विश्वको सर्वाधिक शक्तिशाली राष्ट्र अमेरिकामा राष्ट्रपतिको सुरक्षा गम्भीर चासो र चिन्ताको विषय बनेको छ । तेस्रो पटक राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास गरिएसँगै सुरक्षाको विषयप्रति चासो व्यक्त भएको हो । गएको शनिबार (अप्रिल २५) राष्ट्रपति ट्रम्पले सञ्चारकर्मीका लागि हिल्टन होटेलमा आयोजना गर्नुभएको रात्रिभोजमा हतियारधारी शिक्षकले गोली चलाएर आतङ्क मच्चाए । रात्रिभोज कार्यक्रम बिथोलियो । गोली चलाउने क्यालिफोर्नियाका ३१ वर्षीय शिक्षक कोल टोमस एलेन हुन् । उनलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरेको थियो । उनको साथबाट बन्दुक र छुरी बरामद गरिएको छ ।
रात्रिभोजमा गोली चल्न थालेपछि सुरक्षा अधिकारीले घेरा हालेर राष्ट्रपति ट्रम्पलाई उद्धार गरेका थिए । घटनापछि सञ्चारकर्मीलाई प्रतिव्रिmया दिँदै राष्ट्रपति ट्रम्पले राजनीति सबैभन्दा जोखिमपूर्ण पेसा भएको बताउनुभयो । “योभन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन,” उहाँले भन्नुभयो, “कुनै पनि देश यसबाट अछुतो छैन ।” सेक्रेट सर्भिसका एक जना अधिकारी नजिकैबाट प्रहार गरिएको गोली लागेर घाइते भएका छन् । बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेको राष्ट्रपति ट्रम्पले बताउनुभयो । एकाएक गोली चल्न थालेपछि रात्रिभोजका सहभागी भएका टेबुलमुनि लुकेका थिए । पहिले राष्ट्रपति ट्रम्पलाई अनि रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट सुरक्षित स्थलतर्फ उद्धार गरिएको थियो । अमेरिकाका राष्ट्रपतिको रात्रिभोजमा कडा सुरक्षा घेराभित्र गोली चलेको यो पहिलो घटना हो । गोली चलाउने एलेन सोही होटेलमै केही दिनदेखि पाहुना बनेर बसेका थिए ।
दुई वर्षअघि सन् २०२४ जुलाई १४ मा ट्रम्पमाथि गोली प्रहार भएको थियो । पेन्सिलभेनियामा आयोजित चुनावी ¥यालीमा गोली प्रहार हुँदा ट्रम्प घाइते हुनुभएको थियो । उहाँको दायाँ कानमा गोली लागेको थियो । सो घटनामा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । ट्रम्पमाथि भएको आक्रमणलाई सुरक्षामा भएको ठुलो कमजोरी मानिएको थियो । २० वर्षीय थोमस म्याथु क्रुसले ट्रम्पमाथि गोली प्रहार गरेका थिए । उनलाई सुरक्षाकर्मीले घटनास्थलमै गोली हानी मारेका थिए ।
अमेरिकामा सुरक्षा व्यवस्था कडा हुँदा पनि राजनेताहरू गोलीको सिकार भएका छन् । कैयन् राष्ट्रपति, पूर्वराष्ट्रपति र राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहारका घटना भएका छन् । त्यसमा कतिपयको मृत्यु भएको थियो भने केही बाँच्न सफल भए ।
तत्कालीन राष्ट्रपति जोन एफ केनेडी, अब्राहम लिङ्कन, विलियम म्याकिन्ले र जम्स ए गारफिल्डको हत्या गरिएको थियो । १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनलाई सन् १८६५ को अप्रिल १४ मा वासिङ्टन डिसीको फोर्ड थिएटरमा गोली हानियो । भोलिपल्ट अप्रिल १५ मा उहाँको निधन भयो । उहाँलाई जोन विल्क्स बुथले गोली हानेका थिए । त्यतिबेला उहाँ पत्नी मेरी टोड लिङ्कनका साथमा वासिङ्टनको थिएटरमा कमेडीको विशेष प्रदर्शन हेर्दै हुनुहुन्थ्यो । लिङ्कनलाई टाउकोपछाडि गोली लागेपछि उपचारका लागि थिएटरबाट सडकपारि भएको घरमा लगियो । भोलिपल्ट बिहान उहाँको निधन भयो । बुथलाई अप्रिल २६ भर्जिनियाको बाँलिङ ग्रिननजिकैको गोदाममा लुकेको फेला पारेपछि गोली हानेर मारिएको थियो । लिङ्कनले आफ्नो चुनावी अभियानमा दासप्रथाप्रति खुलेर विरोध गर्नुभएको थियो । अमेरिकाका दक्षिणी राज्यहरूमा धेरै मानिसलाई के डर थियो भने लिङ्कनले चुनाव जितेर आएमा दासप्रथा समाप्त पार्ने छन् । सोही कारणले गर्दा अमेरिकाका सात वटा दक्षिणी राज्यले एउटा छुट्टै सङ्घ बनाएका थिए । उक्त सङ्घमा त्यसपछि थप चार वटा राज्य सामेल भए । ती सबै राज्यलाई सामूहिक रूपमा कन्फेडेरेसी भन्न थालियो ।
सन् १८६१ मा अमेरिकामा गृहयुद्ध सुरु भयो, जुन ४ वर्षसम्म चल्यो । युद्धमा छ लाख अमेरिकी मारिए । सन् १८६५ को अप्रिल ९ मा कन्फेडेरेसीका कन्फेडेरेट जनरल रोबर्ट इ लीले आत्मसमर्पण गरेपछि युद्ध समाप्त भयो । उत्तरी र दक्षिणी अमेरिकी राज्यबिच छेडिएको गृहयुद्ध सकिएको एक सातापछि नै लिङ्कनलाई गोली हानेर हत्या गरिएको थियो । उहाँलाई गोली हान्ने बुथ कन्फेडेरेसीका एक कट्टर समर्थक थिए ।
२० औँ राष्ट्रपति जेम्स ए गारफिल्डमाथि सन् १८८१ को जुलाई २ मा वासिङ्टनको रेल रोड स्टेसनबाहिर चाल्र्स गुइटुले गोली प्रहार गरे । गम्भीर घाइते गारफिल्ड केही दिनसम्म ह्वाइट हाउसमा उपचाररत रहनुभयो । सेप्टेम्बर ६ मा उहाँलाई न्यु जर्सीनजिकैको एक ठाउँमा लगियो । केही दिनसम्ममा उहाँको अवस्थामा सुधार पनि आयो तर गहिरो घाउ तथा आन्तरिक रक्तस्रावका कारण सेप्टेम्बर १९ मा उहाँको निधन भयो । गारफिल्डले कार्यभार समालेको छ महिनापछि उहाँको हत्या भएको थियो । गोली चलाउने गुइटुलाई सन् १८८२ को जुनमा मृत्युदण्ड दिइएको थियो । अमेरिकामा तत्कालीन अवस्थामा सार्वजनिक प्रशासनमा रहेको लुट प्रणालीका कारण आफ्नो जागिर गुमाएर आहात बनेका गुइटुले त्यसको झोँकमा राष्ट्रपतिमाथि नै गोली हानेका थिए ।
२५ औँ राष्ट्रपति विलियम म्याकिन्ले सन् १८९७ मार्च ४ देखि सन् १९०१ सेप्टेम्बर १४ मा हत्या हुनुअघिसम्म अमेरिकाको राष्ट्रपति बन्नुभयो । उहाँको कार्यकालमा भएको सय दिनको युद्धमा अमेरिकाले स्पेनलाई क्युबामा हराएको थियो भने फिलिपिन्सको मनिला र पुर्टोरियामाथि कब्जा गरेको थियो ।
म्याकिन्लेमाथि सन् १९०१ सेप्टेम्बर ६ मा न्युयोर्कको बफेलोमा भाषण गरेपछि गोली हानिएको थियो । उहाँ मानिसहरूसँग हात मिलाउँदै गर्दा लियोन कोजोलगोज नामका व्यक्तिले उहाँको छातीमा दुई वटा गोली हानेका थिए । डाक्टरले म्याकिन्ले निको हुने आशा गरेका थिए तर गोलीको घाउ फैलिएपछि उहाँको निधन भयो । म्याकिन्लेको दोस्रो कार्यकाल सुरु भएको छ महिनापछि सन् १९०१ सेप्टेम्बर १४ मा निधन भयो । मिसिगनको डेट्रोइट निवासी २८ वर्षीय कोजोलगोज दोषी ठहर भएपछि सन् १९०१ अक्टोबर २९ मा उनलाई मृत्युदण्ड दिइयो । सन् १९०१ मा प्रदर्शनीका क्रममा लाइनमा उभिएका बेला उहाँमाथि गोली हानिएको थियो । त्यसको आठौँ दिनमा उहाँको निधन भयो । पक्राउ गरिएपछि कोजोलगोजले भनेका थिए, “मैले आफ्नो कर्तव्य पूरा गर्नका लागि राष्ट्रपति म्याकिन्लेको हत्या गरेँ । कुनै एक जना व्यक्तिसँग निकै धेरै काम हुने र अरू व्यक्तिसँग केही पनि नहुने कुरा मलाई स्वीकार्य छैन ।”
३५ औँ राष्ट्रपति जोन एफ केनेडीको सन् १९६३ नोभेम्बर २२ मा गोली हानेर हत्या गरिएको थियो । टेक्सासको डल्लासमा एउटा खुला कारमा बसेर पत्नी ज्याक्लिन केनेडीसँग यात्रा गरिरहँदा उहाँमाथि गोली प्रहार भएको थियो । केनेडीलाई पार्कल्यान्ड मेमोरियल अस्पतालमा लगियो, जहाँ उहाँको तुरुन्तै निधन भयो । हत्याको केही घण्टापछि टेक्सास स्कुल बुक डिपोजिटरीनजिकैको भवनमा प्रहरीले आक्रमणकारी ली हार्वे ओसवाल्डलाई पक्राउ ग¥यो, दुई दिनपछि ओसवाल्डलाई प्रहरी मुख्यालयबाट काउन्टी जेलमा लगिँदै गर्दा डल्लास नाइट क्लबका मालिक ज्याक रुबीले ओसवाल्डलाई गोली हानी मारेका थिए ।
अमेरिकाका ४० औँ राष्ट्रपति रोनाल्ड रेगन सोभियत सङ्घको पतन तथा शीत युद्धको समाप्तिका लागि प्रमुख व्यक्ति मानिनुहुन्छ । हलिउड अभिनेतासमेत रहेका रेगनले विभिन्न ५० वटा चलचित्रमा अभिनयसमेत गर्नुभएको थियो । सन् १९४२ देखि १९४५ सम्म उहाँले सेनामा पनि काम गर्नुभयो । राष्ट्रपति बनेको ६९ दिनमा सन् १९८१ मार्च ३० मा उहाँमाथि आक्रमण भयो । आक्रमणमा तीन जना घाइते भए । जोन हिङ्कले जुनियर नामक व्यक्तिले उहाँमाथि गोली हानेका थिए ।
थियोडोर रुजबेल्ट अमेरिकाका ३२ औँ राष्ट्रपति बन्नुभयो । सन् १९०० मा उपराष्ट्रपति बनेका रुजबेल्ट सन् १९०१ मा राष्ट्रपति म्याकिन्लेको हत्यापछि राष्ट्रपति बन्नुभयो । रुस र जापानबिचको युद्ध अन्त्य गराएबापत उहाँलाई सन् १९०६ को नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
सन् १९१२ को अक्टोबर १४ मा अमेरिकी सहर मिलवाकीमा चुनाव प्रचारका क्रममा उहाँमाथि एक जना कट्टरपन्थीले गोली प्रहार गरे । छातीमा गोली प्रहार भए पनि उहाँ बाँच्न सफल हुनुभयो । केही दिनको उपचारपछि उहाँ निको हुनुभयो । रुजबेल्टमाथि विलियम एफ स्रेङ्क नामक व्यक्तिले गोली हानेका थिए ।
३२ औँ राष्ट्रपति फ्रान्कलिन रुजबेल्ट राष्ट्रपति निर्वाचित भएपछि मायामीमा खुला कारको पछाडिबाट भाषण दिइरहेका बेला उहाँमाथि आक्रमण प्रयास भयो । सन् १९३३ फेबु्रअरीमा भएको सो घटनामा सिकागोका मेयर एन्टोन सेर्माकको हत्या भयो भने रुजबेल्ट बच्नुभयो । गुइसेप्पे जाङ्गारालाई गोली काण्डमा दोषी ठहर गरी मृत्युदण्ड दिइयो ।
३३ औँ राष्ट्रपति ह्यारी एस ट्रुमन सन् १९५० नोभेम्बरमा ह्वाइट हाउसबाट सडकपारि रहेको ब्लेयर हाउसमा बसिरहनुभएको थियो । त्यहीबेला दुई बन्दुकधारी भित्र पसेर गोली प्रहार गरे । ट्रुमन घाइते हुनुभएन तर ह्वाइट हाउसका एक प्रहरी मारिए भने एक आक्रमणकारीको पनि मृत्यु भयो । ह्वाइट हाउसका अन्य दुई प्रहरी घाइते भए । आक्रमणकारीलाई पक्राउ गरेर मृत्युदण्डको सजाय सुनाइएको थियो । सन् १९५२ मा ट्रुमनले मृत्युदण्डको सजाय बदलेर आजीवन काराबास बनाइदिनुभयो । सन् १९७९ मा राष्ट्रपति जिम्मी कार्टरले आक्रमणकारीलाई रिहा गरिदिनुभयो ।
३८ औँ राष्ट्रपति जेराल्ड फोर्डमाथि सन् १९७५ मा केही दिनको अन्तरमा दुई पटक हत्या प्रयास भयो तर उहाँलाई कुनै पनि घटनामा चोट लागेन । क्यालिफोर्नियाका गभर्नरसँग साक्रामेन्टोमा भेट्न जाँदै गर्दा उहाँमाथि पहिलो पटक आक्रमण प्रयास भयो । केही दिनपछि सान फ्रान्सिस्कोको एक होटेलबाहिर फोर्डमाथि गोली प्रहार भयो तर आक्रमणकारी चुकेपछि फोर्ड बच्न सफल हुनुभयो । दोस्रो सटको प्रयास गर्दा एक दर्शकले आक्रमणकारीको हात समाते ।
४० औँ राष्ट्रपति रोनाल्ड रेगनमाथि वासिङ्टन डिसीमा भिडबाट जोन हिन्क्ली जुनियरले गोली हानेका थिए । सन् १९८१ मार्चमा भएको सो गोली काण्डबाट उहाँ बाँच्न सफल हुनुभयो । उहाँका प्रेस सेक्रेटरी जेम्स ब्रैडीसहित अन्य तीन जनालाई गोली लागेको थियो । रेगनलाई गोली हान्ने व्यक्ति मानसिक समस्या भएको पाइएपछि मानसिक अस्पतालमा राखिएको थियो । सन् २०२२ मा हिन्क्लीलाई अदालतको निरीक्षणबाट मुक्त गरिएको थियो ।
४३ औँ राष्ट्रपति जर्ज डब्लु बुस जर्जियाका राष्ट्रपति मिखाइल साकासभिलीसँग सन् २००५ मा टिबिलिसीमा भएको ¥यालीमा भाग लिइरहेका बेला उहाँमाथि हाते ग्रेनेड प्रहार भएको थियो । दुवै जना बुलेट प्रुफ ब्यारियरको पछाडि हुनुहुन्थ्यो । जब कपडामा बेरिएको ग्रेनेड लगभग सय फिट टाढा खसेको थियो । ग्रेनेड बिस्फोट भएन । कसैलाई चोटपटक पनि लागेन । घटनामा भ्लादिमिर अरुट्युनियनलाई दोषी ठहर गरी आजीवन काराबासको सजाय सुनाइएको थियो ।
तत्कालीन राष्ट्रपति थियोडोर रुजबेल्टलाई सन् १९१२ मा मिलाउकीमा चुनावी अभियानका क्रममा गोली प्रहार गरिएको थियो । रुजबेल्टले यसअघि दुई कार्यकाल राष्ट्रपतिका रूपमा सेवा गर्नुभएको थियो । तेस्रो पटकका लागि चुनावी दौडमा हुँदा रुजबेल्टको खल्तीमा रहेका फोल्ड गरिएका कागज र धातुको चस्माको खोलले गोली छेकेको थियो, जसका कारण उहाँलाई गम्भीर चोट लागेन । आक्रमणकारी जोन स्राङ्क पक्राउ परे ।
राष्ट्रपति उम्मेदवार रोबर्ट एफ केनेडीको लस एन्जलस होटेलमा हत्या गरिएको थियो । उहाँ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारी दिनुभएको थियो । सन् १९६८ मा क्यालिफोर्निया प्राइमरी जितेर विजयी भाषण दिएपछि उहाँको हत्या भयो । केनेडी राष्ट्रपति जोन एफ केनेडीका भाइ हुनुहुन्थ्यो । घटनामा गोली लागेर अन्य पाँच जना घाइते भएका थिए । सिरहान सिरहानलाई फस्र्ट डिग्री हत्याको दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यसपछि आजीवन काराबासमा परिणत भयो ।
राष्ट्रपति पदका उम्मेदवार जर्ज सी वालेस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि चुनावी अभियानमा भएका बेला सन् १९७२ मा मेरिल्यान्डमा गोली हानिएको थियो । उहाँलाई कम्मरबाट तल पक्षाघात भयो । आर्थर ब्रेमरलाई गोलीबारीमा दोषी ठहर गरी जेल सजाय सुनाइएको थियो । उनी सन् २००७ मा रिहा भए ।