अर्जुन काफ्ले
स्याङ्जा, वैशाख २८ गते । पुतलीबजार नगरपालिकाले किसानलाई १६ हजार १४९ केजी उन्नत जातको धानको बीउ उपलब्ध गराएको छ । ५० प्रतिशत अनुदानमा धानको बीउ राख्ने समय भएसँगै नगरपालिकाले किसानलाई बीउ धान उपलब्ध गराएको हो ।
पुतलीबजारका १४ वटै वडामा किसानका माग बमोजिम रामधान १४ हजार पाँच किलो र सावित्रीधान दुई हजार १४४ किलो बीउ बितरण गरेको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।
नगरपालिकाले विगतका वर्षहरू झै यस वर्ष पनि धानको बिउ अनुदानमा वितरण गरेको हो । पुतलीबजार — १४ ले सबैभन्दा धेरै छ हजार १५० किलो धानको बीउ माग भएको र सोही बमोजिम किसानलाई उपलब्ध गराइएको हो । किसानले धानको बीउ प्रति किलो ३३ रुपियाँमा खरिद गरेकोे नगर प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङगानाले बताउनुभयो । ११ पालिका रहेको स्याङ्जाका सबै पालिकामा धान खेती हुन्छ ।
यहाँको आँधीखोला किनार, ज्याग्दीखोला किनार, दरौँखोला, कालीगण्डकी नदी किनारका फाँटहरू धानखेतीका पकेट क्षेत्र हुन् ।
यहाँ रामधान, सावित्री, सावा मन्सुली, हर्दिनाथ लगायत उन्नतसहित स्थानीय जातका धान लगाउने गरिएको छ । यहाँ गत आबमा १३.८ प्रतिशतले धान उत्पादन वृद्धिभई ४१ हजार ६४० मेट्रिकटन उत्पादन भएको थियो ।
यहाँ नौ हजार ७२ हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । नयाँ नयाँ प्रविधिको प्रयोग र उन्नत जातका बिउविजनले धानको उत्पादनमा पनि वृद्धि भए पनि धान रोप्ने खेत भने घट्दो रहेको छ ।