अविनाश चौधरी
धनगढी, चैत २५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिकसत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गरिने बताउनुभएको छ ।
विश्वविद्यालय परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले यो विश्वविद्यालयमा पठनपाठन सञ्चालनको विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभएको हो । उहाँले यसका लागि प्रधानमन्त्री बालेन्द्र शाहले पनि निर्देशन दिइसक्नू भएको जानकारी दिनुभयो ।
मन्त्री पोखरेलले विश्वविद्यालयमा पठनपाठन सञ्चालनका लागि शिक्षा र अर्थ मन्त्रालय पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो । चिकित्सा शिक्षा आयोग पनि सकारात्मक रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले राज्यको आर्थिक स्रोत हेर्दा सबै ठाउँमा कठिन नै देखिएको छ । हाम्रो शिक्षामा प्राथमिकता भएको हुनाले कुनै पनि हालतमा आगामी सेसनदेखि पठनपाठन सुरु गर्छौ ।”
यसैबिच, मन्त्री पोखरेलको अध्यक्षतामा आज बसेको विश्वविद्यालयको चौथो सभा बैठक (सिनेट) ले आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन र शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयमा एमबीबीएस, बिएस्सी नर्सिङ, ब्याचलर इन ल्याब टेक्नोलोजी र बी अप्टोमेरी गरी चार विधामा पढाई हुने जनाइएको छ । बैठकले तीनसय शøयाको शिक्षण अस्पताल सञ्चालन गर्ने निर्णय गरेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीले जानकारी दिनुभयो ।
शिक्षण अस्पताल सुरु नभइसकेको अवस्थामा यस क्षेत्रको जनतालाई स्वास्थ्य सेवा दिनका लागि नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल मात्रै सञ्चालन गरिरहेको छ । अर्को आर्थिक वर्षदेखि यसलाई शिक्षण अस्पतालको रुपमा रुपान्तरण गरिने उपकुलपति जोशीले बताउनुभयो ।