• २८ वैशाख २०८३, सोमबार

डेढ दशकमा अठहत्तर जनालाई बाढीले बगायो

blog

धनगढी समाचारदाता

धनगढी, वैशाख २८ गते । कैलालीमा डेढ दशकमा बाढीले ७८ जनालाई बगाएको छ । जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार सन् २००८ देखि सन् २०२३ को अवधिमा बाढीका कारण सो सङ्ख्यामा मानिसले ज्यान गुमाएका हुन् । सबैभन्दा बढी २००८ मा २६ जनाले बाढीमा ज्यान गुमाए । यस्तै २००९ मा दुई जना, २०१४ मा छ, २०१८ मा पाँच जनाले ज्यान गुमाएका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । 

बाढीले जनधनको धेरै क्षति हुन थालेपछि जिल्लामा पूर्वसूचना प्रणालीको अभ्यास थालिएको थियो । पूर्वसूचना प्रणालीका कारण क्षतिमा केही कमी आएको सरोकारवाला निकायले दाबी गरिरहेकै बेला सन् २०२० मा १७ र सन् २०२१ मा १८ गरी ३५ जनाले ज्यान गुमाएका थिए । सन् २०२३ मा थप चार जनाले ज्यान गुमाएका जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्कले देखाएको छ । 

डेढ दशकको अवधिमा बाढीले २४ हजार ९६ घर पूर्ण रूपमा क्षति भएको छ । यसै गरी समीक्षा अवधिमा ९२ हजार ४८३ घरधुरी प्रभावित भएका तथ्याङ्कमा उल्लेख छ । 

चुरेक्षेत्र दोहनले तराईमा बाढी, डुबान जस्ता समस्या निम्त्याएको भजनी नगरपालिका–५, लालबोझीका खोजराम चौधरीले बताउनुभयो । उहाँका अनुसार २०४० सालयता कैलालीमा बाढी, डुबानको समस्या बढिरहेको छ । उहाँ भन्नुहुन्छ, “पानीको बहाबमा अवरुद्ध गर्ने गरी भएको विकासनिर्माण र विभिन्न ठाउँमा खोलानाला अतिक्रमण पनि बाढी, डुबान समस्याको कारण हो ।” 

सामुदायिक प्रकोप व्यवस्थापन समितिको राष्ट्रिय सञ्जाल नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले चुरेबाट बगेर आउने बालुवा, माटोले तलतिर नदीको गहिराइ घटाउँदै बाढीको जोखिम बढाइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “नदीको गहिराइ घट्दै लगभग बस्तीकै सतहमा पुग्न थालेको छ । फलस्वरूप चुरेतर्फ थोरै पानी पर्दा पनि बाढी बस्तीमा पसेर डुबान हुने गरेको छ ।”