• २८ वैशाख २०८३, सोमबार

दर्लामचौरमा खानेपानी सङ्कट

blog

रेसुङ्गा समाचारदाता

रेसुङ्गा (गुल्मी), वैशाख २८ गते । गुल्मीको ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मरमा चट्याङले क्षति गरेपछि गाउँमा खानेपानीको चरम सङ्कट देखिएको छ । 

खानेपानी योजनामा सञ्चालनमा रहेको ट्रान्सफर्मर चट्याङ लागेर बिग्रेपछि वैशाख १३ बाट तीन वडाका २७२ घरधुरी परिवार आकासे पानी र खोला, पँधेरा धाउन बाध्य छन् । इस्मा गाउँपालिका–१, ३ र ४ का बासिन्दाले प्रयोग गर्दै आएको खानेपानी योजनाको ट्रान्सफर्मर पटक पटक चट्याङका कारण बिग्रने गरेको छ । यहाँका बासिन्दाले यो योजना सञ्चालनभन्दा पहिले कुवा र पँधेराको पानी बोकेर धेरै पुस्ताले जीवन कटाएका थिए । योजना आर्थिक वर्ष २०७७/७८ मा चार करोड ८२ लाख ४८ हजार रुपियाँको लागतमा निर्माण गरिएको थियो । लिफ्ट प्रविधिले तत्कालको खानेपानी सङ्कट टरे पनि दीर्घकालीन रूपमा सञ्चालनमा धेरै चुनौती छन् । अहिले खानेपानी कार्यालय र विद्युत् प्राधिकरणको सहयोगमा नयाँ ट्रान्सफर्मरको जोहो गरेर मर्मतको काम भइरहेको इस्मा गाउँपालिका–३ का वडाध्यक्ष ज्योतिराज कुँवरले जानकारी दिनुभयो ।