• २८ वैशाख २०८३, सोमबार

दुर्गम गाउँमा महिनैपिच्छे चिकित्सक सेवा

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), वैशाख २८ गते । गुल्मीको चन्द्रकोट गाउँपालिका अन्तर्गत बिसुखर्क भिरखानीकी पुतली विक हातखुट्टा दुख्ने समस्याले पीडित हुनुहुन्थ्यो । सहर झेरर जाँच गर्ने खर्च पनि थिएन । अहिले गाउँमै आएका विशेषज्ञ डाक्टरलाई समस्या देखाएर औषधी पाउँदा ठुलो खुसी महसुस भएको विश्वकर्माले बताउनुभयो । 

सोही गाउँकै भानुभक्त गौतम पनि छाती दुख्ने समस्याले पीडित हुनुहुन्थ्यो । खर्च नहुँदा आफ्नो स्वास्थ्य समस्या देखाउन नसकेको अवस्थामा घरनजिकै आएका विशेषज्ञ डाक्टरले समस्या समाधान गरेपछि आफू निकै खुसी भएको गौतमले बताउनुभयो । उहाँले वडाले मासिक रूपमा गाउँमा डाक्टर ल्याउने कार्यक्रमलाई सधैँ निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

चन्द्रकोट गाउँपालिका–२, बिसुखर्कले मासिक रूपमा विशेषज्ञ डाक्टर गाउँमै लगेर स्थानीयलाई निःशुल्क स्वास्थ्य सेवा दिने गरेको छ । विकट गाउँबाट सहर झरेर उपचार गर्न नसक्ने धेरै छन् । गाउँमै विशेषज्ञ डाक्टर भेट्ने सम्भावना छैन । विकट र आर्थिक अवस्था कमजोर भएका कारण घरमै रोग लुकाएर बस्न बाध्य यहाँका बासिन्दाको स्वास्थ्य जाँच सेवाका लागि मासिक रूपमा विशेषज्ञ डाक्टर गाउँ लैजाने गरेको चन्द्रकोट गाउँपालिका–२ का वडाध्यक्ष कमल केसीले बताउनुभयो । 

उहाँले यो कार्यक्रम आमगरिब तथा विभिन्न नागरिकमा अत्यन्तै प्रभावकारी भएकाले निरन्तरता दिइने बताउनुभयो । केसीले भन्नुभयो, “वार्षिक सात लाख रुपियाँभन्दा बढी खर्च हुँदो रहेछ तर नागरिक स्वास्थ्यभन्दा खर्च ठुलो कुरा होइन, शिविरलाई निरन्तरता दिँदै जाने छौँ।” 

गत असोजबाट हरेक महिनाको अन्तिम शनिबार गाउँमा निरन्तर स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालबाट फरक फरक विधाका दुई जना विशेषज्ञ पनि शिविरमा आउने गरेका छन् । स्वास्थ्य परीक्षण, भिडियो एक्सरे, इसिजी, प्रयोगशालासहित निःशुल्क औषधी वितरण हुने गरेको बिसुखर्क स्वास्थ्यचौकीका प्रमुख राजआर्यन साहले जानकारी दिनुभयो । अहिलेसम्म स्त्री, नेत्र; नाक, कान, घाँटी; हाडजोर्नी र साधारण रोग विशेषज्ञबाट ३७८ महिला र २३५ पुरुष गरी ६१३ जनाले सेवा लिइसकेका छन् । 

लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. सन्तोष बस्नेतले सरकारीस्तरबाट मासिक रूपमा विशेषज्ञ डाक्टर दुर्गम पु¥याएर नागरिकलाई सेवा दिनुपर्ने बताउनुभयो । अझै पनि गाउँमा विशेषज्ञ भेट्न मुस्किल हुने अवस्थामा घरआँगनको शिविर निकै फलदायी हुने डा. बस्नेतको भनाइ छ ।