• ३ मंसिर २०८२, बुधबार

बर्दियामा २२ सय बढी मतदाता थपिए

blog

निर्वाचन कार्यालय बर्दियामा मतदाता नामावली दर्ता गराइँदै । तस्बिरः यज्ञप्रसाद सापकोटा

यज्ञप्रसाद सापकोटा

गुलरिया (बर्दिया), मङ्सिर ३ गते । बर्दियामा दुई हजार दुई सय ७८ जना नयाँ मतदाता थपिएका छन् । गत असोज १० गते यता निर्वाचन कार्यालयमा गई उनीहरूले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । 

मतदातामध्ये एक हजार दुई सय २३ जना पुरुष रहेका छन् । एक हजार ५५ जना महिला मतदाता रहेका छन् । कात्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद तोकिएको थियो । 

निर्वाचन आयोगले मङ्सिर ५ गते सम्मका लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद थपेको छ । कात्तिक मसान्तसम्म दैनिक २०० को हाराहारीमा मतदाता नामावलीमा नाम दर्ता भइरहेकोमा निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिङ्क गरेर मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रविधि ल्याएपछि भिड कम हुँदै गएको निर्वाचन कार्यालय बर्दियाका सूचना अधिकारी अनुप ढकालले बताउनुभयो । 

यस पटक मतदाता नामावलीमा नाम दर्ता गराउने युवाहरू स्वतःस्फुर्त रूपमा आएको पाइएको निर्वाचन कार्यालय बर्दियाका प्रमुख लालबहादुर मल्लले बताउनुभयो । बर्दियामा असोज १० गतेभन्दा अगाडि पुरुष एक लाख ५६ हजार ९५, महिला एक लाख ६१ हजार दुई सय ३३ र अन्य ६ जना गरी तीन लाख १७ हजार तीनसय ३४ जना मतदाता थिए । तुलनात्मक रूपमा बर्दियामा मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या न्यून रहेको छ ।