• २८ वैशाख २०८३, सोमबार

सप्तरीमा अग्निपीडित परिवारलाई राहत वितरण

blog

अग्निपीडित परिवारलाई राहत वितरण गर्दै गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, वैशाख २८ गते ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाका अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ । तिलाठी कोइलाडी गाउँपालिकाले अग्निपीडित परिवारलाई राहतस्वरूप खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री प्रदान गरेको हो ।

गाउँपालिकाले प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, आधा किलो भुजिया, १ किलो चिनी, एक थान त्रिपाल, एक थान झुल, एक थान साडी, एक थान लुंगी, ५ किलो भुजा, १ लिटर खाने तेल, एक थान बेडसिट, एक थान बाल्टिन, एक थान मग तथा एक प्याकेट तरकारी मसाला वितरण गरेको विपद् सम्पर्क व्यक्ति राजेशकुमार झाले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डल र सबल नेपालका कार्यकारी निर्देशक दीपक झालगायतले पीडित परिवारलाई राहत सामग्री वितरण गर्नुभएको झाले बताउनुभयो ।

शनिबार राति विद्युत् सर्ट सर्किट भई भएको आगलागीमा १० परिवारका १२ वटा घर जलेका थिए । आगलागीमा खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर, विद्युतीय सामग्री तथा नगदसहित करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

आगलागीमा जागेश्वर यादव, विद्यानन्द यादव, सदानन्द यादव, रामअवतार यादव, जहरी देवी, राजकुमार यादव, जोगेन्द्र यादव, अनिल यादव, रनिया यादव र रमन यादवको घर तथा गोठ जलेर नष्ट भएको थियो ।