• ८ पुस २०८२, मङ्गलबार

मर्स्याङ्दीबेसी जलविद्युतको निर्माणकार्य बन्द

blog

५० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्न लागिएको मस्र्याङ्दी नदी । तस्बिरः नवीनराज कुइँकेल

नवीनराज कुइँकेल

लमजुङ, मंसिर ३ गते । स्थानीयको बिरोधपछि लमजुङमा निर्माण गर्न लागिएको ५० मेगावाटको मस्र्याङ्दीबेसी जलविद्युत आयोजना निर्माणको काम बन्द भएको छ ।

बेसीशहर नगरपालिका –६, बेलौती बिसौनामा निर्माण गर्न लागिएको यस आयोजनाको काम स्थानीयको बिरोधका कारण तत्कालका लागि बन्द गरिएको हो । दिव्यज्योती हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको यो आयोजनाले सदरमुकाम बेंसीसहरको सुन्दरता विगार्ने भन्दै स्थानीयले बिरोध गर्दैआएका छन् । 

मंसिर २ गतेबाट आयोजनाको काम सुरु गरिए पनि स्थानीयको बिरोधका कारण तत्कालका लागि बन्द गरिएको आयोजनाका प्रोजेक्ट म्यानेजर उमेश नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “आयोजनाको साइट क्याम्प र लेबर क्याम्प निर्माण लगायतको काम सुरु गरेका थियौं । स्थानीयको बिरोधपछि बन्द गरिएको छ । हामी स्थानीयहरुसँग बर्तामै छौँ ।” 

यस आयोजना निर्माणको बिषयमा स्थानीयसँगै सरोकारवाला निकायसँग पटक–पटक छलफलमा रहेको र पुनः छलफल पश्चात आयोजनाको निर्माणकार्य अघि बढ्ने उहाँले जानकारी दिनुभयो । 

मंसिर ५ गतेबाट आयोजनाको मुख्य निर्माण कार्य सुरु गर्ने आयोजनाको लक्ष्य थियो । रन अफ दि रिभर प्रकृतिको यो आयोजनाको बेलौती बिसौनामा बाँधस्थल र  बेसीशहर नगरपालिका –१०, सालडाँडामा विद्युत गृह रहनेगरी निर्माण गर्न लागिएको छ । २०७४ असोज १ मा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरेपश्चात २०७५ भदौ १० मा आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको थियो । 

आयोजनाको वातावरणीय, सामाजिक, सांस्कृतिकलगायत पक्षको गहन अध्ययन गरिएको हुँदा प्रभावित क्षेत्रहरू स्पष्टरूपमा किटान भएको र ती क्षेत्रमा पर्ने असरको रोकथाम एवम् न्यूनीकरण गर्ने कार्यलाई कम्पनीले उच्च प्राथमिकतामा राखेको कम्पनीका कार्यकारी निर्देशक सञ्जिव न्यौपानेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “इआइएको प्रावधानअनुसार सामाजिक उत्तरदायित्वका सन्दर्भमा सम्बन्धित निकायसँग छलफल तथा परामर्श गरेरै अघि बढ्छौं । निर्माणक्रममा स्थानीय स्रोत–साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गर्छौं, स्थानीयलाई बढीभन्दा बढी लाभ दिन्छौं ।”

यता, मस्र्याङ्दी बचाउ अभियान नै चलाएर आयोजनाको विरोधमा उत्रिएको स्थानीय भने आयोजनाको निर्माण कार्य नै रोक्नुपर्ने अडानमा छन् । स्थानीयले हस्ताक्षर अभियान, विभिन्न निकायमा ज्ञापनपत्र बुझाउनुको साथै बिहीबार बेंसीसहर बजारमा जनप्रदर्शन कार्यक्रम तय गरेका छन् । 

आयोजनाको कुल लगानी करिब १० अर्ब रुपियाँ अनुमान गरिएको छ । यसमा ३० प्रतिशत इक्विटी लगानी प्रवर्धक समूहबाट र ७० प्रतिशत ऋण लगानी बैंकबाट हुनेछ । आयोजना दुई वर्ष ६ महिनाभित्र व्यावसायिक उत्पादनमा आउने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेशनमा जोडिनेछ, जसले राष्ट्रिय प्रसारण प्रणालीमा महत्वपूर्ण योगदान दिनेछ । 

स्थानीयको विरोधकाका विच पनि अपि पावर कम्पनी लिमिटेडले आयोजनाका लागि इलेक्ट्रो–मेकानिकल उपकरण आपूर्ति तथा जडान कार्यको सम्झौता गरिसकेको छ । सम्झौताअनुसार, ट्रोयर एजी, इटालीलाई उपकरण आपूर्ति र जडान कार्यको जिम्मेवारी दिइएको छ ।