• ३ मंसिर २०८२, बुधबार

एनपिएल : सुदूरपश्चिमले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य

blog

रन बटुल्दै सुदूरपश्चिमका खेलाडी । तस्बिर : एनपिएल

काठमाडौँ, मङ्सिर ३ गते । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जितका लागि काठमान्डु गोर्खाजलाई एक सय ४८ रनको मध्यम लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साविक उपविजेता सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनायो । 

पावरप्लेमै चार विकेट गुएको सुदूरुपश्चिमका लागि मध्यक्रमका ब्याट्सम्यान कप्तान दीपेन्द्र सिंह ऐरी र हर्मित सिंहले इनिङ्स सुधार गर्नुभएको थियो । हर्मितले ५३ रनको अर्धसतकीय पालि खेल्नुभयो । उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो । यस्तै इसान पाण्डेले २५ बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 

बलिङमा काठमान्डुका कप्तान करण केसीले चार विकेट लिनुभयो । उहाँले चार ओभरका ३० रन खर्चिएर चार विकेट लिनुभएको हो । मिलिन्ड कुमार, रसिद खान र सन्नी पटेलले दुई दुई विकेट लिनुभयो ।