जनार्जन खत्री
सर्लाही, चैत २५ गते । सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा बुधबार युवाले तालाबन्दी गरेका छन् । सडक र नाला निर्माणको माग गर्दै हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारी गाउँका युवाले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आन्दोलित युवाका अगुवा उद्धवकुमार यादवले नगरपालिका कार्यालयले गाउँबस्ती छाडेर चौडीतर्फ बाटो र नाला निर्माण गरेको विरोधमा तालाबन्दी गरिएको जानकारी दिनुभयो । बस्ती भएको क्षेत्रलाई छाडेर चौडीतर्फ बाटो बनाइएकोबारे तीन साताअघि नगर प्रमुखलाई भेटेर निवेदन बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि बाध्य भएर नगरपालिका कार्यालयमा तालाबन्दी गरिएको यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाउँमा सडक छैन, तर चौडीतर्फ जाने सडक र नाला बनिरहेकाले त्यसको विरोधमा नगरपालिकामा आएर ताला लगाएका हाैँ ।” आफूहरूले ध्यानाकर्षण गराएपछि बस्तीतर्फ सडक बनाउन एक पटक डोजर लगाएर साइड क्लियर गर्ने काम भएको तर त्यसपछि भने बेवास्ता गरिएको आन्दोलित युवाको भनाइ छ ।
नगरपालिका र जनप्रतिनिधिको ध्यानाकर्षण गराउन तालाबन्दी गर्नुपरेको आन्दोलित युवाको भनाइ छ । हरिपूर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साह तेलीले भने स्थानीयले सडकको अतिक्रमण हटाउन अटेरी गरेका कारण सडक बनाउन समस्या परेको गुनासो गर्नुभएको छ ।
गत वर्ष नै धनकौल पूर्वारीमा सडक र नाला बनाउन ठेक्का लागे पनि स्थानीयले काम हुनै नदिएपछि दुई करोड रुपियाँ बजेट फ्रिज भएर गएको बताउनुभयो । ४० फिट चौडा सडक बनाउने गरी टेन्डर भएको तर स्थानीयले विरोध जनाएपछि ३३ फिटमा सहमति गरिएको तर सो सहमतिपछि पनि सडकको क्षेत्राधिकार खाली गराउनै नसकेको नगर प्रमुख साहको भनाइ छ ।
“युवाहरू सडक र नाला चाहियो भनेर त आउनु भयो, तर गाउँमा साइड क्लियर गराउन सकिएकै छैन्” मेयर साहले भन्नुभयो, “काम गर्न नसके यो वर्ष पनि बजेट फ्रिज भएर जाने अवस्था आएको छ ।”