• ३ मंसिर २०८२, बुधबार

शान्तिपुर चक्रेश्वर मेला सुरु

blog

शान्तिपुर चक्रेश्वर मेला भर्न आएका स्थानीय । तस्बिरः टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), मंसिर ३ गते । गुल्मीको प्रसिद्ध शान्तिपुर चक्रेश्वर मेला सुरु भएको छ । बालाचतुर्दशी अर्थात सतबिज छर्ने दिनबाट शान्तिपुर चक्रेश्वर मेला सुरु हुने गर्दछ । 

यो मेलाको अवसरमा चन्द्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । यो चन्द्रकोट गाउँपालिकाकै सबैभन्दा ठुलो मेला भएकाले स्थानीय धार्मिक, साँस्कृतिक र परम्परागत रीतिरिवाजको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले स्थानीय सरकारको तर्फबाट सार्वजनिक बिदा दिने गरिएको चन्द्रकोट गाउँपालिका प्रमुख युवराज केसीले जानकारी दिनुभयो ।

बिहानैदेखि चक्रेश्वर मन्दिरको दर्शनसहित सतबिज छर्नेको भिड लागेको छ । बाला चतुर्दशीका दिन चक्रेश्वर मन्दिरमा बिशेष पूजा हुने गर्दछ । मन्दिरमा गीता पाठ, होमन, जलधारी, सतबिज छर्ने, तोरन तार्ने र भजनकृतन गर्नेसहित साँस्कृतिक र भक्तिसंगीत प्रतियोगिता चलिरहेको चक्रेश्वर मन्दिर व्यवस्थापन समितिका गोपालप्रसाद शर्माले बताउनुभयो । 

भक्तीसंगीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ४०, २० र १० हजार रुपियाँ प्राप्त गर्नेछन् । स्थानीय अगुवा तेजेन्द्र थापाका अनुसार २०२८ सालदेखि चक्रेश्वर महादेवको मन्दिर स्थापना गरेर दैनिक पूजा हुने गरेको छ । सतबिज छर्न बाहिरका धार्मिक स्थलमा जान नसक्नेहरुले शान्तिपुरमा आएर छर्ने गरिरहेको थापाले बताउनुभयो । 

उहाँले धार्मिक बिषयसँग जोडेर स्थानीय क्लव र संघ–संस्थाहरुले व्यापार, खेल र गीतसंगीतसँग जोडेर महोत्सवको रुपमा पनि अगाडि बढाएको बताउनुभयो । मेलामा चक्रेश्वर मन्दिरको दर्शन तथा मेलामा व्यापार र मनोरञ्जन गर्ने उद्देश्यले गुल्मीसहित बाग्लुङ्गका सयौं नागरिक शान्तिपुर चक्रेश्वर मेलामा आउने गर्दछन् । 

लामो समयदेखि स्थानीय चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरको उदय शान्ति युवा क्लवले मेलाको आयोजना गर्दैआएको छ । यो बर्ष क्लवले दुई लाख रुपियाँ राशीको पालिका स्तरीय भलिवल प्रतियोगीता आयोजना गरेको छ । भलिवलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार हुनेलाई क्रमशः दुई लाख, एक लाख १० हजार, ६० हजार र ३० हजार रुपियाँ नगदसहित मेडल, ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको उदय शान्ति युवा क्लवका अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइक, उत्कृष्ट सर्भर, सबैभन्दा मूल्यवान खेलाडी र उत्कृष्ट प्रशिक्षकको लागि पनि पुरस्कारको ब्यबस्था गरिएको छ । मेलामा खेलकुद बाहेक बाल उद्यानसहितको मनोरञ्जनात्म खेल, चर्चित इन्दे्रणी कार्यक्रमको प्रस्तुति र राष्ट्रिय लोकदोहोरी गायिका शान्ति श्री परियारसहितको सांगीतिक प्रस्तुति रहेको क्लवका अध्यक्ष थापाले बताउनुभयो ।