कमजोर जगमा अमेरिका र इरानबिच दुई साताका लागि अस्थायी युद्धविराम भएको छ । पश्चिम एसियामा पछिल्ला ४० दिनको यो युद्धले महासङ्कट र महाविनाश निम्तिने अवस्था सिर्जना भएसँगै पाकिस्तानको मध्यस्थतामा अस्थायी युद्धविराम सम्भव भएको हो । युद्धविरामसँगै इरानमा बमबारी रोकिएको छ तर तनाव, त्रास र अनिश्चितता यथावत् छ । अमेरिका र इरान आफ्नै अडानमा अडिग छन् । दुवैले आफ्नो जित भएको दाबी पनि गरेका छन् । परिस्थिति भने अत्यन्तै जटिल र कठिन छ । पाकिस्तानले अर्को चरणको वार्ता गराउने प्रस्ताव अघि सारेको छ । अमेरिकाले इरानमाथि थप दबाब दिन इरानका सबै बन्दरगाहमाथि नाकाबन्दी लगाएको छ ।
पाकिस्तानको मध्यस्थतामा इस्लमावादमा भएको दुईदिने शान्ति वार्ताले शुभ सङ्केत दिएन । वार्ता विफल भयो । २१ घण्टासम्म चलेका म्याराथन वार्ताले निकास नदिएसँगै अमेरिका र इरानबिचको दुरी झन् बढेको छ । इरानको इस्लामिक क्रान्तियता ४७ वर्षमा भएको यो उच्चस्तरीय वार्तामा दुवै पक्षले अडान छाडेनन् । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले दुवै पक्षलाई मनाउन निकै कोसिस गर्नुभयो तर दुवै पक्ष न्यूनतम सहमति गर्नेतर्फ पनि तयार भएनन् । अब अर्को चरणको वार्ता हुने नहुने टुङ्गो छैन । वार्ता विफल भएको भोलिपल्टदेखि नै अमेरिकाले इरानका सबै बन्दरगाहमा नाकाबन्दी लगाएको छ । यसले परिस्थितिलाई अरू जटिल र कठिन बनाएको छ । इराने यो नाकाबन्दीसामु नझुक्ने बताएको छ ।
पाकिस्तानको राजधानी इस्लामाबादमा कडा सुरक्षाबिच अप्रिल ११ र १२ (शनिबार र आइतबार) मा २१ घण्टासम्म दुवै वार्ता टोलीबिच म्याराथन छलफल भयो । छलफल निष्कर्षमा पुग्न नसकेपछि दुवै देशका वार्ता टोली रित्तो हात स्वदेश फर्के । अमेरिकी वार्ता टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले र इरानी वार्ता टोलीको नेतृत्व सभामुख मोहम्मद बाकर कलिबाफले गर्नुभएको थियो । मूलतः वार्तामा वासिङ्टनले तेहरानसँग आणविक हतियार विकास नगर्ने ‘मौलिक प्रतिबद्धता’ र हर्मुज जलमार्ग निर्वाध सञ्चालन हुनुपर्ने मुख्य विषयमा सहमति खोजेको थियो । दुवै विषयमा तेहरान सकारात्मक बनेन । उसले युद्धमा भएको नोक्सानीको क्षतिपूर्ति दिनुपर्ने, हर्मुज जलमार्गमा आफ्नो एकाधिकार कायम हुनुपर्ने र लेबनानको हेजबुल्लाहमाथि इजरायलले गरिरहेको सैन्य कारबाही रोकी वार्तामा सहभागी गराउनुपर्ने जस्ता मागमा अडान लियो । कलिबाफले आफूले राखेका मागलाई जायज मान्नुभयो । “अमेरिकासँगको वार्ताको अनुभव सधैँ असफलता र भङ्ग गरिएका प्रतिबद्धतासँग जोडिएको छ,” कलिबाफले भन्नुभयो । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने वार्ताको परिणामप्रति आफूलाई खास चासो नभएको प्रतिव्रिmया दिनुभयो । उहाँले युद्धमैदानमा अमेरिका पहिले नै विजयी भइसकेको दाबी गर्दै इरानी नेतृत्वलाई कमजोर पारिएको र सैन्य संरचनामा क्षति पु¥याइएको उल्लेख गर्नुभयो । “सम्झौता भए पनि नभए पनि फरक पर्दैन, हामीले जितिसकेका छौँ,” उहाँले भन्नुभयो ।
पाकिस्तानका विदेशमन्त्री इसाक दारले शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै देशलाई सकारात्मक भावनाका साथ वार्तामा संलग्न रहन आग्रह गर्नुभयो । उहाँले क्षेत्रीय मात्र नभई विश्वव्यापी स्थायित्वका लागि पनि युद्धविरामको प्रतिबद्धता कायम राख्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो ।
युद्ध सुरु भएसँगै इरानले हर्मुज जलमार्गमाथि नियन्त्रण कायम गर्दै विश्व तेल बजारमा प्रभाव पारेको छ । तेलको मूल्यवृद्धिले अमेरिकामा समेत राजनीतिक दबाब सिर्जना गरेको छ । अमेरिकी सेनाले हर्मुज जलमार्ग सुरक्षित बनाउने प्रयास गरिरहेको दाबी गरे पनि इरानले त्यस्तो कुनै गतिविधि स्वीकार गरेको छैन र हस्तक्षेप भए कडा जवाफ दिने चेतावनी दिएको छ ।
युद्धले विनाश निम्त्याउँछ, शान्ति ल्याउँदैन, विश्ववासीले दुःख पाउँछन् भन्ने थाहा हुँदाहुँदै पनि अमेरिका र इजरायल मिलेर एकाएक इरानमाथि सैन्य आक्रमण सुरु गरे । सुरुमै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी, पत्नी, नातिनातिना, बुहारी, उच्च तहका नेता तथा उच्च सुरक्षा अधिकारीसहित ५० जनाभन्दा बढीको हत्या गरिएसँगै इरान प्रत्याक्रमणमा उत्रियो । ४० दिनसम्म भीषण युद्ध भयो । यस युद्धले आजको अन्तरनिर्भर विश्वमा गम्भीर सङ्कट ल्याएको छ । सारा विश्व प्रभावित भएको छ । यसले विश्व अर्थतन्त्रलाई नै चुनौती दिएको छ भने विश्ववासी प्रत्येक उपभोक्ताको भान्सासम्म महँगी र अभावको अवस्था सिर्जना गरेको छ । इन्धनको आपूर्ति सहज नहुँदा मूल्यवृद्धि र अभागको सामना गर्नु परेको छ । हवाई र सार्वजनिक यातायातको चर्को भाडा बढेको छ ।
उता विगत पाँच वर्षदेखि रुस र युक्रेनबिच पनि युद्ध जारी छन् । यसले पनि विश्व बजारलाई क्षति पु¥याएको छ । यो युद्ध साम्य नहुँदै अहिले अमेरिका–इजरायलको इरानसँगको युद्धले महासङ्कट नै ल्याएको छ । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानविरुद्ध आक्रमण गरेसँगै चर्केको यस युद्धले सबैलाई चिन्तित बनाएको छ । यो युद्धको विधिसम्मत निकास निकालिएन र लम्बिँदै गयो भने विश्वशान्ति नै खतरामा पर्ने सम्भावना बढेको छ । यस युद्धले मानवीय दुर्घटना निम्त्याउने खतराबिच भएको अस्थायी युद्धविरामले सबैलाई क्षणिक भए पनि ठुलो राहतको अनुभव गरायो । यो अस्थायी युद्धविराम वार्ताबाट स्थायी युद्धविराममा परिणत होस् भन्ने चाहनालाई इस्लामावाद वार्ताले पूरा गर्न सकेन । पटक पटकको नरम चेतावनीलाई तेहरानले बेवास्ता गरेसँगै राष्ट्रपति ट्रम्पको इरानको सभ्यतालाई नै नष्ट गरिदिने कडा चेतावनीसहितको समयसीमा तोक्नुभयो । परिस्थिति भयावह हुने भएपछि पाकिस्तानले समयसीमा समाप्त हुनुभन्दा एक घण्टाअघि मात्रै अघिल्लो बुधबार बिहान दुई साताको अस्थायी युद्धविराम गर्न दुवै देशलाई मनायो । योसँगै तत्कालका लागि ठुलो विपत्ति ट¥यो । परमाणु बमको बटन थिच्न तयार हुनुभएका ट्रम्प पछि हट्नुभयो ।
यो युद्ध सुरु हुनुभन्दा अघि इरानको विवादास्पद आणविक कार्यक्रमलाई लिएर पछिल्ला दिनमा अमेरिका र इरानबिच विभिन्न चरणमा वार्ता भएका थिए । वार्ता भए पनि सहमति नहुने देखेपछि अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरे । सुरुमा यो युद्ध धेरै दिन नलम्बिने अनुमान गरिएको थियो । सुरुमै नेतृत्व तहका अधिकांश नेताको हत्यासँगै इरानले हात उठाउने ठानिएको थियो तर इरान झन् आक्रामक बन्यो । त्यसलगत्तै तेहरानबाट प्रतिक्रियास्वरूप खाडी राष्ट्रहरू, अमेरिकी सैन्य अखडा र इजरायलमाथि जवाफी आक्रमण गरी क्षति पु¥याइयो । इरान समर्थित लेबनानको विद्रोही समूह हेजबुल्लाह र यमनको हुथी विद्रोही समूहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान र यमन पनि द्वन्द्वमा तानिए । ४० दिनको यो युद्धले पश्चिम एसिया मात्र होइन, पूरै विश्वमै अस्थिरता र त्रास फैलायो । जनधनको ठुलो क्षति भयो । कच्चा तेलको मूल्य एकाएक बढेर प्रतिब्यारेल ११० डलरसम्म पुग्यो भने सेयर बजार ओरालो लाग्यो । दुई साताका लागि अस्थायी युद्धविराम भएसँगै क्षणिक भए पनि विश्वभरि नै ठुलो राहतको अनुभव गरियो । बमबारी रोकियो । बुधबारै कच्चा तेलको मूल्य प्रतिब्यारेल ९५ डलरमा झ¥यो भने एसियाली बजारको सेयर बजारमा सुधार आयो । युद्धविराम गराउन चीन, टर्की र इजिप्टले पनि सहयोग गरे । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहित विश्व नेताहरूले युद्धविरामको स्वागत गर्दै सबै पक्षलाई दीर्घकालीन शान्तिका लागि काम गर्न आह्वान गर्नुभयो ।
इरान अमेरिकी प्रतिबन्ध हटाउने, हर्मुज जलमार्गमा आफ्नो प्रभुत्व स्वीकार गर्नुपर्ने र पश्चिम एसियाबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने मागबाट पछि हटेन । राष्ट्रपति ट्रम्पले भने कुनै पनि अन्तिम सम्झौतामा इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नियन्त्रणमा ल्याइनुपर्ने, हर्मुज जलमार्ग बिनाअवरोध, बिनाशुल्क सञ्चालन हुन दिनुपर्ने, इरानले परमाणु हतियार नबनाउन प्रतिबद्ध हुनुपर्नेलगायत विषयको टुङ्गो लगाउन चाहनुभएको छ । उहाँल त इरानी अतिवादी सत्ता ढालेर पूर्ण लोकतान्त्रिक सरकार बनाउने, इरानी तेल र प्रशोधित युरेनियममाथि नियन्त्रण गर्ने चाहना पनि राख्नुभएको छ तर यो कार्य चाहे जस्तो सजिलो भएन । दुवै पक्षबिच मिलनविन्दु भेटिएन । यी समग्र विषय इस्लामावाद वार्तामा उठाइए । दुवै पक्ष आआफ्नै मागमा अडिग रहे । वार्ता वार्तामै सीमित भयो । समस्या समाधानतिर अघि बढेन । वार्ता असफल भएसँगै पुनः तनाव र त्रास बढेको छ ।
इरानसँग अमेरिका र इजरायलको ४० दिनसम्म चलेको युद्धपछि हर्मुज जलमार्गको निर्वाध सञ्चालन सबैभन्दा पेचिलो विषय बनेको छ । रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण यो जलमार्ग अवरुद्ध गर्ने इरानी क्षमता नै अहिले इरानको सबभन्दा ठुलो हतियार बनेको छ ।
सुरुमा भने यस युद्धलाई इरानमा सत्ता परिवर्तनको प्रयासका रूपमा हेरिएको थियो । यसका लागि महत्वपूर्ण अखडा तथा नेताहरूलाई लक्षित गर्दै भारी बमबारी गरिएको थियो । इरानले जवाफस्वरूप अमेरिकाका खाडी क्षेत्रका सहयोगीहरूमाथि क्षेप्यास्त्र र ड्रोन हमला ग¥यो । युद्ध बढ्दै जाँदा उसले आफ्नो ध्यान फारसको खाडीलाई विश्व बजारसँग जोड्ने साँघुरो समुद्रीमार्ग (हर्मुज जलमार्ग) मा केन्द्रित ग¥यो । यस कदमले हर्मुज जलमार्ग तेल र ग्यासको निर्बाध आपूर्तिमा निर्भर अमेरिका र उसका सहयोगीहरूमा तत्काल ठुलो दबाब सिर्जना गरेको छ ।
इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्स (आइआरजिसी) का अधिकारीहरूले यस महत्वपूर्ण मार्गमा नियन्त्रण कायम गर्नु परम्परागत सैन्य कारबाहीभन्दा बढी रणनीतिक फाइदा दिने दाबी गरेका छन् । विश्व ऊर्जा आपूर्ति जोखिममा पार्दै तेहरानले वासिङ्टनलाई आफ्नो रणनीतिमा पुनर्विचार गर्न बाध्य बनायो । अन्ततः युद्धविराम वार्ताको प्रमुख सर्तका रूपमा यस जलमार्गलाई पुनः खोल्नु र यसको सुरक्षा सुनिश्चित गर्नु सबैभन्दा ठुलो प्राथमिकताको विषय बन्यो । पहिले पनि आक्रमण गरिए हर्मुज जलमार्ग बन्द गर्ने धम्की इरानले दिँदै आएको थियो । यसअघि यसलाई पूर्ण रूपमा भने कहिल्यै पनि बन्द गरिएको थिएन । हर्मुज जलमार्ग इरानको निजी सम्पत्ति होइन । यो त अन्तर्राष्ट्रिय जलमार्ग हो । यसलाई कुनै पनि हिसाबले अवरुद्ध गर्न मिल्दैन । सन् १९८० देखि १९८८ सम्म भएको इरान–इराक युद्धका बेलामा समेत यो जलमार्ग बन्द भएको थिएन ।
अहिले केही इरानी कमान्डर र अधिकारीहरूले यस जलमार्गको नियन्त्रणमा भविष्यबारे छलफल गरिरहेका छन् । इरानको संसद्, विशेष गरी नेसनल सेक्युरिटी काउन्सिलले त्यहाँबाट पार हुने जहाजहरूमा चर्को कर लगाउने प्रस्ताव गरेको छ । इरानले यही करबाट ठुलो रकम जम्मा गर्ने सपना देख्न थालेको छ । आइआरजिसीका पूर्वप्रमुख तथा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहसिन रजाईका अनुसार इरानी सेना पूर्ण रूपमा सतर्क छन् । सेनाका औँला ट्रिगरमा छन् । जितका दाबीहरू पछाडि वास्तविकता भने धेरै कमजोर छ । यस युद्धमा इरानी सेनाले ठुलो क्षति बेहोरेको छ । अमेरिकी नेतृत्वका प्रतिबन्धले पहिल्यै दबाबमा परेको इरानको अर्थतन्त्र अझ कमजोर बनेको छ । भौतिक संरचनामा समेत ठुलो क्षति बेहोरेको इरानको विकास यो युद्धले दुई दशकपछि धकेलिएको छ ।
इरानी सत्ता निकै निरङ्कुश छ । गएको डिसेम्बर २८ देखि सत्ता परिवर्तनका लागि इरानी जनताले गरेको सङ्घर्ष क्रूरतापूर्वक दमन गरियो । हजारौँ प्रदर्शनकारी मारिए । हजारौँ प्रदर्शनकारीलाई जेल र चरम यातना दिइएको छ । सङ्घर्षकै क्रममा जासुसी गरेको आरोपमा १३ जनालाई मृत्युदण्ड दियो । गत वर्ष मात्र १६ सयभन्दा बढी इरानीलाई मृत्युदण्ड दिएको थियो । अमेरिकाका राष्ट्रपति ट्रम्पले इरानी जनताको सङ्घर्षलाई साथ दिँदै सैन्य कारबाही गर्नासाथ इरानी सत्ता ढल्ने अनुमान गर्नुभएको थियो । उहाँले सैन्य कारबाही सुरु गर्दै इरानी जनतालाई आफ्नो सत्ता हातमा लिन आह्वान पनि गर्नुभएको थियो तर चर्को दमनका कारण इरानी जनताले आन्दोलनलाई निरन्तरता दिन सकेनन्, जसले गर्दा कट्टरवादीहरूको मनोबल बढ्यो । इरानी जनतामाथि मात्र होइन नयाँ नयाँ माग र अवरोध तेस्र्याएर विश्ववासीलाई नै तड्पाउने र दुःख दिने काम गरेका छन् ।
अहिलेका लागि सबैभन्दा ठुलो चुनौती नै हर्मुज जलमार्ग बिनाअवरोध सुचारु गर्नु रहेको छ । अमेरिकाको मुख्य माग नै यही छ । हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय समुद्री कानुन तथा संयुक्त राष्ट्रसङ्घ समुद्री कानुन सन्धि (युएनसिएलओएस) अन्तर्गत सञ्चालन हुन्छ, जसको उद्देश्य नागरिक समुद्री यातायातको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो । समुद्री आवागमनको स्वतन्त्रता अमेरिका र उसका साझेदारहरूको आधारभूत सिद्धान्त हो । यदि यो जलमार्गमा इरानको नियन्त्रण र निगरानी कायम रहिरहने अवस्था बन्यो भने उसका लागि यो ठुलो रणनीतिक र प्रतीकात्मक जित हुने छ ।