• २५ चैत २०८२, बुधबार

वैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना, ५ हजार कर्मचारी परिचालन

blog

काठमाडौँ, चैत २५ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब पाँच हजार कर्मचारी परिचालन गरी ‘राष्ट्रिय आर्थिक गणना’ सुरु गर्ने भएको छ । निजी र सरकारी सहकार्यको नमुनामा सञ्चालन हुन लागेको यस गणनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा विभिन्न क्षेत्रको योगदानको यथार्थ चित्र प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।

बुधबार नेपाल पत्रकार महासङ्घसँगको सहकार्य सम्बन्धी छलफलमा कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणनाका लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग गरेको बताउनुभयो । उहाँका अनुसार यस पटकको गणनालाई प्रभावकारी बनाउन नेपाल उद्योग परिसङ्घ र बैंकर्स एसोसिएसनसँग सम्झौता भइसकेको छ भने नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सहकार्य गर्ने इच्छा देखाएको छ ।

परिसङ्घसँग तथ्याङ्क आदानप्रदान, विश्लेषणमा सहकार्य, वित्तीय साक्षरता अभिवृद्धि तथा पाँच वर्षसम्म तथ्याङ्क सम्बन्धी सहयोग गर्ने गरी सम्झौता गरिएको प्रवक्ता लामिछानेले जानकारी दिनुभयो । निजी क्षेत्र आफैँले तथ्याङ्क सङ्कलनमा सहयोग गरिरहेकाले विगतको तुलनामा अहिलेको सहभागिता सकारात्मक रहेको उहाँको भनाइ छ ।

कार्यालयले सञ्चार क्षेत्रसहित विभिन्न आर्थिक क्षेत्रको योगदानलाई समेट्ने गरी विस्तृत गणना गर्न लागेको छ । सञ्चार क्षेत्रका प्रतिष्ठानले मुलुकको अर्थतन्त्रमा पुर्‍याएको योगदानको विश्लेषण गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रवक्ता लामिछानेले भन्नुभयो, “हामीले व्यक्तिगत प्रतिष्ठानको विवरण कसैलाई पनि उपलब्ध गराउँदैनौँ, यो पूर्ण रूपमा गोप्य रहन्छ । सामूहिक रूपमा मात्र क्षेत्रगत योगदानको विश्लेषण गरी सार्वजनिक गरिने छ ।” उहाँले संकलित तथ्याङ्क कर प्रयोजनका लागि प्रयोग नहुने स्पष्ट पार्दै ढुक्क भएर विवरण उपलब्ध गराउन आग्रह समेत गर्नुभयो ।

तथ्याङ्क कार्यालयले संकलित विवरणलाई विश्लेषण गरी समष्टिगत प्रतिवेदन मात्र सार्वजनिक गर्ने र यसले राज्यको आगामी आर्थिक नीति निर्माणमा ठोस आधार दिने जनाएको छ।