नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २८ गते । जुम्लाको तातोपानी गाउँपालिका–५ लाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको छ । बालविवाहमुक्त वडाका ५१ वटा सूचक पूरा भएपछि उक्त वडालाई बालविवाह तथा महिनावारी विभेदमुक्त वडा घोषणा गरिएको हो ।
आइतबार आयोजित कार्यक्रममा पूर्व वन तथा वातावरणमन्त्री माधव चौलागाईं र जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले संयुक्त रूपमा घोषणा गर्नुभयो ।
नेपाल सरकारले सामाजिक कुरीति अन्त्य गर्ने लक्ष्यअनुसार वडालाई बालविवाह तथा महिनावारी विभेदमुक्त घोषणा गरिएको जनाइएको छ । अब उप्रान्त बालविवाह गरिए कानुनअनुसार कारबाहीका लागि सिफारिस गरिने तथा महिनावारी भएका बेला सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । तातोपानी गाउँपालिका भित्र पहिलोपटक यस्तो घोषणा गरिएको बताइएको छ ।
पूर्वमन्त्री चौलागाईंले सामाजिक कुरीतिविरुद्ध अभियान सुरु भएको बताउँदै नयाँ पुस्तालाई बालविवाह तथा सामाजिक विभेदविरुद्ध सक्रिय हुन आग्रह गर्नुभयो । सबैको सहकार्य भए सामाजिक विभेद अन्त्य गर्न सकिने उहाँको भनाइ थियो ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख आचार्यले बालविवाह तथा महिनावारी विभेदमुक्त घोषणाले सकारात्मक सन्देश दिएको बताउनुभयो । जुम्लाका धेरै वडाहरू यसअघि नै बालविवाहमुक्त घोषणा भइसकेको उल्लेख गर्दै उहाँले सामाजिक अन्धविश्वास अन्त्य गर्न सबै मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले सामाजिक कुरीतिविरुद्ध पालिकाले अभियान सुरु गरेको बताउनुभयो । सामाजिक विभेदविरुद्ध स्थानीय सरकारले गाउँ–गाउँमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले सामाजिक विभेद न्यूनीकरणका लागि स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले महिनावारीका बेला गोठमा बस्ने परम्परा अन्त्य गर्न महिलालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा अध्यक्ष छिरिङ महत ले बालविवाह भएको पाइएमा वडा सरकारले कानुनी कारबाहीका लागि अगुवाइ गर्ने बताउनुभयो । समय परिवर्तनशील भएकाले पुराना विभेदपूर्ण व्यवहार त्याग्नुपर्ने उहाँको भनाइ थियो ।
स्थानीय सरकार तथा साझेदार संघसंस्थाको समन्वयमा आयोजित कार्यक्रममा बालविवाह र महिनावारी विभेद अन्त्यसम्बन्धी विभिन्न सन्देशमूलक जानकारीसमेत दिइएको थियो ।
यसैगरी, गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा पनि गरिएको छ । जन्मेदेखि १५ महिनासम्मका २६३ जना तथा १६ देखि ५९ महिनासम्मका ६९५ जना बालबालिकाले आवश्यक खोप लगाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको जनाइएको छ ।
गुरुप्रसाद चौलागाईं ले खोपले बालबालिकामा लाग्ने विभिन्न रोग न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँका अनुसार खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाइसकेका छन् र कोही पनि खोपबाट वञ्चित छैनन् ।
गाउँपालिका अध्यक्ष चौलागाईंले भविष्यमा लाग्न सक्ने रोगबाट बालबालिकालाई सुरक्षित राख्न खोप अनिवार्य रहेको बताउनुभयो । गाउँपालिकाभित्रका सबै बालबालिका खोपको पहुँचमा पुगेको उहाँको भनाइ थियो ।