गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर ३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले चिकित्सकले सिफारिस (प्रेस्किप्सन) गरेको ‘एन्टिबायोटिक’ औषधी मात्र सेवन गर्न आग्रह गर्नुभएको छ । उहाँले चिकित्सकले लेखेको एन्टिबायोटिक औषधी पूर्ण मात्रा मात्र आवश्यक मात्रामा सेवन गर्न अनुरोध गर्नुभएको हो । एन्टिमाइक्रोबियल रेसिस्टेन्स सचेतना सप्ताहका अवसरमा मन्त्री शर्माले जथाभाबी एन्टिबायोटिक औषधी प्रयोगले गम्भीर स्वास्थ्य समस्या उत्पन्न हुन सक्ने बताउनुभयो ।
मन्त्री डा. शर्माले एन्टिबायोटिक र अन्य एन्टिमाइक्रोबियल्स औषधी जथाभाबी प्रयोगले प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) भई बिरामी पर्दा सामान्य औषधीले काम नगर्ने भएकाले जथाभाबी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले एन्टिमाइक्रोबियल रेसिस्टेन्स स्वास्थ्य उपचारमा एक जटिल समस्या बन्दै आएको बताउनुभयो । उहाँले समयमै सम्बोधन गर्न सकिएन भने स्वास्थ्य प्रणालीले नराम्रो क्षति बेहोर्नुपर्ने बताउनुभयो । ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ नारासाथ विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह देशव्यापी रूपमा मनाइँदै छ ।
एम्बुलेन्स दुरुपयोग रोक्न ध्यानाकर्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा दुरुपयोग भएको भन्दै निर्देशिका अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्रालयले विभिन्न जिल्लामा एम्बुलेन्स व्यापारिक प्रयोजनमा प्रयोग भएको गुनासो आइरहेकाले निर्देशिका अनुसार सञ्चालन गर्न ध्यानाकर्षण गराएको हो ।
मन्त्रालयको स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन एकाइले सूचना जारी गर्दै सबै सरोकारवालालाई एम्बुलेन्स सञ्चालनसम्बन्धी नियम कडाइसाथ पालना गर्न आग्रह गरेको छ । एकाइ प्रमुख तथा मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले मन्त्रालयले स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सलाई अस्पताल र स्वास्थ्य सेवाबाहेक अन्यत्र प्रयोग गरिए कानुनी कारबाही गरिने जानकारी दिनुभयो । उहाँले एम्बुलेन्स दुरुपयोग भएको पुष्टि भएमा एम्बुलेन्स खारेजी गर्न सक्ने चेतावनी दिनुभयो ।