गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख १७ गते । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कले कृषिक्षेत्रमा गरिने कर्जा लगानीलाई प्राथमिकता दिएको जनाएको छ । बैङ्कले २०८२ चैत मसान्तसम्म सो क्षेत्रमा ३९ अर्ब ५३ करोड २० लाख रुपियाँ कृषि कर्जा प्रवाह गरेको छ । बैङ्कका आधार दरमा न्यूनतम प्रिमियम कायम गरी सस्तो ब्याजदरमा कृषि कर्जा प्रवाह गरिरहेको बैङ्कले जनाएको छ ।
कुखुरापालन, बाख्रापालन, गाईपालन, भैँसीपालन, माछापालनलगायतका कृषि परियोजनामा लगानी गर्दै आइरहेको बैङ्कले पछिल्लो समयमा विभिन्न प्रदेशमा विभिन्न कृषि उत्पादनलाई जोड दिँदै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोडसम्मको प्रदेश विशेष कृषि कर्जा प्रदान गर्छ । त्यसै गरी स्थानीय साना कृषकलक्षित कुनै पनि प्रक्रियागत शुल्क नलिई बैङ्कले ४.७५ प्रतिशत ब्याजदरमा १० लाख रुपियाँसम्म साना किसान सरल कर्जा उपलब्ध गराइरहेको जनाएको छ । साथै बैङ्कले किसान क्रेडिट कार्ड पनि दिने गरेको छ ।
कृषि कर्जाको सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन बैङ्कले छट्टै कृषि कर्जा नीति जारी गरी कृषि कर्जा कार्यविधिसमेत लागु गरेको छ । बैङ्कले देशभरका ३१४ वटै शाखामार्फत कृषि कर्जा उपलब्ध गराउँछ । बैङ्कले समय समयमा ग्राहकलाई वित्तीय सचेतनाका कार्यक्रममार्फत कृषि कर्जाकबारे जानकारीसमेत गराउने गरेको छ ।
परम्परागत कृषि पेसामा आबद्ध ग्रामीण किसानलक्षित यस बैङ्कले कृषि कर्जामार्फत कृषिको यान्त्रिकीकरण तथा व्यावसायिकीकरणमा सहयोग पु¥याउँदै आइरहेको जनाएको छ ।