• २८ वैशाख २०८३, सोमबार

चेम्बर अफ कमर्श स्याङ्जाको अध्यक्षमा गुरूङ निर्वाचित

blog

नवनिर्वाचित कार्य समिति । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ (स्याङ्जा), वैशाख २८ गते ।
  स्याङजा चेम्बर अफ कमर्शको अध्यक्षमा श्रीबहादुर गुरुङ निर्वाचित हुनु भएको छ । आइतबार भएको संस्थाको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट गुरुङको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति सहमतिका आधारमा चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा नारयणप्रसाद अधिकारी (राजु), उद्योग तर्फको उपाध्यक्षमा सुन्दरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा धनकुमारी थापा, वाणिज्य तर्फको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, जिल्ला नगर तर्फको उपाध्यक्षमा डा. बसन्त पंगेनी, महासचिवमा ओमप्रसाद पौडेल, सचिवमा पिताम्बर गौतम प्रकाश, सहसचिव देवी अधिकारी, कोषाध्यक्षमा गणेश पौडेल र सहकोषाध्यक्ष विमला नेपाल अर्याल चयन हुनुभएको छ ।

समितिको सदस्यहरुमा रेवती पाध्या रेग्मी, अच्युतप्रसाद पोख्रेल, शितलजंग केसी, सुनिता श्रेष्ठ, सरोज केसी, विवेक गोदार, प्रकाश पौडेल, मन्दिरा श्रेष्ठ, राधाकृष्ण शर्मा, सुवास खाती र मिनप्रसाद अर्याल चयन हुनुभएको निर्वाचन संयोजक अधिवक्ता टंकप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

अधिवेशनको उद्घाटन गर्नुहुँदै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले वर्तमान सांसदहरु र सरकारले सिद्धार्थ राजमार्गको स्तरोन्नती गरेमा व्यवसायीहरुलाई राहत पुग्ने बताउनुभयो  ब्यवसायी बीचको एकताले विकास र समृद्धि प्राप्त हुनेमा उहाँको जोड छ ।

कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य तथा संस्थापक अध्यक्ष नन्दकुमारी लम्साल, राष्ट्रिय स्वतन्त्र पार्टी गुरुप्रसाद ढकाल, नेपाली कांग्रेसका नवराज सुवेदी, नेकपा एमालेका महेश पुरी, पुतलीबजार निर्वतमान नगरप्रमुख सीमा क्षेत्री, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसी र नेपाल पत्रकार महासंघ स्याङजाका पूर्व अध्यक्ष ओमप्रकाश शर्मा, निर्वतमान अध्यक्ष लोकनाथ रेग्मीका  लगायतले व्यवसायीका हक, हित र अधिकारका पक्षमा सबैजना एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।