काठमाडौँ, मङ्सिर २ गते । एएफसी एसियन कप छनोटबाट बाहिरिसकेको नेपाल मलसियासँगको दोस्रो खेलमा पनि पराजित भएको छ ।
अन्तिम चरणको छनोटअन्तर्गत क्वालालम्पुरस्थित बुकित जलिल नेसनल स्टेडियममा मङ्गलबार भएको खेलमा नेपाल घरेलु टोली मलेसियासँग १–० गोलले पराजित भयो ।
मलेसियाको जितमा फैसल हलिमले ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । नेपालले मलेसियासँग ६ महिनामा दोस्रो हार खेपेको हो । यसअघि यसै छनोटको पहिलो लेगमा नेपाल मलेसियासँग २–० गोलले पराजित भएको थियो ।
खेलको अन्तिममा १० खेलाडीमा समेटिएको नेपालको गोल फर्काउने योजना सफल भएन । ९०औँ मिनेटमा लाकेन लिम्बूले विपक्षीलाई फल हानेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिनु भएको थियो ।
नेपालको यही गल्तीमा मलेसियाले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन । नेपाल र मलेसियाबिचको यस खेल घरेलु मैदान दशरथ रङ्गशालामा खेल्नुपर्ने थियो ।
तर एएफसीबाट दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय खेल खेल्न अयोग्य ठहरिएपछि नेपालले घरेलु खेल पनि मलेसियाकै मैदानमा खेल्नु परेको हो ।