माध्यमको भविष्य नै छैन भन्ने तर्क गर्ने गरेका छन् तर यो बिल्कुलै सत्य होइन । चुनौतीको दायरा भने फराकिलो भएको चाहिँ अवश्य पनि छ । अब छापा पत्रकारिताले डिजिटल माध्यमसँग सहकार्य गरेर आफ्नो पहुँच र प्रभाव विस्तार गर्न सक्नु पर्छ । अधिकांश छापा माध्यमले अहिले नै आफ्नो अनलाइन संस्करण थालिसकेका छन् । यसबाट पाठकसँगको सामीप्य विस्तार भइरहेको छ । प्रविधिसँग डराउने वा भाग्ने होइन बरु प्रविधिसँग मिलेर अघि बढ्न सक्दा राम्रो हुने छ । डिजिटल प्लेटफर्ममा समाचार, ब्लग, भिडियो, पोडकास्ट पोस्ट गरेर युवा जमात्सँग जोडिन सहज हुने छ ।
अब परम्परागत रूपमा झारा टार्ने पत्रकारिताबाट छापा माध्यम चल्न सक्ने अवस्था छैन । गुणस्तरमा कुनै सम्झौता गर्ने छुट वा सुविधा छापा माध्यमलाई छैन । गुणस्तरीयतालाई प्राथमिकता दिएर जाने हो भने छापा माध्यमको भविष्य अझै पनि कमजोर देखिँदैन । स्टन्ट वा हावादारी समाचार भन्दा यथार्थ सूचना दिने पत्रिकाको पहिचान बनाउन सकियो भने त्यो छापा माध्यमप्रतिको विश्वसनीयता अझै बढ्ने देखिन्छ । डिजिटल मिडियामा फैलिएका गलत सूचना र अफवाहबाट छापा पत्रकारिताले आफूलाई अलग गर्न सक्यो भने पाठकको विश्वास कायमै रहने छ । यसका लागि अनुसन्धानमूलक समाचारमार्फत खोज पत्रकारितालाई प्रश्रय दिन सकिन्छ । यसले पाठकको ध्यान आकर्षित गर्न सकिन्छ । साथै, पत्रकारितामा आफ्नो छुट्टै पहिचान र आधारशिला तयार हुने छ ।
अर्को उपाय भनेको स्थानीय समाचारलाई प्राथमिकता दिइयो भने पनि त्यसले बल पुग्ने छ । छापा माध्यमले स्थानीय समाचार वा समाचारमूलक सामग्री महत्वका साथ प्रकाशित गर्ने हो भने पाठकको रुचि बढाउन सक्छ । इन्टरनेटको पहुँच नभएका ग्रामीण भेगमा अझै पनि छापा माध्यम नै सूचनाका भरपर्दा स्रोत हुन् । यो वर्गको रुचि र चाहनालाई प्राथमिकीकरण गरी छापा पत्रकारिता गर्ने हो सम्भावना कायमै छ ।
पत्रकार आचारसंहिताको पालना गर्ने प्रवृत्तिलाई अपनाउने हो भने छापा पत्रकारिताको भविष्य अझै उज्ज्वल छ । निष्पक्ष र पारदर्शी ढङ्गले समाचार वा समाचारमूलक सामग्री उत्पादनमा आफूलाई केन्द्रित गर्न सक्नु पर्छ । यसले छापा माध्यमको विश्वसनीयता अझै झाङ्गिने अवस्था छ, समाजमा आफ्नो भूमिका, प्रभाव र उपस्थितिको औचित्य पुष्टि हुने छ । पाठकको रुचि अनुसारको सामग्री उत्पादनमा जोड दिँदै विश्वसनीयता कायम राख्नु नै छापा पत्रकारिताको मुख्य पुँजी हो । छापा माध्यमले आफ्नो आयस्रोतलाई परम्परागत भन्दा समय अनुसार बदल्न सक्नु पर्छ । विज्ञापन र बिक्रीवितरणबाट मात्रै आयआर्जन गर्ने परम्परागत मोडल बदल्न जान्नु पर्छ । एक त विज्ञापनको बजार नै साँघुरो हुँदै छ । आर्थिक मन्दीको डरलाग्दो अवस्था छ । त्यसैले पत्रपत्रिका बेचेर वा विज्ञापनको मात्रै भर परेर अब पत्रिका चलाउन सक्ने अवस्था छैन । सामान्य सामग्री प्रकाशन गर्दा विज्ञापन आउने अवस्था छैन । विशेष सामग्री प्रकाशन गर्ने र त्यसैसँग सरोकार राख्ने पक्षसँग साझेदारीमा प्रकाशन गर्ने मोडलबाट मात्रै अब खर्च धान्न सकिने छ ।
सबैभन्दा महत्वपूर्ण भनेको प्रविधिको प्रयोग गरेर छापा पत्रकारिताको पहुँच र प्रभाव विस्तार गर्न सकिन्छ । कृत्रिम बौद्धिक (एआई), डाटा एनालिटिक्स जस्ता प्रविधिको प्रयोगबाट पत्रकारिताको क्षमता बढाउन सकिन्छ । प्रिन्टिङमा आधुनिक प्रविधिको प्रयोगबाट लागत कटौती गर्न सकिन्छ । साथै, नयाँ पुस्ताको रुचि र चाहना सम्बोधन गर्न सघाउ पुग्छ । एआईको बढ्दो प्रयोगले छापा पत्रकारितालाई चुनौती पनि थपिएको छ । अहिले एआईको प्रयोगबाट नै सामग्री तयार गर्ने र जस्ताको तस्तै प्रकाशनका लागि सम्प्रेषण गर्ने प्रवृत्तिले सृजनशीलता र मौलिकता स्खलित हुन थालेको छ ।
पत्रकारसमेत विभिन्न राजनीतिक दलका भातृसंस्थाका अङ्ग बनेका छन् । राजनीतिक दलसँग आबद्ध भएपछि त्यहाँ निष्पक्ष पत्रकारिताको कल्पनासमेत गर्न सकिन्न । त्यसैले दलसँगको आबद्धता त्याग्ने नीति नियम कार्यान्वयन गर्न सकियो भने नेपालको समग्र पत्रकारिताको ओज बढाउन सकिने छ । यस्ता केही उपाय अपनाउने हो भने नेपाली पत्रकारिता र खास गरी छापा पत्रकारितालाई नयाँ उचाइमा पुर्याउन सकिन्छ ।