• २८ वैशाख २०८३, सोमबार

चङ्खेली गाउँपालिकामा आइतबार पनि विद्यालय सञ्चालन हुने

blog

रामशाह प्रावि । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, वैशाख २८ गते । चङ्खेली गाउँपालिकाले अबदेखि आइतबार पनि शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यपालिका बैठकले आइतबार बिदा दिँदा पाठ्यक्रम (कोर्स) पूरा गर्न कठिनाइ हुने भन्दै आगामी आइतबारदेखि नियमित पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो ।

कार्यपालिकाको निर्णयअनुसार सार्वजनिक सूचना जारी गर्दै आइतबार पनि विद्यालय सञ्चालन गरिने जनाइएको छ । सरकारले आइतबार बिदा दिने निर्णय लागू भएपछि सो व्यवस्था कार्यान्वयनमा आएको थियो ।

अब गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालय तथा शैक्षिक संस्थामा हप्तामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा रहने र आइतबार नियमित पठनपाठन सञ्चालन हुने निर्णय गरिएको सुरेन्द्र शाही ले बताउनुभयो ।

हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुने व्यवस्था भए पनि हिमाली जिल्ला हुम्लामा जाडो मौसमका कारण पुस र माघ महिनामा विद्यालय बन्द गर्नुपर्ने भएकाले शैक्षिक सत्र पूरा गर्न कठिनाइ हुने देखिएको गाउँपालिकाले जनाएको छ ।

विद्यार्थीको शैक्षिक हितलाई ध्यानमा राख्दै आगामी दिनमा आइतबार पनि विद्यालय सञ्चालन गरी नियमित पठनपाठनलाई निरन्तरता दिने निर्णय गरिएको हो ।

चङ्खेली गाउँपालिका मा २७ वटा आधारभूत, माध्यमिक तथा मावि तहका विद्यालय रहेका छन् । गत शनिबार बसेको गाउँपालिकाको कार्यपालिका बैठकले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको भए पनि सूचना ढिलो भएकाले आगामी आइतबारदेखि मात्र पठनपाठन सुचारु हुने जनाएको छ ।