• ९ मंसिर २०८१, आइतबार

परालमा आकर्षण

blog

ललितपुर, चैत १३ गते । परम्परागत पेसालाई आधुनिकीकरण गर्दा आम्दानी बढेपछि परालको कलात्मक सामान बनाउन आकर्षण बढेको छ । परालबाट बनाइने सुकुलका लागि चर्चित ललितपुर सानागाउँका किसानले सुकुलमा बुट्टा भर्ने मात्र होइन, परालकै सोफा, ब्याग, मन्दिरलगायत कलात्मक सामग्री बनाएर आम्दानी बढाउन थालेका छन् । “सुकुल मात्र बुनेर भएन,” सानागाउँकी २५ वर्षीया तारा महर्जन भन्नुहुन्छ, “अहिले परालबाट आधुनिक सामग्री निर्माण गर्दैछौँ ।”

दस मुठा परालबाट बन्ने सुकुलले भन्दा तीन मुठाबाट बनेको सोफा–कुर्सीले आम्दानी बढाएको उहाँको अनुभव छ । ग्राहकको मागअनुसार परालका सोफा, ढक्की, ब्याग, मन्दिरलगायत सामग्री बनाउने उहाँले बताउनुभयो । सीपलाई नयाँ रूप दिँदा आम्दानी बढ्ने रहेछ । त्यसैले नयाँ काम सुरु गरेको महर्जनले बताउनुभयो । 

ताराजस्तै ललितपुर हरिसिद्धिकी २२ वर्षीया सलिना महर्जन पनि परालबाट विभिन्न कलात्मक सामग्री बनाउन व्यस्त हुनुहुन्छ । हजुरआमाले बनाएको परालको जुत्ता सामाजिक सञ्जालमा राखेपछि सबैले मन पराए, त्यसपछि मेरो आकर्षण यसमै बढ्यो, महर्जन भन्नुहुन्छ, “कलात्मक सामान मात्र नभएर अहिले दैनिक प्रयोगमा आउने सामान पनि परालबाटै बनाउने गरेकी छु ।” परालको जुत्ता बनाउँदै गर्नुभएकी महर्जनले थप्नुभयो, “घर–भान्छामा अझै पनि परालकै जुत्ता लगाउँछौँ,” यसले जाडोको समयमा तातो दिनुका साथै गर्मीमा शीतलता पनि दिन्छ । 

परालको जुत्तालाई नेवारी समुदायमा चोखो मानिने कारण भान्छामा लगाउन मिल्छ, यो जुत्ताले खुट्टा नदुखाउने भएकाले पनि यसको माग बढी छ । फुर्सदको समयमा परालबाट सुकुन्दा, पुतली, सानो सुकुल बनाउने गर्छु, उहाँ भन्नुहुन्छ, “विभिन्न कला प्रदर्शनी मेला हँुदा यी सामग्री राख्ने गरेकी छु । परालबाट बनाएका जुत्ताले राम्रै आम्दानी भएको उहाँको अनुभव छ ।” 

“एक मुठा परालको चार जोरसम्म जुत्ता बन्छ,” उहाँले भन्नुभयो, “प्रतिजोर जुत्ता १०० रुपियाँमा बिक्छ ।” पछिल्लो समय यस्ता जुत्ता किरियापुत्रीले बढी प्रयोग गर्न थालेका छन् ।” महर्जनले विद्यालयको विभिन्न कार्यक्रमका लागि पनि विभिन्न कलात्मक सामग्री निर्माण गरेको बताउनुभयो । उहाँ मात्र होइन १८ वर्षीय केसन महर्जनले पनि परालको सोफा बनाएर विभिन्न प्रदर्शनीबाट सम्मान थापिसक्नुभएको छ । आफूले ललितपुर महोत्सवमा राखेको परालको सोफालाई धेरैले मन पराएको महर्जनले स्मरण गर्नुभयो । उहाँले विभिन्न नेवारी रेस्टुरेन्टका लागि परालबाट विभिन्न कलात्मक सामान बनाएको पनि जानकारी दिनुभयो । 

यस्तै सानोगाउँकी हरिदेवी नेम्कुलले रेस्टुरेन्टबाट आएको मागअनुसार सुकुल बुन्दैमा आफ्नो दिन बित्ने बताउनुभयो । घरमा सजाइने सामग्री धेरै बिक्री हुने र त्यसको माग पनि बढी आउने उहाँको भनाइ छ । पहिला खेतबाट जस्तो पराल ल्याइन्थ्यो, त्यस्तै प्रयोग गरिन्थ्यो, महर्जन भन्नुहुन्छ, “अहिले सुरुमा पराललाई  सर्फ पानीले पखालेर सफा गरिन्छ । त्यसपछि ढुसी र कीरा लाग्न नदिन फिटकिरी मिसाइन्छ । सुकुलबाट धुलो नझरोस् भनेर परालको टुप्पो काटिन्छ र सामान बनाउनका लागि तयार पारिन्छ ।” यतिबेला हरिसिद्धिभित्रका ओपी, समल, पाखचा, साफल गरेर चार टोलका करिब तीन सय घरधुरी फुर्सदका समयमा परालबाट निर्मित सामग्री बनाउन व्यस्त रहने अनुमान छ ।