• २५ चैत २०८२, बुधबार

गोरखापत्रको डिजिटाइजेसन कार्य तीव्र

blog

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारी, शिक्षाविद् शंकर पौडेलसहित । तस्बिर : कविता थापा

काठमाडौँ, चैत २५ गते । गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले राष्ट्रको धरोहर गोरखापत्र संस्थानले डिजिटल अर्काइभिङको कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ। उहाँले बदलिँदो समयसँगै संस्थानले प्रविधि आत्मसात् गरेको उल्लेख गर्नुभयो।

अध्यक्ष भण्डारीले भन्नुभयो, "मानिसको पढ्ने बानी र प्रवृत्ति बदलिएको छ। हिजो पुस्तक र अखबारका पाना पल्टाउने हातहरू अहिले मोबाइलमा केन्द्रित हुन थालेका छन्। त्यसैले गोरखापत्रले आफ्ना पुराना अङ्कहरूलाई डिजिटल अर्काइभिङको काम प्राथमिकतामा राखेर गरिरहेको छ।"

उहाँका अनुसार अब ज्ञानको भण्डार पुस्तकालयमा मात्र सीमित नभई मानिसको हात-हातमा पुगिसकेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रेमराज अधिकारीले पुस्तकालयकर्मीहरूको व्यावसायिक दक्षता बढाउने उद्देश्यले आयोजित कार्यक्रममा गोरखापत्रसँग रहेका पुराना अभिलेखहरूको विशाल भण्डारको चर्चा गर्नुभयो। गोरखापत्रका प्रकाशनहरूको डिजिटाइजेसन प्रक्रिया अन्य क्षेत्रका लागि समेत महत्वपूर्ण सिकाइ हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

सो अवसरमा शिक्षाविद् शंकर पौडेलले ऐतिहासिक पुस्तक तथा अभिलेखहरूलाई नयाँ पुस्तासम्म पुर्‍याउन डिजिटल अर्काइभिङले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

संस्थानको योजना, अनुगमन तथा समन्वय विभागका निर्देशक तारा बस्यालले पुराना अङ्कहरूलाई विभिन्न चरणमा विभाजन गरी डिजिटाइजेसन भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल सरकारले २०७४ सालदेखि डिजिटाइजेसन प्रक्रिया अघि बढाएपछि गोरखापत्रले यसलाई प्राथमिकतामा राखेको हो।

मधुपर्क, युवामञ्च र मुना मासिकको डिजिटाइजेसन कार्य अन्तिम चरणमा पुगेको छ। संस्थानलाई समीक्षाका लागि प्राप्त हुने पुस्तकहरू विभिन्न जिल्लाका विद्यालयहरूलाई उपलब्ध गराउने गरिएको छ।

बुधबार आयोजित उक्त कार्यक्रममा सरोकारवालाहरूको टोलीले गोरखापत्रको पुस्तकालय, डिजिटल अर्काइभिङ स्टुडियो र त्यहाँ भइरहेका कार्यहरूको स्थलगत अवलोकन गरेको थियो। 

हाल गोरखापत्रको अत्याधुनिक स्टुडियोमा डिजिटाइजेसनको कार्य जारी छ। १२५ वर्ष पुरानो गोरखापत्रको यात्रा साप्ताहिकबाट सुरु भई, हप्तामा दुई र तीन पटक हुँदै २०१७ साल फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशन हुँदै आएको छ। 

कार्यक्रममा अथितिहरूलाई संस्थानका अध्यक्ष भण्डारीले मायो चिनो स्वरूप गोरखापत्र पहिलो अङ्कको प्रतिकृति प्रदान गर्नुभयो ।